पुरुषको तुलनामा महिला रोगी बढी

फिचर समाज

सन्दर्भः विश्व स्वास्थ्य दिवस
तुलसीपुर, २५ चैत । तुलसीपुर उपमहानगरपालिका भित्रमा स्वास्थ्य उपचार लिनेमा पुरुषको संख्या भन्दा धेरै महिलाहरु रहेका छन् । तथ्याङ्क अनुसार पुरुषको तुलनामा महिला रोगीको संख्या बढ्दै गएको देखिएको छ ।
साउन मसान्तदेखि चैत महिनासम्मको तथ्याङ्कका आधारमा हेर्ने हो भन्ने विभिन्न रोगले बिरामी परेका पुरुषको तुलनामा महिला विभिन्न रोगले ग्रसित हुने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार पनि महिलामा पुरुषको तुलनामा बढी समस्या देखिन्न गरेको छ ।
तथ्याङ्क अनुसार यस ८ महिनामा २३ हजार १ सय ३९ जना महिलाहरुले स्वास्थ्य चौकी, सामुदायिक तथा निजी अस्पताल, स्वास्थ्य केन्द्रमा गएर उपचार गराएका छन् । यस्तै १७ हजार १ सय ९२ जना पुरुष रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ शाखाको तथ्याङ्क अनुसार चालु वर्षको ८ महिनामा करिब ४० हजार बिरामीहरुले प्रत्यक्ष रुपमा स्वाथ्य सेवा लिएका छन् । तथ्याङ्क अनुसार खानपिनको गडबडी र छालाजन्य रोगीहरुको संख्या सबैभन्दा बढी रहेको छ ।
६ हजार ५ सयले छालाका रोगको उपचार सेवा लिएका छन् । यस्तै नाक, कान, घाँटीको समस्याका कारण उपचार गराउनेहरुको संख्या ३ हजार ३ सय ६८ रहेको छ ।
त्यस्तै मुटु रोगको उपचार गराउने १ हजार ९ सय ६८, दन्त समस्यामा २ हजार ९ सय ६२, हाडजोर्नी ३ हजार ३ हजार ६ सय २२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ ।
यस्तै मानसिक समस्याका १ सय १० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन् भने ८० जना बिरामीहरुले सामान्य शल्यक्रिया सेवा लिएका छन् । यस्तै अन्य रोग तथा उपचारमा ५ हजार ८ सय ९७ रहेका छन् ।
यसैबीच ‘स्वाथ्यमा सबैको सर्वव्यापी पहुँच’ भन्ने मुल नाराका साथ आइतबार विश्व स्वास्थ्य दिवस मनाइएको छ । दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनमा मेरो वर्षको मेरो अभियान विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा यस क्षेत्रको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिइएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दाहालले विगतका वर्षहरुको तुलना समाजमा स्वाथ्य उपचारप्रतिको सकारात्मक धारणाको विकास हुँदै गएको बताए ।
नेपाली समाजमा स्वास्थ्य उपचार पद्दति धार्मिक र साँस्कृकित पद्दतिमा आधारित रहेकाले त्यस्ता उपचार पद्दतिलाई विस्तारै वैज्ञानिक र आधुनिक उपचार पद्दतिमा परिणत गर्न आवश्यक भएको उनको भनाइ छ ।
विशेषगरी थारु समुदायमा उपचार पद्दति धार्मिक र साँस्कृतिक प्रचलनमै हुने गरेको बताउँदै उनले अहिले पनि थारु समुदायमा ७० देखि ८० प्रतिशतले घरमै धामी झाँक्री र मटहवाको भरमा उपचार गर्ने गरेको बताए ।
यस्तै बालाबालिका, महिला तथा पुरुषको स्वास्थ्य अवस्थालाई प्रत्यक्ष रुपमा जाँच गर्ने क्रममा बढी घरमै उपचार गर्ने र सञ्चो नभएपछि धामी झाँक्रीको सहायताले उपचार गर्ने गरेको पाईएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले समावेशी विकासका लागि सर्वप्रथम स्वास्थ्य क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि १९ वटै वडालाई स्वास्थ्य सेवाको पहँुचबाट नजिक ल्याउनका लागि स्वाथ्य केन्द्र, स्वाथ्य चौकी, अस्पतालहरुमा आधारभूत स्वास्थ्य सेवा, आवश्यक जनशक्ति, पूर्वाधारको विकासका लागि सबैको सहकार्य अत्यावश्यक रहेको बताए ।
‘हाम्रो उपमहानगरमा रहेका सबै निजी तथा सामुदायिक अस्पतालहरुलाई जोडेर हेल्थ नेटवर्कको रुपमा स्थापित गर्नुपर्दछ’ उनले भने ‘हामीले यस क्षेत्रको दिगो विकासका लागि स्वास्थ्य उद्यमशीलताको निर्माण गर्नुपर्दछ ।’
स्वास्थ्य क्षेत्रमा ७ सय ५३ पालिकामध्ये यस पालिकालाई उत्कृष्ट स्वास्थ्य उपचार केन्द्रको रुपमा स्थापना गर्नका लागि प्रादेशिक अस्पालमा साढे ३ करोडको लागतमा अन्तर्राष्ट्रिय ल्याव सेवा सञ्चालन गर्न लागेको समेत जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले नवजात शिशुको स्वास्थ्य अवस्थालाई दीर्घकालिन रुपमा सुधार गर्नका लागि भिटामिन ‘के’ को उपलब्धता र यसको अनिवार्यतालाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । उपमहानगरलाई स्वास्थ्य क्षेत्रमा थप स्तरोन्नति गर्न एम्बुलेन्स सेवा, उपचार प्रविधिको विकास गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।
यसैगरी स्वाथ्यकर्मी अमृता पहाडीले गुणस्तरीय स्वाथ्य सेवा प्रदान गर्नका लागि सरकारले राष्ट्रियस्तरमा यस क्षेत्रसँग सम्बन्धित रहेका सम्पूर्ण कार्यक्रमहरुलाई वृहत रुपमा सञ्चालन गरिनुपर्ने बताईन् । उनले अन्तर्राष्ट्रियस्तरमा तुलना गर्दा नेपालीहरुको स्वास्थ्य अवस्था १० प्रतिशत मात्र राम्रो भएको बताइन् ।
यसैगरी कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालयका सहायक डिन राजेश्वर अर्याल, वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने, वडा नम्बर १८ का अध्यक्ष माधव वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए । स्वास्थ्य प्रवद्र्धनमा मेरो वर्षको मेरो अभियानका निम्ती रक्सी, चुरोट र सूर्तिजन्य पदार्थ खान्न, म नियमित शारीरिक व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजक रहन्छु भन्ने पाँचवटा प्रतिवद्धतासमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *