पर्यटनको हब बन्दै चितवनको माडी

विचार

चितवनको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ ।
निकुञ्जको वन्यजन्तु र मानिसबीचको द्वन्द्वले चिनिएको माडी अहिले पर्यटनको गन्तब्य हुन थालेको छ । प्रकृतिले सिङ्गारेको माडी उपत्यका पर्यटनको हब बन्दै गएको छ ।
माडी क्षेत्रको वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक, धार्मिकस्थल, थारुबस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् ।
चारैतिर पहाड, जंगल र बीचमा उपत्यका रहेको माडी पर्यटकका लागि रमणीय स्थल मानिन्छ । माडीको कल्याणपुरमा रहेको सहिद स्मारक टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भूगोल अवलोकन गर्न सकिन्छ । रातको समयमा टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द पर्यटकहरुले लिन पाउँछन् ।
माडी उपत्यकाभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरुङ्गी र जंगली जनावारहरु देख्न पाउँदा पर्यटकहरु रमाउँछन् । माडी क्षेत्र तीर्थाटन पर्यटकहरुलाई पनि उत्तिकै महत्व मानिन्छ । माडी क्षेत्रमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकी आश्रम, सोमेश्वरगढी, गर्दी र बघौडाका थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपालनगरको माछापालन, लक्ष्मी निवास गाउँ आदि रहेका छन् ।
जुन कारणले माडी एउटा सानो संग्रहालयजस्तो मानिन्छ । अयोध्यापुरीको जंगल क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट मेघौली र आसपासका केही क्षेत्र देख्न सकिन्छ । कल्याणपुर गाउँको गोपालनगरमा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि आजभोलि पर्यटकीयस्थल बनेको छ ।
माडी नगरपालिका नेपालको प्रदेश नम्बर ३ मा पर्ने चितवन जिल्लामा पर्दछ । चितवन जिल्लाको साविक बघौडा, गर्दी, कल्याणपुर र अयोध्यापुरी गाउँ विकास समितिलाई समेटेर माडी नगरपालिका भएको हो ।
अहिले माडी नगरपालिकाको केन्द्र भने बसन्तपुर बजार रहको छ । माडी उपत्यका भरतपुरको चौबिसकोटीबाट दक्षिणतर्फ ४० किमी पार गरेपछि माडी क्षेत्र शुरु हुन्छ ।
भरतपुरको चौबीसकोठीबाट दक्षिणतर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जगतपुर हँुदै चितवन राष्ट्रिय निकुञ्ज पार गरेपछि आउने उपत्यका नै माडी क्षेत्र हो ।
माडी उपत्यकामा जाँदा १० किमी निकुञ्जको जंगल पार गर्नुपर्दछ । माडी उपत्यकाको चारैतिर चुरे पहाडले घेरेको छ । चितवनको दक्षिण भेगमा भारतसँग सीमाना जोडिएर रहेको माडी उपत्यकामा जैविक विविधता रहेको छ ।
माडी उपत्यकाको दक्षिणतिर सोमेश्वर चुरे डाँडा जुन भारतसँग जोडिएको छ भने यसको पूर्व, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज पर्दछ । उर्वर एवं सुन्दर भूभाग चारैतिरबाट चुरे पहाड अनि राष्ट्रिय निकुन्जले घेरिएको माडी उपत्यकामा दर्जनौ साना खोला, नालाहरु दक्षिणबाट उत्पन्न भै उत्तरतिर बगेका छन् ।
मरोट खोला, देउता खोला, घोसरी खोला, मगोई खोला, रौतने खोला, बादरमुडे खोला, रिमाल खोला, घाघर खोला, बघाई खोला माडी उपत्यकाका प्रमुख खोलाहरु हुन् । रेवा नदी माडीको प्रमुख नदी हो । जुन खोला नालाहरुले माडीबासी किसानहरुको लागि बरदान र कहिलेकाहिँ बिनाससमेत गर्ने गरेको छ ।
रेवा नदी माडी उपत्यकाको दक्षिण पूर्वबाट उद्गम भएर माडीको उत्तरतिर राष्ट्रिय निकुञ्जसँग जोडिएर नागबेली आकारमा बगिरहेको छ । माडीका चार गाउँ बेग्लै चार वस्तुहरुका लागि प्रख्यात मानिन्छन् ।
गर्दी गाउँ तरकारी तथा फलफुल र तोरी खेती, बघौडा गाउँ रेशम खेती, कल्याणपुर गाउँ माछापालन र रेशम खेती,अयोध्यापुरी गाउँ धान र मकै खेतीका लागि प्रख्यात मानिन्छ । जुन कारणले धान, तोरी, रेशम र माछाका लागि माडी प्रख्यात छ ।
माडी उपत्यकाको बसन्तपुर बजारलाई माडीको मध्यविन्दुको रुपमा लिइन्छ । बसन्तपुर बजारमा माडीको हेल्थ सेन्टर, क्याम्पस, माडी एफएम, त्रिवेणी विकास बैंक, पुष्पाञ्जली हस्पिटल आदि संघ संस्था रहेका छन् ।
किनमेलको लागि किराना तथा फेन्सी पसलहरु खुलेका छन् । त्यसैगरी बरुवा बजार, बसन्तपुर बजार, कल्याणपुर, किर्तनपुर, देवेन्द्रपुर, खर्कटा आदि माडी उपत्यकाका प्रमुख बजारहरु हुन् ।
माडी पुगेपछि पर्यटकहरुले घुमफिर गर्ने स्थलहरुमध्ये चैते दशैँमा लाग्ने गोदक मेला तथा परशुराम कुण्ड स्नान तीर्थाटन यात्रा, पाच पाण्डव गुप्त वास बसेको क्षेत्र, सोमेश्वर कालिका मन्दिर, बैकुण्ठ ताल, कल्याणपुर गोपालनगरको माछा खेतीजस्ता स्थलहरु पर्यटकीयस्थल बनेका छन् । त्यसैगरी नेपालको द्वन्द्व कालको अत्यन्त हृदयविदारक बाँदरमुढे घटनाको स्मारक पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन् ।
माडीभित्र रहेका ऐतिहासिक महत्वका वस्तु वा स्थानहरुले पनि माडी उपत्यका पर्यटकहरुलाई आकर्षणको स्थल भएको छ । ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ ।
सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको छ । नेपाल र अंगे्रजबीच लडाइँको समयमा अंग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो ।
तर पछि पानीको समस्याले गर्दा सेनालाई त्यहाँबाट उपरदाङगढी सारिएको इतिहास छ । लिच्छवी शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका थिए ।
माडी क्षेत्रको वाल्मिकी आश्रम नेपालकै एक मुख्य धार्मिकस्थल हो । तर वाल्मिकी आश्रम पुग्न भने माडी उपत्यकाबाट भन्दा सजिलो यात्रा नवलपरासीको बरघाट हुँदै त्रिवेणी भएर जाँदा सजिलो हुन्छ ।
माडीभित्र वाल्मिकी आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्वका स्थान, ताल, नदी, र मन्दिर रहेका छन् ।
गर्दीमा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिकस्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदी किनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ ।

वन्यजन्तु, वनजंगल, प्राकृतिक सुन्दरता र संस्कृति हेर्न जाने पर्यटकहरुलाई होमस्टेले सुविधा दिएको छ । बाह्य पर्यटकहरु लुम्बिनी, पोखरा घुमेपछि माडी पुग्ने गर्दछन् । होमस्टेमा बस्ने, स्थानीय संस्कृति हेर्ने, गाउँघरको जनजीवन अवलोकन गर्न पाउँदा पर्यटकहरु खुशी हुन्छन् । शिवद्वारमा मात्र होइन माडीकै पाण्डप नगरमा पनि बोटे जातिले होमस्टे सञ्चालन गरेका छन् । माडी उपत्यका घुमफिर गर्न भरतपुरको चौबिसकोटीबाट सार्वजनीक बस तथा साना गाडीहरु समेतको सेवा छ ।

यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तिहरु देख्न सकिन्छ । अयोध्यापुरीमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिकस्थल मानिन्छ । जहाँ बैशाख शुक्लपूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । जहाँ गवान गौतम बुद्धले पनि एक रात बिताएका स्थल मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालका सबैभन्दा लोकप्रिय पर्यटन स्थलहरुमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जमा दुई मुख्य प्रवेशहरु छन् । पूर्वमा सौराहा र पश्चिममा मेघौली गाउँ । पर्यटकहरुको लागि चितवन राष्ट्रिय निकुञ्ज लोकप्रिय छ ।
निकुञ्जमा विशेषगरेर एकसिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरु पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरुमा हरिण, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पाइने, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालुलगायतका जंगली जनावर, निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्र र विभिन्न किसिमका किराफटेग्रा, चराचुरुङ्गी हेर्न प्रत्येक वर्ष हजारौ स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु जैविक विविधताले गर्दा पर्यटकहरु चितवनको माडी क्षेत्र घुम्न मन पराउँछन् । विश्व सम्पदा सूचिमा समेत सूचिकृत यस निकुञ्जभित्र रहेका ठूला घाँसे मैदान, सिमसार क्षेत्र ताल र यहाँ पाइने चराहरुको चिरविर आवाजले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ ।
त्यसमा पनि हात्तीमाथि चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्जभित्रका जंगली जनावर हेर्न झनै सजिलो भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो ।
यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी रहेको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ ।

माडीको नामाकरण

हालको बघौडा र गर्दी मात्र शुरुमा माडी क्षेत्र थियो । पछि २०२३ सालमा चितवनलाई २२ पञ्चायतबाट ४२ पञ्चायत बनाउने क्रममा अयोध्यापुरी, कल्याणपुर र ठोरी पञ्चायत थप गरी पाँच पञ्चायतको माडीको प्रशासनिक भूगोल भयो ।
२०३४÷०३५ मा सीमा पुनर्गठन समितिले ठोरीलाई पर्सा जिल्लामा गाँभेपछि माडी क्षेत्र हालको भूगोलमा आएको हो । माडीको नाम माण्डव्य ऋषिले तपस्या गरेका हुनाले उनै ऋषिको नामबाट रहन गएको मानिन्छ ।
अर्को तर्क अनुसार चारैतिरबाट माडीलाई पहाडले घेरिएको उपत्यकाभित्र बग्ने रेवा नदीले मडारिदै बनेको समथर भू–भागलाई माडी पनि भनिन्छ ।
थारु भाषाअनुसार हाल माडी भनेर चिनिने सम्पूर्ण भूगोललाई नभई बघौडा गाउँको रेवा नदी किनारको केही भागलाई मात्र शुरुमा माडी भनेर चिनिन्थ्यो । थारु भाषामा माड भनेको धापिलो वा ओसिलो र डी भनेको घडेरी हुन्छ । यसरी माड र डी मिलेर माडी नाम रहेको कुरा पनि पाइन्छ ।

माडी पुगेपछि पुग्नै पर्ने ठाउ

चितवनको सदरमुकाम भरतपुरबाट ६८ र पर्साको सदरमुकाम वीरंगजबाट ७० किलोमीटरको दूरीमा रहेको ठोरी अहिले पर्सा जिल्लामा पर्दछ । जुन चितवनको माडी नगरपालिकासँग जोडिएको छ ।
ठोरी नेपालको राजनीतिमा ऐतिहासिकस्थल मानिन्छ । माडी उपत्यकाबाट ठोरी जान ९ किमी निकुञ्जभित्रको सडक यात्रा गर्नुपर्दछ । ठोरी लौहपुरुष गणेशमानको जीवनका महत्वपूर्ण घटनासँग जोडिएको स्थल हो ।
गणेशमान सिंहले धनुर्वाणको प्रशिक्षणदेखि राजनीतिक प्रशिक्षण दिएको स्थलको रुपमा ठोरीको इतिहास छ । राणा शासन विरोधी अभियानको क्रममा पेस्तोलसहित सिंह ठोरीबाटै पक्राउ परेका थिए ।
राणा र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा पटक–पटक ठोरी पुगेका सिंहले मुलुकमा प्रजातन्त्र बहाली भएपछि आफैले इच्छाएर ठोरीमा आमसभा राख्न लगाएका थिए ।
काठमाडौँ मकवानपुर–ठोरी र गोरखा, तनहुँ र चितवन–ठोरी क्रान्तिकारीहरुको भूमिगत पैदल मार्ग थियो । त्यसैले ठोरीदेखि ४० किमी नजिक नरकटियागंजस्थित लालहरी घिमिरेको घरमा हतियार भण्डार रहेको र ठोरीमा सेल्टर चलाएको गणेशमानकालीन वृद्धहरुको भनाइ छ ।
वि.स. १९८५ बाट ठोरीमा बस्ती शुरु भयो भने २०२१ सालबाट पहाडी जिल्लाका विभिन्न ठाउँबाट ठोरीमा आएर बसोबास गरेका थिए । ठोरीको निर्मलबस्ती २०३४ साल अघि चितवन जिल्लामा थियो ।
सदरमुकाम भरतपुरबाट त्यस समय ठोरी पुग्न हिडेर जानुपर्ने थियो । चितवन राष्ट्रिय निकुञ्जमा जीवजन्तुको डर, राप्ती, रेवा जस्ता नदीले गर्दा ठोरी पुग्न कठिन थियो ।
त्यो समयका तनहु, लमजुङ, गोरखा र धादिङ जिल्लाका मानिसहरुको नुन, तेल र अन्य आवश्यक सामाग्री खरिद गर्ने नाकाको रुपमा पनि ठोरी थियो । ठोरीलाई २०३५ सालमा पर्सामा समायोजन गराइए पनि अझ ठोरीका बासिन्दा प्रदेश ३ अर्थात् चितवन जिल्लामा रहन चाहन्छन् ।
माडी उपत्यकामा घुमफिर गर्दा बस्ने खानेको कुनै समस्या पर्दैन । पर्यटकहरुलाई सेवा दिन होमस्टे सञ्चालनमा आएका छन् । माडी नगरपालिका–८ शिवद्वारमा मगर समुदायले ०७२ सालदेखि होमस्टे सञ्चालन गरेका छन् ।
शिवद्वारमा ११ वटा घरमा होमस्टे सञ्चालन गरी पर्यटकहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिन्छ । वन्यजन्तु, वनजंगल, प्राकृतिक सुन्दरता र संस्कृति हेर्न जाने पर्यटकहरुलाई होमस्टेले सुविधा दिएको छ ।
बाह्य पर्यटकहरु लुम्बिनी, पोखरा घुमेपछि माडी पुग्ने गर्दछन् । होमस्टेमा बस्ने, स्थानीय संस्कृति हेर्ने, गाउँघरको जनजीवन अवलोकन गर्न पाउँदा पर्यटकहरु खुशी हुन्छन् ।
शिवद्वारमा मात्र होइन माडीकै पाण्डप नगरमा पनि बोटे जातिले होमस्टे सञ्चालन गरेका छन् । माडी उपत्यका घुमफिर गर्न भरतपुरको चौबिसकोटीबाट सार्वजनीक बस तथा साना गाडीहरु समेतको सेवा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *