पीडित भएको प्रअको गुनासो

मुख्य खबर समाज

तुलसीपुर, २२ भदौ । पछिल्लो समय शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न प्रयास भईरहँदा आफूहरु भने सरकारबाटै पीडित भएको विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको गुनासो छ ।
शनिबार शैक्षिक गुणस्तर अभिवृद्धि एवं सांगठनिक सुदृढीकरणका विषयमा भएको अन्तरक्रियामा कार्यक्रमका अवसरमा बोल्दै अधिकांश प्रधानाध्यापकहरुले स्थानीय सरकारबाट आफूहरु पीडित भएको बताएका हुन् ।
नेपाल शिक्षक संघ दाङको आयोजनामा सञ्चालन भएको उक्त अन्तरक्रिया कार्यक्रमका अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले काज सरुवामा विद्यालयले भोग्नुपरेको समस्या, रिक्त दरबन्दीमा शिक्षक नियुक्ति हुन नसक्दा विद्यालयलाई पर्न गएको असरका विषयमा सरकारले कुनै चासो नदिएको महसुस भएको बताए ।
यस्तै उनीहरुले विद्यालय व्यवस्थापन समितिको म्याद सकिए पनि स्थानीय तहले आवश्यक पहल नगर्ने र प्रधानाध्यापकहरु प्रतिको व्यवहार लगायतका समस्याहरुलाई कुनै वास्ता नदिने गरेको उनीहरुले बताए । स्थानीय सरकारले विद्यालय समायोजनका लागि स्पष्ट मार्गनिर्देशन बनाउन नसकेको प्रति गुनासो गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष अमरबहादुर खड्काले सम्पूर्ण प्रधनाध्यापकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न निर्देशन दिए । उनले विद्यार्थीहरुको पढ्न लेख्न पाउने हक अधिकारलाई सुनिश्चित गर्नु प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुको जिम्मेवारी भएको बताए ।
‘हामी विद्यार्थीहरुको भविष्य बनाउनतर्फ दत्तचित्त भएर लाग्नुपर्छ’ उनले भने ‘आफ्नो समस्यालाई भन्दा विद्यार्थीको भविष्यप्रति विशेष ध्यान दिनुपर्ने हुन्छ ।’ उनले शिक्षक संघलाई थप व्यवस्थित रुपमा अगाडि बढाउनका लागि सबैको उत्साहपूर्ण साथ र सहयोगको पनि अपेक्षा व्यक्त गरे ।
कार्यक्रमका अवसरमा बोल्दै विशिष्ठ अतिथि एवं नेपाल शिक्षक संघ प्रदेश नं ५ का अध्यक्ष अर्जुन कुमार डाँगीले विद्यालयको वर्तमान अवस्थालाई अझ सुधार गर्दै विद्यालयको पढाइको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताए । उनले विद्यालयलाई प्रविधिमैत्री बनाई विद्यार्थीहरुलाई जागरुक बनाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ दाङका सल्लाहकार रमेश पाण्डे, प्रदेश नं ५ ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष प्रमोद कुमार न्यौपाने, नेपाल शिक्षक संघ तुलसीपुर नगरका अध्यक्ष लेवेन्द्र केसीलगायतले विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउनका लागि प्रधानाध्यापकहरु मात्र नभई शिक्षकहरुको समेत अहम् भूमिका रहेको बताए । संस्थालाई अझ बलियो बनाउँदै लैजानका लागि सबै एकवद्ध भएर लाग्नुपर्ने बताए ।
कार्यक्रमका अवसरमा बोल्दै नेपाल शिक्षक संघकी निवर्तमान महिला सहसचिव सुशीला सुवेदीले शिक्षक संघले समग्र शिक्षाको गुणस्तर वृद्धि गर्न र आम शिक्षकहरुको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गनुपर्ने बताईन् ।
उनले विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको पठनपाठनलाई अझ व्यवस्थित कसरी गर्ने, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफ्नो भूमिका कस्तो हुनुपर्ने लगायतका विषयमा ध्यान दिन आवश्यक रहेको बताईन् ।
संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले आफ्नो लगाव र झुकावले नै विद्यालयको शैक्षिकस्तर बलियो बन्दै जाने बताएका थिए । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अर्थ सचिव पूर्णबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष योगराज खत्रीले गरेका थिए भने सञ्चालन सचिव प्रकाश डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *