पर्यटन प्रवद्र्धनमा होमस्टेको सेवा

अर्थ विचार समाज


के.बी.मासल
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । पछिल्लो समय दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा होमस्टे सञ्चालनमा आएको छ । दाङ–सल्यान मोटर पर्ने राम्रीमा करिब ४० लाखको लगानीमा तुलसीपुर अस्वारा निवासी दोर्ण आचार्यले सामुदायिक होमस्टे सञ्चालन ल्याएका छन् ।
तुलसीपुर बजारदेखि १३ किमी उत्तरको दूरीमा रहेको राम्री गाउँको विशेषता भनेको सदाबहार चिसो हावापानी र तरकारी उत्पादनको पकेट एरिया । राम्री गाउँमा कुल ८८ घर परिवारको बसोवास छ । मगर, क्षेत्री र केही दलितजातीको बसोबास भएको राम्री गाउँमा चारवटा र खमारी गाउँमा तीनवटा होमस्टे खोल्ने तयारीमा स्थानीय बासिन्दा लागेका छन् । होमस्टेमा आवास, खाना आदि मात्र होइन राम्रीबाट सल्यान जिल्लाको महाभारत पहाडको भूगोलमा पर्ने थर्कोट, लामिडाँडा, पाखापानी, धैरेनी र दाङ जिल्लामा पर्ने धाम, पैयाखोरे, खमारी र चमेरे गुफातर्फको प्राकृतिक सौन्दर्य, स्वच्छ र शान्त वातावरण, डाँडाकाँडा, भिरपाखा, हरियाली वनजगंल, अन्य भौगोलिक, जैवीक एवं साँस्कृतिक विविधता अवलोकन गर्न सकिन्छ ।
अहिले सञ्चालनमा आएको होमस्टेमा स्थानीय परिकार ढिडो, सिस्नो, लोकल कुखुराको परिकार, मुहानको चिसोपानी, माछा रोजेर खान पाइन्छ । सिंगापुर गएर फर्किएपछि आफूमा होमस्टे सञ्चालन गर्ने सोच पलाएको होमस्टे सञ्चालकको भनाइ छ । धेरै युवाहरु विदेश पलायन भईरहेको अबस्थामा आफ्नै गाउँठाउँमा ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै होमस्टे सञ्चालनमा ल्याएको उनको भनाइ छ । होमस्टेमा १० जना कर्मचारीले काम गरिराखेका छन् । ग्रामीण बस्तीमा रमाउने कला संस्कृतिको अनुभव गर्नुको साथै घरधनी र पाहुनाबीच एक आपसका ज्ञान, अनुभव, विचार र उपयुक्त प्रविधिको आदानप्रदान लगायत एकअर्काका सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने काम होमस्टे गर्दछ ।
अहिले नेपालभरि करिब ४५ जिल्लाका विभिन्न गाउँमा होमस्टे सञ्चालनमा आएका छन् । हाल देशभर करिब १ हजार ८ सय घरले होमस्टे सञ्चालन गरेका छन् । यो बर्ष मात्र धेरै स्थानीय तहहरुले होमस्टे सञचालनका लागि गाउँमा तालिमसमेत दिने गरेका छन् । होमस्टे पर्यटनप्रति धेरै गाउँठाउँका बासिन्दाहरु आकर्षित हुन थालेका छन् । होमस्टेमा न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेमा पुग्ने गरेका छन् ।
स्थानिय तहको निर्वाचनपछि अधिकांश स्थानीय तहहरुले पर्यटनको विकास गर्न बजेटसमेत छुट्याएका छन । गाउँघरमा पर्यटनको गन्तव्यको विकास गर्न पूर्वाधार निर्माण गर्नुपर्दछ भन्ने राजनीतिक दलहरुमा सोचको विकास भएको छ । पर्यटन प्रवद्र्धनमा राजनीतिक दलहरुको यो सोचलाई सकारात्मक मान्नु पर्दछ । तर के गर्ने गाउँको अवस्था हेर्ने हो भने गाउँमा रहेका प्राकृतिक र ऐतिहासिक सम्पदा, विभिन्न धार्मिक मठ–मन्दिर, ताल–तलैयाहरुको संरक्षण हुन सकेको छैन । गाउँमा पुग्ने मोटरमाटो बिग्रिएको छ । त्यसलाई मर्मत सम्भारका योजना पर्याप्त मात्रामा हुन सकेको छैन । गाउँघरमा पूर्खाले खनेका घोरेटा र गोरेटा बाटोको अवस्था झनै बिकराल छ । तिनै बाटोको किनारमा रहेका बर र पिपलका बोट थियो र …? भन्ने कथा बनेको छ । खुला दिसामुक्तका बोर्ड गाउँघरमा झुण्डाए पनि गाउँमा नयाँ मानिस पुग्यो भने शौचक्रिया गर्न चिरा र ढिक खोज्न पर्ने अवस्था छ । यात्राको क्रममा अब त गाउँ आयो होला भन्ने बित्तिकै बाटोघाटोमा छरिएका फोहोरले दुर्गन्ध भएको देख्न सकिन्छ । यस्तो गाउँठाउँमा पर्यटकहरु जान्छन त ?
नेपालमा होमस्टेको संस्थागत विकास पर्यटन वर्ष सन् २०११ देखि सुरु भएको हो । दूरदराजका गाउँमा होमस्टे सञ्चालन गर्न त्यति सजिलो भने छैन । सरकारले होमस्टे सञ्चालन गर्नका लागि कार्यविधि २०६७ आजभन्दा आठ बर्ष ल्याएको छ । कार्यविधि ऐनले होमस्टे सञ्चालन गर्नको लागि के–के प्रावधान पु¥याउनु पर्दछ भन्ने कुरा बुझाइ दिएको छ । तर धेरै गाउँमा सञ्चालनमा आएका होमस्टे सञ्चालकहरुले सरकारले जारी गरेको कार्यविधि ऐनलाई वेवास्ता गर्दै होमस्टे सञ्चालन गरेका छन् । त्यस किसिमका होमस्टेहरुले ग्रामीण पर्यटकहरुलाई होमस्टेको सुविधा दिन सकेका छैनन् । तर होटलको ब्यापार भने गर्दै आएका छन् । त्यस्ता होमस्टेमा बास बस्ने पर्यटकहरुले होमस्टेको सुविधा नपाए पनि होटलले दिने सुविधा भने दिएका छन् ।
पछिल्लो समय नेपालका गाउँ–गाउँमा पर्यटन विकासको लागि गाउँघरमा रहेका स्रोत साधनलाई उपयोग गरी पर्यटकहरुलाई स्वागत गरिन्छ । सरकारले नेपाल भित्रिने पर्यटकलाई ग्रामीण भेगमा लगेर व्यवस्थित रुपमा राख्ने अवधारणालाई अघि सारेपछि अहिले होमस्टे अर्थात घरबासको विकासले गति पाएको छ । प्राकृतिक रुपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरुलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने होमस्टेको उद्देश्य हो । घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई भगवानजस्तै मानेर सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीयस्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनवजीवन र मौलिक साँस्कृतिक रुपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने व्यवसाय नै होमस्टे हो । अर्को अर्थमा होमस्टेको मूल उद्देश्य नै आन्तरिक र बाह्य पर्यटकहरुलाई आफ्नै घरमै बसेको अनुभूति दिई नयाँ ठाउँको जानकारी र मनोरञ्जन गराउनु पनि हो ।

होमस्टे पर्यटनप्रति धेरै गाउँठाउँका बासिन्दाहरु आकर्षित हुन थालेका छन् । होमस्टेमा न्यानो आतिथ्यताका माध्यमबाट
गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।
होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछिपर्यटक सिधै होमस्टेमा पुग्ने गरेका छन् ।


होमस्टे तथा स्थानीयस्तरमा पर्यटकीय अवधारण नेपालमा मात्रै हैन शक्तिशाली देश अमेरिका लगायतका मुलुकमा पनि अगाडि बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, युरोपलगायतका शक्तिशाली देशहरूमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरूमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि सुरु गरिएका छन् । यस्तै नेपालमा दुई छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् । व्यापार, रोजगारीका लागि होमस्टे सञ्चालनमा आएको देखिन्छ ।
होमस्टेको प्रावधान अनुसार खोलिएका होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सृजना गराउँछ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु बढ्दै जान्छ । गाउँघरमा हुने आम्दानीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने अवसर सृजना हुन्छ । होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा हो । यसको उद्देश्य होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउने हो । अर्कोतर्फ होमस्टे सञ्चालन गरी ग्रामीण क्षेत्रका जनताहरुलाई पर्यटनको सेवामा सहभागी गराउने पनि हो । जुन कारणले गर्दा ग्रामीण समुदायको आयश्रोत बढ्दै जान्छ र जीवनस्तरमा सुधार आउँछ ।
होमस्टे सञ्चालन गरी पर्यटकहरुलाई ग्रामीण जनजीवन साथै संस्कृतिका बारेमा जानकारी दिन सकिन्छ । होमस्टे आवास मात्र नभएर पर्यटकहरुलाई रितिरिवाज, कला, संस्कृति र रहनसहनको बारेमा जानकारी दिन सकिन्छ । होमस्टे सञ्चालन भएका ग्रामीण क्षेत्रमा साँस्कृतिक कार्यक्रममा गाउँमा आएका पर्यटकहरुलाई सहभागी गराउन सकिन्छ । गाउँमा पुग्ने पर्यटकहरुलाई जंगल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको कार्यक्रमको व्यवस्था गर्न सकिन्छ । यो बाहेक होमस्टेले स्थानीय साँस्कृतिक नाचगान तथा फुलमालाका साथ पर्यटकको स्वागत गर्न सकिन्छ । होमस्टे सञ्चालन भएका गाउँमा जाने पर्यटकहरुलाई साँस्कृतिक सम्पदा, संग्रालय, घरेलु तथा हस्तकला सामाग्री उत्पादन केन्द्रजस्ता स्थल, दृश्यावलोकन गराउन सकिन्छ । पर्यटकहरुलाई स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रविधिमा सहभागी गराई पर्यटक तथा स्थानीय जनताबीच जीवनशैली, कला, संस्कृति आदि विषयमा अनुभव तथा ज्ञानको आदानप्रदान गराउन सकिन्छ । गाउँबाट पर्यटकको बिदाइ गर्दा स्थानीय संस्कृति झल्कने किसिमको मायाको चिनो दिन सकिन्छ । यी सबैकुरा सरकारले होमस्टे सञ्चालन गर्नका लागि बनेको कार्यविधि ऐनमा रहेको छ ।
होमस्टे सञ्चालन गर्दा प्रत्येक सामुदायिक होमस्टेका लागि भिन्न स्वामित्व भएका कम्तीमा पाँचवटा घर होमस्टे युनिट हुनु पर्नेछ । एकआपसमा सहज पहुँचका लागि बाटोको प्रबन्ध भएको घरहरु मौलिक संस्कृति झल्कने र हावा हुरी, जंगली जनावर आदिबाट सुरक्षित हुने खालको हुनुपर्दछ । होमस्टेमा पाहुनाका लागि कम्तीमा एउटा अलग्गै कोठा हुनुपर्नेछ । होमस्टे सञ्चालन गर्न एक घरमा बढीमा चारकोठा पर्यटकका लागि छुट्याउनु पर्ने हुन्छ । एउटा कोठामा बढीमा दुईवटा मात्र ओछ्यान राख्नुपर्दछ । ओछ्यान कम्तीमा ६.५ फिट लम्बाई र ३ फिट चौडाईको हुनुपर्नेछ । भुईमा कार्पेट वा राडी वा सफा गुन्द्री ओछ्याएको हुनुपर्दछ । ढोकामा खुट्टा पुछ्ने बोरा वा डोरम्याट भएको हुनुपर्दछ । नरम खालको सेतो तन्ना भएको र सेतै खोल भएका ओढ्नेको व्यवस्था हुनुपर्दछ । भित्तामा वा ढोकाको पछाडीपट्टि लुगा झुण्ड्याउने व्यवस्था भएको हुनुपर्दछ । कोठामा विजुली बत्ती वा लाल्टिन वा मैन वा टुकी पानस बाल्ने व्यवस्था हुनुपर्दछ । सुत्ने कोठामा राम्रा–राम्रा दृश्य र स्थानीय संस्कृति झल्कने तस्विरहरु टास्नु पर्दछ । फोहोर फाल्ने एउटा टोकरी डस्टबीनको व्यवस्था हुनुपर्दछ । सम्भव भएसम्म प्रत्येक पाहुनाका लागि एक जोर चप्पलको व्यवस्था हनुुपर्दछ । कोठाको भित्तामा एउटा अर्धकद आधा शरीर देखिने ठूलो ऐना झुण्डाएको हुनुपर्दछ ।
यो बाहेक होमस्टेमा सुविधायुक्त र सफा शौचालय हुनु पर्दछ । होमस्टे सञ्चालन गर्ने घर वा समुदायमा नुहाउने प्रवन्ध छुट्टै बाथरुम वा कम्तीमा छेकिएर नुहाउन सकिने सुविधायुक्त ठाउँ हुनुपर्दछ । स्नानघरमा पानीको बाल्टी, मग, साबुन, रुमाल आदि आधारभूत वस्तुहरु हुनुपर्दछ । भान्छाकोठा र खाना खाने व्यवस्था पाहुना राख्ने घर अथवा कोठा नजिक गाई, भैसी अथवा भेडा, बाख्रा, सुगुँर, कुखुरा आदि बाँध्न वा पाल्न हुँदैन । धेरै धुवाँ नहुने भान्सा उन्नत वा सुधारिएको चुलो हुनुपर्दछ । होमस्टेमा बस्ने पाहुनाहरुलाई खानेपानी फिल्टर गरेर वा उमालेरमात्र दिनु पर्दछ । स्थानीय खानाका परिकारहरुलाई स्वास्थ्यकर ढंगले पकाउने र खुवाउने प्रवन्ध मिलाउनु पर्दछ । खानपिन विवरण तथा मूल्य निर्धारण गरिएको हुनुपर्दछ । स्वास्थ्य, सरसफाई तथा सुरक्षा मुसा, लामखुटृे, उडुस, उपियाँ आदिबाट सुरक्षित हुनुपर्दछ । यी बाहेक होमस्टे सञ्चालन गर्दा पर्यटकहरुलाई सुविधा हुनेखालको होमस्टेको संरचना तयार पार्नु पर्दछ ।
हामीकहाँ ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडि परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउँछन् । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन् । आजभोलि आन्तरिक पर्यटकहरुले पनि नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन् ।
ग्रामीण पर्यटन विकासको लागि होमस्टेले ठूलो सहयोग पु¥याउँछ । गाउँघरमा विविध जनजाती, भाषाभाषी, धर्म, संस्कृति, परम्परा, रहनसहन, रितिरिवाज र आत्मीय आतिथ्यले सजिएका सुन्दर बस्तीहरु हुन्छन् । पाहुनालाई देवतासरह मान्ने र घरमा आएको पाहुनालाई राम्रो सत्कार गरी खान बस्न दिने हाम्रो पुरानो प्रचलन हो । होमस्टेको सञ्चालन सरकारले नभएर स्थानीय समुदायको सक्रियतामा सञ्चालन हुन्छ । यसले ग्रामीण जनताको आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत गर्दछ । यो अवधारणा अनुसार एउटा घरमा चारवटासम्म कोठामा पर्यटकको बासस्थानको बन्दोबस्ती गर्न सकिन्छ । जसको सञ्चालन घर मालिक आफैले गरी आफ्नै परिवारसँग खानपानको व्यवस्था गर्नुपर्छ । होमस्टे सेवाले ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकलाई खाना र बासको सुविधा हुन्छ । गाउँमा पुग्ने पर्यटकहरुले स्थानीय समुदायको कला, संस्कृति, भेषभूषा, भाषा, धर्म, रितिरिवाज, चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्नसक्ने प्राकृतिक दृश्यावलोकनसमेत गर्न पाउछन् ।
ग्रामीण एवं बाह्य पर्यटकहरुको आगमन गराउन हरेक गाउँ र बस्तीमा होमस्टे सञ्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत सम्भार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुविधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय तहहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ । अधिकांश हामी नेपालीहरुमा भ्रमण गर्ने बानी छैन र भ्रमण गर्नु फजुल खर्च गर्नु शिवाय केही होइन भन्ने सोचाइ धेरैमा पाइन्छ । भ्रमण एक अध्ययन, अवलोकनको महान् शिक्षा हो । किताबी ज्ञान, ज्ञानमा मात्र सीमित हुन्छ । तर भ्रमण अवलोकनबाट प्राप्त ज्ञान व्यवहार परिवर्तनमुखी हुने गर्छ । अर्कोतर्फ भ्रमणले मान्छेका नराम्रा संस्कार र संस्कृतिको तुलनात्मक विश्लेषण गराई संस्कार र संस्कृतिको विकास र परिमार्जन गराउने माध्यम पनि बन्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *