पर्यटन उद्योगमा दुई अर्ब लगानी

फिचर मुख्य खबर

घोराही, २७ भदौ । दाङको पर्यटन उद्योगमा झण्डै दुई अर्ब लगानी भएको छ । पर्यटन उद्योगका रुपमा रहेका जिल्लाका ठूला तथा साना होटल तथा रेष्टुरेण्टरमा १ अर्ब ९१ करोड ९५ लाख ३९ हजार ५ सय लगानी भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा मात्रै दर्ता भएका ८ सय ३६ वटा होटल तथा रेष्टुरेण्टमा मात्रै ४१ करोड ९५ लाख ३९ हजार लगानी भएको छ । जिल्लाका दश स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा रहेका पर्यटन उद्योगमा सो लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत बामदेव शर्माले बताए ।
जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकाभित्र ३ सय ८५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । जसमा १९ करोड ८४ लाख १२ हजार ६ सय लगानी भएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाभित्र १ सय ७१ पर्यटन उद्योगमा ९ करोड २८ लाख २२ हजार २ सय, लमही नगरपालिकाभित्र १ सय १३ पर्यटन उद्योगमा ६ करोड ७४ लाख ७ हजार ५ सय, गढवा गाउँपालिका भित्रका ५० पर्यटन उद्योगमा १ करोड ५४ लाख ६८ हजार र राप्ती गाउँपालिकाभित्रका ५७ पर्यटन उद्योगमा ३ करोड ५० लाख १ हजार ९ सय लगानी भएको छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिका भित्रका १८ पर्यटन उद्योगमा ७८ लाख ४० हजार, दंगीशरण गाउँपालिका भित्रका ३ पर्यटन उद्योगमा ६८ लाख ४७ हजार र बबई गाउँपालिका भित्रका १८ पर्यटन उद्योगमा ५८ लाख लगानी भएको छ ।
पछिल्लो समयमा जिल्लामा होटल तथा रेष्टुरेण्ट दर्ता गर्ने क्रम बढेको उद्योग अधिकृत शर्माले बताए । ‘यो कार्यालयमा दर्ता हुन आएका होटल तथा रेष्टुरेण्टको तथ्याङ्कलाई हेर्ने हो भने बढेको देखिन्छ’ उनले भने । गएका आर्थिक वर्षमा मात्रै १ सय १९ वटा होटल तथा रेष्टुरेण्ट दर्ता भएका छन् । जसबाट जिल्लाको पर्यटन उद्योगमा रू. १२ करोड १२ लाख लगानी थपिएको छ ।
सानो लगानीमा सञ्चालन हुने होटल तथा रेष्टुरेण्ट मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने गर्दछन् । तर करोडौको लगानीमा सञ्चालन हुने ठूला होटलहरु भने सिधै भ्याटमा दर्ता हुने गरेका छन् । यसरी जिल्लामा ठूला लगानीका होटलहरु पनि छन् ।
जिल्लाका ठूला होटलहरु भिग्रेली भिलेज, होटल मालाइन, सिटी प्लाजा, राप्ती सुपरलज, होटल हाइवेयजस्ता होटलहरुमा करिब १ अर्ब ५० करोड लगानी भएको छ ।
जिल्लामा प्रत्यक्ष पर्यटन क्षेत्रसँग जोडिएका होटलहरु सञ्चालनमा आउने क्रम बढेपनि राज्यको तर्फबाट यसलाई अझ माथि उठाउने प्रयास हुन नसकेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउँछन् ।
‘जिल्लामा ठूला–ठूला होटल तथा लजहरु सञ्चालन त भएका छन् तर राज्यको तर्फबाट पनि यसलाई थप सहयोग हुन जरुरी छ’ अध्यक्ष डाँगीले भने । राज्यले होटल व्यवसायीहरुलाई हुर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसके निकट भविष्यमा यो व्यवसाय धरासायी हुने अवस्था पनि आउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *