पानी जोगाऊ

सम्पादकीय

टेकनाथ गौतमले दाङमा पानीको संकट आउने, स्रोतहरु सुक्ने थालेको भन्दै स्रोत बचाउन सार्वजनिक अपिल गरे । गौतमले केही वर्ष पहिले सार्वजनिक स्थलहरुमा, सरकारी कार्यालय, पानी जोगाउन अपिल सार्वजनिक गरेका थिए । स्वर्गीय भइसकेका गौतमको सचेतना र आह्वानका शब्दहरु अहिले पनि विभिन्न स्थानमा भेटिन्छन् । पानी सकिन लाग्यो जोगाऊ दाङलाई सुख्खा हुनबाट बचाउन भन्ने गौतमको सार्वजनिकीकरण अहिले यथार्थको रुपमा आएको छ । पानीको स्रोत कमजोर हुँदा पानीको समस्या सबै क्षेत्रमा देखिएको छ । ठूला–ठूला मुलहरु सुकिसकेका छन् । धान रोप्ने खेतमा खर उम्रिएका छन् । खोलानालाहरु पानी बिनाका छन् । मुख्य रुपमा जनवायु परिवर्तन र अनाधिकृत रुपमा हुने वन फडानी, नदीजन्य वस्तुको उत्खननले अहिले पानीका स्रोत मात्रै हैन विश्वलाई नै सुख्खा बनाउँदै छ । यसतर्फ समयमै ध्यान पु¥याइएन, स्थानीय नागरिकहरु सचेत भएनन् भने अबको केही वर्षमै पानीको ठूलै समस्या भोग्नु पर्ने पक्का छ ।
एक अध्ययनले दाङको देउखुरी क्षेत्रमा रहेको जलाधारमा समस्या देखाएको छ । जलाधार कमजोर अवस्थामा देखिदै गएको देखाइएको तथ्यांकले पनि दाङमा पानीको समस्या बढिरहेको पुष्टी गर्दछ । जिल्लाको देउखुरी उपत्यकामा भएको अध्यननले देखाएको जलाधारको अहिलेको अवस्था चार दशक पहिले नै एकजना इतिहासविद्ले भविष्यवानी गरिसकेका थिए । त्यो भविष्यवानी अहिले सत्य भएको देखिनुले पनि अब पानी संरक्षणमा सबै एक भएर लाग्नु पर्ने आवश्यकता औल्याइ दिएको छ । पानी जोगाउन सके मात्रै हाम्रो जीवन पनि जोगिन सक्ने छ । यहि बुझेर राज्यका सबै संयन्त्र र स्थानीय नागरिकहरु यसमा जाग्नु पर्छ । पानीलाई अहिले संरक्षण गर्न सकेनांै बचाउन सकेनौं भने यो क्षेत्र मरुभूमिभन्दा कम हुने छैन । पानी परियोजनाको अध्ययनले देखाएको जलाधार क्षेत्रको कमजोर अवस्थालाई पुनरावृत्ति गराउने गरी सबैले भूमिका खेल्नै पर्छ । प्राकृतिक स्रोत साधनको दोहनले नै पृथ्वीमा यस्ता समस्याहरु ल्याउने गर्दछन् । प्राकृतिक सम्पदामा दोहन हुने, आवश्यताभन्दा बढी वनमा हमला हुने खोला, नदी तथा पानीका स्रोतहरु भएका स्थानहरुमा कुदृष्टीको विकास हुने हुँदा पानी जोगाउन चुनौती देखिन्छ । भएका मुहानहरु सुक्ने र नयाँ नआउने हुँदा यसले पानीको स्रोतमा नै विचलन ल्याइदिएको छ । जलाधार क्षेत्रको स्वास्थ्य कमजोर रहनुले त्यसमा आश्रित सबैलाई कमजोर बनाउने हो । स्वस्थ्य पानीको जगेर्ना गर्न तत्पर भए मात्रै जलाधार क्षेत्र बनाउन सक्ने र पानीलाई जोगाइ राख्न सम्भव हुन्छ । अब पानीका स्रोतहरु बढाउने र सुकेका मुलहरुलाई समेत पुनर्जीवित बनाउने अभियान थाल्न सके मात्रै सहि रुपमा पानी जोगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *