पुष्पलालको स्मृति दिवस

मुख्य खबर राजनीति समाज

घोराही, ७ साउन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको एउटा सपना साकार भएको कम्युनिष्ट नेताहरुले बताएका छन् । पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी कार्यकर्ताहरुले नेपालमा सबै कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्ने सपना पूरा भएको बताएका थिए ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार र एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना पुष्पलालको पूरा भएको बताएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य रेखा शर्माले नेकपाका संस्थापक पुष्पलालको इमान्दारिता, योगदानको बारेमा चर्चा गरेकी थिइन् । पुष्पलालको कम्युनिष्ट पार्टीको लागि गरेको त्याग, तपस्या र माग दर्शनलाई कम्युनिष्ट नेताहरुले बिर्सन नहुने बताइन् । पुष्पलालको सिद्धान्तलाई आत्मसात गरेर कम्युनिष्टहरु एकसाथ अगाडि बढ्न सुझाव दिइन् । पूर्वमन्त्रीसमेत रहेकी नेता शर्माले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनको लागि जनताले मत दिएकाले मतको कदर गर्नुपर्ने उनको भनाइ थियो ।
नेकपाकी केन्द्रीय सदस्य एवं सचेतक शान्ता चौधरीले विभिन्न गुटमा विभाजन हुँदै आएको कम्युनिष्ट पार्टी आज एक हुँदा पुष्पलालको एउटा सपना पूरा भएको बताइन् । जनताको पक्षमा काम गर्ने धेरै अवसर आफूहरुलाई आएको बताइन् । स्थानीयदेखि केन्द्रसम्म कम्युनिष्ट पार्टीले जनमत पाएको अवस्थामा जनताको लागि समर्पित भएर काम गर्नुपर्ने बताइन् । प्र्रदेश सांसद उत्तरकुमार वलीले पुष्पलालले देखेको सपनाजस्तै आफूहरुले अब सर्वहाराको पक्षमा काम गर्ने बताए ।
त्यस्तै कार्यक्रममा प्र्रदेश सांसद दामाकुमारी शर्माले कम्युनिष्टको सरकारले देशलाई अगाडि बढाउने दाबी गरिन् । जनताको जनमतलाई जनता कै हितमा काम गर्नुपर्ने बताइन् । कार्यक्रममा नेकपाका नेता निर्मल आचार्य, शोभाराम शर्मा, छविलाल वली, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलगायतले पुष्पलालले नेपाली जनताहरुलाई अधिकार सम्पन्न बनाउने सपनालाई साकार पार्ने बताएका थिए । नेकपाका नेता टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *