पर्यटन प्रवद्र्धन गर्न ११ करोड

फिचर समाज

घोराही, २६ चैत । दाङको पर्यटन क्षेत्र अब वन डिभिजन कार्यालय दाङले हेर्ने भएको छ । वन, पर्यटन र उद्योग एउटै मन्त्रालय बनेपछि पर्यटनको काम पनि वन कार्यालयबाट हुने गरी बजेट र योजना आएको छ । दाङको पर्यटन प्रवद्र्धनको लागि ११ करोड बढी रुपैयाँ छुट्याएको वन डिभिजनले बताएको छ ।
वन डिभिजन कार्यालय दाङले जिल्लाको पर्यटन प्रवद्र्धनको लागि ११ करोड २३ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । जिल्लाको पर्यटन प्रवद्र्धन गर्नका लागि धार्मिकस्थल, सामुदायिक वन, पोखरीलगायतका क्षेत्रमा बजेट विनियोजन गरेको हो ।
जिल्लाको धार्मिकस्थलतर्फ घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पाण्डवेश्वरी मन्दिर धारापानीको लागि दुई करोड बजेट छुट्याएको छ । मन्दिरको भौतिक निर्माण र पार्कसहित दुई करोड रुपैयाँ बजेट छुट्याइएको वन डिभिजन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताए ।
त्यसैगरी दंगीशरण गाउँपालिकामा थारु साँस्कृतिक गाउँ तथा पार्क निर्माणको लागि १८ करोड ४१ लाख २५ हजार ७ सय ४५ रुपैयाँ बजेट प्रस्ताव गरेको छ । यो चार वर्षिय योजना रहेको वन डिभिजन कार्यालयले जनाएको छ ।
तर यो वर्ष दुई करोड बजेट छुट्याएको छ । चालु आर्थिक वर्ष ०७५÷७६ देखि ०७८÷७९ सम्मको लागि कार्यक्रमको योजना बनाइएको छ । थारु समुदायको ऐतिहासिक ठाउँको रुपमा लिएको दंगीशरण गाउँपालिकालाई थारु ‘कल्चरल भिलेज’को रुपमा विकास गरेर पर्यटन प्रवद्र्धनमा विकास गर्ने लक्ष्य छ । प्रदेश सरकारको बजेटले जिल्लाको पर्यटन क्षेत्रलाई विकास गर्न लागिएको हो ।
त्यसैगरी जिल्लाका २५ वटा थारु जातिको बाहुल्य भएको बस्तीमा भुह्याँर थारु संस्कृति संरक्षण तथा पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ छुट्याएको छ ।
जिल्लाको २५ वटा स्थानको लागि प्रति भुह्याँर थान संस्कृति संरक्षण तथा पूर्वाधार निर्माणको लागि एक–एक लाखको दरले छुट्याइएको हो । तुलसीपुरको कृष्ण मन्दिर धार्मिक वन क्षेत्र उद्यान निर्माणको लागि २० लाख रुपैयाँ छुट्याएको छ । त्यसको लागि डिपिआरको काम सम्पन्न भइसकेको वन कार्यालयले जनाएको छ ।

वन डिभिजन कार्यालय दाङले जिल्लाको पर्यटन प्रवद्र्धनको लागि ११ करोड २३ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

तुलसीपुरमा रहेको गणेश पार्कलाई बोटानिकल गार्डेन निर्माणको लागि दुई करोड रुपैयाँ छुट्याएको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने पुरन्धारा झरनाको पूर्वाधार निर्माणको लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।
त्यसको काम शुरु भईसकेको पनि वन डिभिजन कार्यालयका सहायक वन अधिकृत शाहले जनाएका छन् । तुलसीपुरको थर्कोटमा ‘भ्यू टावर’ निर्माणको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्यालयको अनुसार डिपिआरको काम सम्पन्न भईसकेको छ ।
त्यसैगरी चमेरे गुफाको लागि गुरुयोजना तयार बनाउनको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी सामुदायिक वनमा पर्यापर्यटन विकासको लागि लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
जिल्लाको दुईवटा सामुदायिक वनमा पर्यापर्यटन विकासको लागि छुट्याएको हो । तुलसीपुर उपमहानरपालिका वडा नम्बर ३ मा रहेको धर्मशाला सामुदायिक वनलाई पाँच लाख र घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सवारीकोट सामुदायिक वनको लागि पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
त्यस्तै सीमसार क्षेत्रमार्फत पर्यटनको विकास गर्नको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ । सीमसार क्षेत्रको संरक्षण गर्नको लागि सूचनासमेत जारी गरिएको सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुले प्रस्ताव ल्याएमा प्राविधिक टिम खटाएर अनुसन्धान गरेर कार्यक्रम सञ्चालन गरिने वन कार्यालयले जनाएको छ ।
वन कार्यालयले जिल्लाका धार्मिकस्थल, वनलगायतलाई हराभरा तथा थप सौन्दर्यताको लागि एक गाउँमा एक पोखरीसमेत निर्माण गर्ने भएको छ । त्यसको लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
धार्मिकस्थल, सामुदायिक वन र ऐलानी जग्गा भएका स्थानमा सिंचाई, खानेपानीको लागि पोखरी निर्माण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
तुलसीपुर क्षेत्रको बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका, दंगीशरण गाउँपालिका शान्तिनगर गाउँपालिकामा पोखरी निर्माण गर्ने योजना रहेको छ । त्यस्तै घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा पनि एक गाउँ एक पोखरी निर्माण गर्न लागिएको कार्यालयले जनाएको छ ।
वन, उद्योग र पर्यटन क्षेत्र प्रदेशमा एउटा मन्त्रालयले हेर्ने भएपछि डिभिजन वन कार्यालयले यही वर्षदेखि पर्यटनको योजनामा पनि हेर्न लागेको डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख शिव सापकोटाले बताएका छन् ।
जिल्लामा पर्यटन क्षेत्रमा भएका योजनाहरु सबै प्रदेश मन्त्रालयमार्फत नै आएको उनले बताए । ‘पहिलो वर्ष भएकाले जिल्लाको तर्फबाट हामीले पर्यटन क्षेत्रमा कुनै योजना बनाएका छैनौं’ वन डिभिजन कार्यालयका प्रमुख सापकोटाले प्रदेश टुडेसँग भने ‘प्रदेश मन्त्रालयबाट जे योजना आउँछ हामीले त्यही अनुसार काम गर्ने हो ।’
जिल्लाको पर्यटन क्षेत्रको लागि उल्लेखनीय योजना आएको उनले बताए । ‘पहिले वर्ष भएकाले हामीले प्रदेश मन्त्रालयको निर्देशन अनुसार काम गर्छौ’ उनले भने ‘आगामी वर्षमा ओझेलमा रहेका पर्यटक तथा धार्मिक क्षेत्रहरुको योजना बनाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *