पूर्वाधार तथा सामाजिक विकासमा जोड

मुख्य खबर समाज

कपुरकोट गाउँपालिकाको बजेट २८ करोड ३३ लाख
सल्यान, २९ असार । भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर सल्यानको कपुरकोट गाउँपालिकाले बजेट ल्याएको छ । आर्थिक वर्ष ०७६÷७७ को लागि कपुरकोटले २८ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो ।
गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढामगरले आइतबार प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारतर्फ ६ करोड १३ लाख ५० हजार विनियोजन गरिएको छ । जुन जम्मा पुँजीगत बजेटको ४६.२६ प्रतिशत रहेको बुढा मगरले उल्लेख गरिन् ।
जसमा सडक, यातायात तथा सञ्चारतर्फ १ करोड ६७ लाख, गाउँपालिका भवन निर्माण क्रमागत शीर्षकमा २ करोड, संघ तथा प्रदेशसँगको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन भएको छ ।
ग्रामीण विद्युतीकरण क्रमागत कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ कपुरकोट गाउँपालिकाले विनियोजन गरेको छ भने थोरै घरधुरी भएका र विद्युतको लाइन पु¥याउन नसकिने ठाउँहरुमा वैकल्पिक उर्जा जडान गर्नको लागि १० लाख विनियोजन गरेको छ ।
यस्तै कालिका मावि पूर्वाधार निर्माणमा २० लाख, जीवनज्योति मावि पूर्वाधार व्यवस्थापनको लागि ७ लाख तथा कपुरकोट बहुमुखी क्याम्पस पूर्वाधार निर्माणमा १० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले पुँजीगत बजेटको २६ प्रतिशत रकम सामाजिक विकासमा विनियोजन गरेको छ । जुन रकम ३ करोड ४३ लाख २५ हजार रहेको छ ।
यसमा शिक्षा, युवा तथा खेलकुदका लागि १ करोड, स्वास्थ्य तथा पोषणमा ४५ लाख, पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको लागि १० लाख, खानेपानीतर्फ ७३ लाख र बालबालिका तथा जेष्ठ नागरिकतर्फ २० लाख तथा
‘दिदीबहिनीसँग उपाध्यक्ष’ कार्यक्रमका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘संस्कृतिको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रमको लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ ।
आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रको विकासको लागि ४५ लाख, पशु विकास कार्यक्रमका लागि ३० लाख र उद्योग, वाणिज्य तथा पर्यटन विकासतर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै वन, वातावरण, भू–संरक्षण तथा विपद् व्यवस्थापन क्षेत्रगत योजना कार्यक्रममा जम्मा रु. ४४ लाख २५ हजार विनियोजन गरिएको छ भने सार्वजनिक सेवा, संस्थागत क्षमता विकास, सुशासन र सुदृढीकरण क्षेत्रगत योजना कार्यक्रममा ८४ लाख रुपैयाँ कपुरकोटले विनियोजन गरेको छ ।
गत असार १० गते गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए ।
कपुरकोट गाउँपालिकाले संघीय सरकार वित्तीय समानिकरण अनुदान शीर्षकबाट ८ करोड ४ लाख, कर्णाली प्रदेश सरकार वित्तीय समानिकरण अनुदान शीर्षकबाट १ करोड २९ हजार, संघीय सरकार राजस्व बाँडफाँड शीर्षकबाट रु ६ करोड ४३ लाख, कर्णाली प्रदेश सरकार राजस्व बाँडफाँड शीर्षकबाट रु ७ लाख ३ हजार, संघीय सरकार सशर्त अनुदान शीर्षकबाट रु ९ करोड ६३ लाख, आन्तरिक राजस्वबाट २५ लाख प्राप्त हुने र सञ्चित कोषमा गत बर्षको मौज्दात २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *