- Advertisement -spot_img
Friday, April 16, 2021
Homeविचारपर्यटक लाखे नाच हेर्दै रमाउँछ

पर्यटक लाखे नाच हेर्दै रमाउँछ

- Advertisement -spot_img

साउन महिनाको गठे मंगलदेखि सुरु हुने लाखे नाच हेर्न आजभोलि उपत्यकामा पर्यटकहरुको भिडनै लाग्ने गर्दछ । हातमा भिडिओ क्यामेरा बोक्दै लाखे नाचको वरपर फोटो खिच्ने र भिडिओ क्यामेरामा लाखे नाचलाई कैद गर्न पर्यटकहरु रमाउँछन ।
नेपालमा भित्रिने धेरै पर्यटकहरु संस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने पनि गर्दछन् । नेपालमा भएका १२५ जातिहरुको आ–आफ्नै संस्कृति र संस्कार, परम्परा, रीतिरिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदि विशेषता रहेको छ ।
काठमाडाँै उपत्यका मात्र होइन नेवार जातिहरु बसोवास गरेको सहर होस् वा ग्रामीण क्षेत्रमा पनि लाखे नाच नाच्ने गरिन्छ । नेवार जातिहरु संस्कृतिका धनी छन् । उनीहरु आफ्नो संस्कृतिमा रमाउँछन् ।
नेवारहरु उपत्यकाबाट विभिन्न जिल्लामा बसाई सर्दै जादा आफूसँग भएका आफ्ना संस्कृति, रीतिरिवाज, लवाइखवाइजस्ता आफ्ना पहिचान पनि सँगै लिएर गएका थिए ।
जुन कारणले नेवारी संस्कृतिमा हुने जात्रा, नाचगान, साँस्कृतिक रीतिरिवाज उपत्यकाबाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्रायः नाच देवीदेवताका हुन्छन् ।
यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा देखाइन्छ । नवदुर्गा नाच भक्तपुरलगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ ।
हिन्दूधर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी नाचिने लाखे नाच झन्डै एक महिनासम्म नाच्ने गरिन्छ । साउन चतुर्दशीका दिनबाट सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नास गरेको दिनमा समापन हुन्छ ।
लाखे नाच नेवार जातिको संस्कृति हो । तर आजभोलि लाखेनाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो साँस्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने साँस्कृतिक उत्सव बन्दै आएको छ ।
विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रुपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ । ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टासहितको हेर्दै डरलाग्ने ख्वापा (मुखौटा) लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरु अचम्म मान्दछन् । नेवारी संस्कृतिसँग जोडिएको यो संस्कृतिको बारेमा रुचिका साथ खोज गर्दछन् ।
उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ ।
कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन् । नेपाल भाषा वंशावलीअनुसार लाखेनाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।

विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रुपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ । ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टासहितको हेर्दै डरलाग्ने ख्वापा (मुखौटा) लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरु अचम्म मान्दछन् । नेवारी संस्कृतिसँग जोडिएको यो संस्कृतिको बारेमा रुचिका साथ खोज गर्दछन् ।

लाखेनाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।
नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरु मात्र होइन पर्यटकहरु पनि रमाइलो मान्छन् । लाखेनाचसँगै झ्यालीचालाई पनि नचाइन्छ ।
कागज र प्लाष्टिकको मुखौटो लगाएका झ्यालीचा जोकरजस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेको नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालीचालाई लखेट्ने गर्छ । झ्यालीचा चाहिँ दर्शकहरुको समूहभित्र छिर्दैै लाखेलाई हायल कायल पार्दै दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ ।
काठमाडौँको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजियाः लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । इन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघि अघि मजियाः लाखे नाच्दै हिँडने प्रचलन पनि छ ।
लाखे नाचमा प्रेम प्रसंग पनि जोडिएको छ । यो किवन्दती हो सुन्दा र पढ्दा अपत्यारिलो पनि हुन सक्दछ । लाखे शब्द पनि यसै प्रसंगमा जोडिएको छ ।
कुनै कालमा उपत्यकामा नेवारी ज्यापु कृषक खेतमा काम गर्न जाँदा एकजना युवकले खेतीको काममा सहयोग गर्न आउदा रहेछन् । खेतमा काम गर्दा खाजा खाने बेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाई आफ्नो झोलाबाट ला (मासु), खेंय (अण्डा) निकालेर खाँदा रहेछन । यस्तोक्रम दैनिकी हुँदो रहेछ । नेवारी भाषामा मासुलाई ला र कुखुराको अण्डालाई खेंय भनिन्छ । ला र खेंय खाने भएर त्यसको नाम लाखेय रहन गएछ ।
कृषकको एउटी सुन्दरी छोरी रहेछ । आमाबाबु खेतमा काम गर्न नगई छोरीलाई मात्र पठाउँदा खेतमा कामको मेलो धेरै सर्दो रहेछ । लाखेंय आई खेतमा काम गर्दा गर्दै जाँदा लाखेयसँग कृषकको छोरीको प्रेम बसेछ ।
समय बित्दै जाँदै गर्दा लाखेयसित सम्बन्ध बढ्दै गएछ । टोलमा गाईगुई चलेपछि टोलका मानिसहरुले केटीको बाबुलाई यो कुरा सुनाएछन् । राति चियो गर्दा लाखेय आई छोरीसँग बसिरहेको बाबुले देखेछन् ।
त्यसपछि चिकंमुगलका राजालाई लिएर आई लाखेयलाई बाँधेछन् । लाखेयले आफ्नो यथार्थ कुरा सुनाएछ । मलाई बाँधेर नराख्नुहोला । तपाईको छोरीले नदेख्ने डोरीले मलाई बाँधिसकेको छ । तपाईहरुले बाँधेको यो डोरीलाई मैले चुडाल्न पनि सक्छु । तर तपाईको छोरीले बाँधेको डोरीलाई मैले चुडाल्न सक्दिन ।
तपाईहरुले जे–जे भन्नुहुन्छ त्यो मैले मान्छु भने पछि राजाले लाखेयको जिम्मा लिएपछि लाखेयलाई बन्धन फुकाएर सबैको बीचमा राखेछन् । त्यसपछि राजालाई म तपाईसँग डराउँछु भनेर लाखेयले भने छन् । लाखेयको कुरा सुनेर राजाले किन मसँग डराउने भन्दा जस्ले माया गर्छ, उसँग डराउनुपर्छ भनि लाखेयले भनेछ ।
त्यसो भए पहिले जस्तै यताउताका बच्चाबच्चीलाई टिप्दै खान पाउँदैनौ’ भनेर राजाले भने पछि लाखेयले हुन्छ भनेछ । हामीले अह्राएको काम पनि गर्छौ ? भनी सोध्दा त्यो पनि लाखेयले हुन्छ भनेछ ।
त्यसो भए हामीले ताली बजाउँछौ तिमी नाच भनेपछि लाखेय नाच्न थालेछ । त्यसपछि लाखेयलाई वर्षको एउटा राँगो दिने गरी लाखेयलाई घर ज्वाइँ बनाई राखे छन् । अनि टोलका बच्चाबच्चीको रखवारी र टोलको सुरक्षा गर्ने जिम्मेवारी लाखेयको भएछ । लाखेयको कार्यबाट प्रभावित भएर सबै टोलका मानिसहरु उनको प्रिय हुन गएछन् ।
त्यसबखत मजिपाटको नजिक मखन, इन्द्रचोक र त्यसको वरिपरि चण्डी र कुमार नामका दुईजना सवभक्कुहरु रहेछन् । तिनीहरुले टोलमा रहेको पोखरीमा पालिएको माछा खानुको साथै प्रत्येक दिन एकजना मानिस उनीहरुको अगाडि गएर मर्न तयार हुनुपर्दो रहेछ । समय बित्दै गयो टोलका मानिसहरुको संख्या घट्न थाल्यो । टोलका मानिसहरु सहयोगको लागि मजिपाटको लाखेय कहाँ पुगे ।
टोलबासीका कुरा सुनेपछि लाखेय एकैचोटी जोसमा आएर ल हिंड ! मलाई देखाई देओ भनि तिनीहरु सबैलाई साथमा लिई इन्द्रचोकतिर लागेछ । सवभक्कुलाई भेटेपछि मुक्कामुक्की भएछ । लाखेयले भीमसेनको रुपधारण गरी तिनीहरुलाई विष्णुमती पारी हुत्याईदिएछन् ।
त्यहाँबाट सवभक्कु भागेर हलचोकको आकाश भैरवको शरणमा पुगेछन् । आकाश भैरवले सवभक्कुलाई बायाँ हातले च्यापेर दायाँ हातको खड्ग देखाएर तिनीहरुको संरक्षण गरेछन् । त्यसपछि पनि सवभक्कुलाई देख्ने वित्तिकै लाखेयले हमला गर्न थाल्दोरहेछ ।
वाह्य पर्यटकहरुका लागि लाखेनाच नौलो हुन्छ । नेवारी संस्कृति, चाडवाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको लाखेनाचको आकर्षणले गर्दा विदेशी पर्यटकहरुले पनि रमाइलो मानी हेर्छन् ।
कतिपय पर्यटकहरु लाखेनाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन् । उपत्यकामा आठ दिनसम्म मनाइने येँयाः पुन्ही अर्थात इन्द्रजात्राको आकर्षणको रुपमा लाखेनाच रहेको छ । लाखेनाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउँदै आएको छ ।
नेवारको जात र स्थान अनुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । साधारण लाखेनाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखेनाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो लाखे निकालिँदैन ।
त्यसैले लाखे नाचको वास्तविक रमाइलो इन्द्रजात्रामा प्रत्यक्ष देख्न पाइन्छ । साधारणलाखे नाच नेपालमा उपत्यकाबाहेक नेवार जातिको बसोवास भएको ठाउँ पनि देखाउने गरिन्छ । यसरी देखाइने लाखे नाच हेर्नको लागि ग्रामीण पर्यटकसमेत जम्मा हुने र लाखेनाच हेर्ने प्रचलन छ ।
नेवाः समुदायमा चाडपर्व गथामुगःबाट शुरु भई सिथी नखः पछि अन्त हुन्छ । गथामुगः पछि गुन्हुपुन्हि अर्थात् गाईजात्राको ९ दिन मोहनी दशैं स्वन्ती वा न्हुदँ तिहार, माघे संक्रान्ति, श्रीपञ्चमी, सिलाचह्रे शिवरात्री, चैत्रदशैँ, पाँहाचह्रे नेपालीमा घोडेजात्रा, भोटोजात्रा, बुद्धजयन्ती आदि मुख्य पर्वहरु मनाउने गर्दछन् । जात्राहरु आफ्नो स्थानीय प्रचलन अनुसार अलग–अलग मनाउने गर्दछन् ।
काठमाडौँमा इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पाटनमा रातो मछिन्द्रनाथ जात्रा, भक्तपुरमा बिस्केट जात्रा, कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा आदि जात्राहरु मनाउने गर्दछन् ।
नेवार जातिको मूलथलो काठमाडौँ उपत्यका हो । उपत्यकामा रहेका नेवार जातिहरु मध्यकाल अर्थात् विसं ९३७ देखि १८२६ सम्म ब्यापार गर्नको लागि उपत्यकाबाट बाहिर बसाईसराई शुरु गरेका हुन् ।
नेवार जाति नेपालको आदिम जातिहरु मध्येमा पर्दछन् । जुन कारणले नेवार जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृतिसमेत गाँसिएको छ ।
नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवार जाति अर्थात् समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम नेपालभाषा हो । नेपालभाषा शब्दको नामाकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरुमा पाइन्छ ।
नेपाल भाषाको आफ्नै लिपिहरु रन्जना लिपि र भुजिंमोल लिपि छन् । तर पनि नेवालभाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग गरिन थालिएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेवारहरुको जनसंख्या १३ लाख २१ हजार ९३३ रहेको छ । कूल संख्याको करिब आधा जनसंख्या उपत्यकामा बसोबास गर्दछन् ।
नेपाल भ्रमणमा आउने कुल बाह्य पर्यटकहरु मध्ये बिदा मनाउन, मनोरञ्जन र यात्राका लागि आउने पर्यटकहरु बढी छन् । विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा मनाउन, मनोरञ्जन गर्न, पदयात्रा जनजातिहरुको साँस्कृतिक अध्ययन, पर्वतारोहण र तीर्थयात्रा गर्न आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here