- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारपर्यटकको हव बन्दैछ रिहार धाम

पर्यटकको हव बन्दैछ रिहार धाम

- Advertisement -spot_img

अहिले चिया होटल जाउ पर्यटन कुरा । सभा गोष्ठी र सेमिनार जाउ पर्यटनकै कुरा । अर्कोतर्फ स्थानीय तहका योजना तर्जुमाको छलफको विषय नै पर्यटन हुने गर्दछ । पर्यटन क्षेत्रको विकासको लागि यसलाई राम्रो मान्नुपर्दछ । तर हामीकहाँ भएका धेरै पर्यटकीय स्थलहरुमा पर्यटनको विकासको लागि पूर्वाधार नै छैन । अबको पर्यटनको विकास इतिहासले मात्र हुँदैन । पर्यटनको विकास गर्न भौतिक पूर्वाधारहरु आवश्यक पर्दछ ।
दाङको लमही नगरपालिकाले रिहार धाममा पर्यटनको विकास गर्न गुरुयोजना बनाएको छ । द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको स्थल रिहार धाममा अब सुन्दर पार्क, भ्यू–टावर र पर्यटकहरुलाई सुविधा दिन रिसोर्टसमेत बन्ने भएको ।
अहिलेसम्मको रिहार धामको विकास गुरुयोजना नहुँदा बालुवामा पानी हाले झै भएको थियो । धामको विकास गर्न कति रकम खर्च भयो ? त्यसको लेखाजोखा पनि थिएन । बनेका संरचनाहरुले पनि मर्मत सम्भार खोजेका छन् ।
यो गुरुयोजनाले पूर्वाधार निर्माण गरी अब रिहार धाम पर्यटकहरुको रोजाइमा पर्दछ भन्ने आशा गर्न सकिन्छ । नगरपालिकाले जुन योजना रिहार धामलाई ल्याएको छ पर्यटन विकासको लागि यो राम्रो कुरा हो ।
लमही नगरपालिका–९ मा पर्ने रिहार धाममा बगार बाबासहित भैने पशुे, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन् ।
देउखुरी रिहार धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । प्राकृतिक सौन्दर्यतामा सजिएको रिहारमा द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ ।
रिहारमा तीर्थाटनका पर्यटकहरुले बगार बाबाको पूजा गर्दछन् । बगार बाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुने तीर्थाटनका पर्यटकहरुको विश्वास छ ।
प्रत्येक वर्ष माघे संक्रान्तिको अघिल्लो दिनदेखि एक हप्तासम्म रिहार धाममा मेलासमेत लाग्ने गर्दछ । मेलामा तप्त कुण्डमा नुहाउनेहरुको भिड हुने गर्दछ । सूर्य र तप्त दुई कुण्डमा स्नान गरेर बगार बाबासँग आशीर्वाद लिन हजारौको संख्यामा भारतीय तीर्थाटनका पर्यटकहरु आउने गर्दछन् ।
रिहारलाई यदुवंशी अर्थात् यादवहरुले आफ्नो पूर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगार बाबा क्षेत्र यदुवंशीहरुको साँस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । अर्काेतर्फ रिहारमा थारु जातिहरुको पनि संस्कृति जोडिएको छ ।

थारु जातिहरुले रिहार क्षेत्रमा परापूर्व कालदेखि नै गाई चराउने, गोठ राख्ने र बगार बाबालाई पूजाआजा गर्दै आएका छन् । रिहार धाम यादव र थारु जाति दुबैको धरोहर हो । तर पनि आजभोलि सबै तीर्थाटन पर्यटकहरको लागि आस्थाको गन्तब्य बनेको छ ।
रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको किम्बदन्ती पनि छ । तर यो कुरा अध्ययनको विषय बन्न सक्दछ ।
रिहार धाममा यादव समाज सेवा संघले नेपालकै सबैभन्दा ठूलो राधा कृष्णको मन्दिर, सत्संग भवन, धर्मशाला भएको छ । लमही बजारदेखि २५ किलोमीटर पश्चिम र कोहलपुरदेखी ९० किलामिटर पूर्वमा रिहार धाम पर्दछ ।
बगारबाबाको मन्दिर राजमार्गदेखि उत्तरमा पर्दछ । कसैले बगार बाबाको मन्दिर विवाह पनि गर्ने गर्दछन् । तप्तकुण्ड बगार बाबा मन्दिरदेखि उत्तर पूर्वमा पर्दछ । यो तातो पानीको कुण्ड अर्थात् पोखरी हो । यसको पानी हिउँदमा पनि तातो हुन्छ ।
यस पोखरीमा नुहाएमा छालासम्बन्धी रोगलगायत अन्य रोग निको हुने विश्वास गर्दछन् । रिहार धाम पुग्ने पर्यटकहरुलाई अर्को घुमघाम गर्ने स्थल रिहार धामदेखि करिव २ किलोमिटर दक्षिण पश्चिममा मानव निर्मित सिउरेनी ढोरेनी ताल छ । राप्ती नदी किनारमा रहेको सिमसार क्षेत्रलाई गाउँले ताल बनाई त्यसको पानी सिंचाईको लागि प्रयोगमा ल्याएका छन् ।
ताल वरपर अन्य दुईवटा साना ताल पनि रहेको छ । करिव दश बिगाह क्षेत्रफलमा फैलिएको सिउरेनी तालमा गोहीको समेत बाससथान हुन थालेको छ । सिमसार क्षेत्र भएकाले तालमा दुर्लभ चरा चराचुरुङ्गी पनि देख्न सकिन्छ ।
तालको चारैतिर घना जंगल छ । तालबाट बाह्रै महिना पानी बगिरहने भएकोले पानी पिउन जंगली जनावर पनि आउने गर्दछन् । १४ फुट गहिराई रहेको सो तालको पानीले केउरेनी गाउँका किसानहरुले बेमौसमी तरकारी उत्पादन गर्ने गरेका छन् ।
रिहार धाम पुग्ने पर्यटकहरुलाई अर्को घुमघाम गर्ने स्थल हो भिम बाँध । रिहारबाट केही किलोमिटर पश्चिम लागेपछि जलकुण्डी भन्ने ठाउँमा पुगिन्छ । जलकुण्डीबाट पैदल १५ मिनेट दक्षिण यात्रा गरेपछि भिम बाँध पुगिन्छ । भिम बाँध ऐतिहासिक मानिन्छ ।
पाचँ पाण्डवहरु धारापानी हुँदै स्वर्गद्वारी जाने क्रममा राप्ती नदीमा त्यहि ठाउँबाट तरेका थिए । त्यहि ठाउँमा भारतले सिंचाईको लागि बाँध बनाउन लागेकोले ठाउँको नाम भिम बाँध राखिएको हो । बाँध निर्माण हुँदै गर्दा २०१५ सालमा राजा महेन्द्र जिल्लाको भ्रमण गर्ने क्रममा देउखुरी उपत्यकाको नर्तीमा आएका थिए ।
दाङका बुद्धिजीविहरुले राजा समक्ष भिम बाँधको विरोध गरेपछि बाँधको निर्माण कार्य रोकिएको हो । इतिहाससँग सरोकार राख्ने पर्यटकहरुलाई भिम बाँधको घुमघामले थप अध्ययनको विषय बन्छ ।
रिहार धाम वरपर गाउँहरुमा कृषि पर्यटकीयस्थलको विकास गर्न जरुरी छ । दाङ देउखुरी कुनै बेला तोरीको लागि प्रख्यात थियो । तोरी खेतीका लागि यहाँको हावापानी पनि अनुकूल छ । तोरी मात्र होइन धान, गहुँ, मकै पनि राम्रोसँग उत्पादन हुन्छ ।
यसका साथै पशुपालन खासगरी परम्परागत रुपमा गरिदै आएको भैंसीपालन, मौरीपालनको र आधुनिकरुपले गर्न सकिने माछापालनको प्रशस्त सम्भावना रहेको छ ।
रिहार धाम वरपर कृषिको लागि पकेट क्षेत्र मानिएको मैने गाउँ, सिउरेनी, अमिलिया, जुटपानी, रिहारडेरा, पैटे लगायतका गाउँहरु छन् । गाउँमा कृषि–पर्यटनको विकासले पर्यटनको क्षेत्र विस्तार हुन्छ । कृषिको उत्पादनले पर्यटक आकर्षण भै गाउँमा पुग्ने पर्यटकको संख्या बढछ ।
रिहार धामको पर्यटन क्षेत्रको विकास गर्न गाउँमा अर्गानिक कृषि ब्यवसाय गर्नु पर्दछ । जुनकारणले रिहार पुग्ने पर्यटकहरुलाई गाउँमा पुग्ने वातावरण बन्छ । गाउँमा पर्यटकहरुले बालीनालीको अवलोकन गर्न सकून् र त्यहाँबाट उत्पादन भएका कृषिजन्य बस्तुहरु खरिद गर्न सकून् ।
नेपालीको जीवनशैली अहिले दिन प्रतिदिन फेरिएको छ । फुर्सदको समयमा होस् वा बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भएको छ । स्कुल, कलेजले समेत आफ्ना विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका कार्यक्रम राखेका हुन्छन् । सरकारी, गैरसरकारी सघं संस्थाका कर्मचारी विविध कार्यक्रम बनाएर भ्रमणमा निस्कने अहिले फेशनजस्तै बनेको छ । पर्यटनको क्षेत्रमा जुन सकारात्मक पक्ष पनि हो ।
अब रिहार धाममा पुग्ने जुनसुकै पर्यटकहरुलाई गाउँ–गाउँका र बस्ती–बस्तीमा पु¥याउन सक्नुपर्छ । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहर बजारका मानिसहरुलाई एक दिनका लागि भए पनि हलो, कुटो, कोदालो समाएर रमाउने वातावरण तयार पारिनु पर्छ ।
पर्यटकहरलाई आफ्ना बालबच्चासँगै गाउँ र बस्तीमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउने वातावरण दिनुपर्दछ । गाउँमा पुग्ने पर्यटकले कृषकसँगै प्रत्यक्ष रुपमा कृषिसम्बन्धी कुराकानीले धेरै ज्ञान आदानप्रदान हुने गर्दछ ।
गाउँमा पुग्ने एकजना शहरीया बच्चाका लागि आफ्नै आँखाकै अगाडि भैँसीको थुनबाट दुहेको दूध पिलाउनु, काठको ठेकीमा मदानीले मन्थन गर्दै दहीबाट मही, नौनी उत्पादन गरेको देख्दा सबै पर्यटक खुशी हुन्छन् । अबको पर्यटन विकासमा यी कुराहरु पनि जोडिनु पर्दछ ।
अबको पर्यटन भनेको जती पूर्वाधारको विकास गर्न सकियो त्यत्तिनै पर्यटकको संख्या बढ्दै जाने हो । राजमार्गमा रहेको नवलपरासीको चौधरी गाउँमा हेर्नुस् त श्वास्वत धाममा आजभोलि कति तीर्थाटनका पर्यटकहरु पुग्दछन् ?

अबको पर्यटन भनेको जती पूर्वाधारको विकास गर्न सकियो त्यत्तिनै पर्यटकको संख्या बढ्दै जाने हो । राजमार्गमा रहेको नवलपरासीको चौधरी गाउँमा हेर्नुस् त श्वास्वत धाममा आजभोलि कति तीर्थाटनका पर्यटकहरु पुग्दछन् ? किनकी त्यहाँ पर्यटकहरुलाई आवश्यक सबै किसिमका पूर्वाधार बनेको छ । अर्कोतर्फ दाङकै धारापानीलाई लिदा पनि हुन्छ । पर्यटनजस्तो अति संवेदन विषयलाई सस्तो प्रचारमात्र गरेर हुँदैन । पर्यटकहरुलाई यात्रा गर्ने स्थानमा सुरक्षाको अनुभूति हुनुपर्दछ ।


किनकी त्यहाँ पर्यटकहरुलाई आवश्यक सबै किसिमका पूर्वाधार बनेको छ । अर्कोतर्फ दाङकै धारापानीलाई लिदा पनि हुन्छ । पर्यटनजस्तो अति संवेदन विषयलाई सस्तो प्रचारमात्र गरेर हुँदैन । पर्यटकहरुलाई यात्रा गर्ने स्थानमा सुरक्षाको अनुभूति हुनुपर्दछ ।
स्वास्थ्य केन्द्र र सञ्चारको सुविधा हुनु पर्दछ । बस्ने वास र खाने कुराहरु सहज रुपमा पाइने होटल लजको सुविधा पनि रिहारमा धाममा हुनुपर्दछ ।
दाङ जिल्लामा प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि हामीले त्यसलाई नचिन्दा र चिनेर पनि पूर्वाधारको विकास गर्न नसक्दा पर्यटन प्रवद्र्धनमा पछाडि परेको छ ।
ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटकीय सम्पदाको उचित संरक्षण तथा सम्वद्र्धन हुन सकेको छैन । यी कुराहरुको समयमै पहिचान भई त्यसको समूचित प्रयोग गर्न सकेको भए अहिलेसम्म दाङ देउखुरी क्षेत्रमा पर्यटनको विकासले गतिलिन सक्दथियो ।
दाङ देउखुरीमा पर्यटकीय स्थल भनेको ऐतिहासिक स्थल कोट, किल्ला, मठ मन्दिर, ताल, पोखरी र जैविक विविधता नै हो । त्यसमा पनि धेरै पर्यटकीय स्थलहरु धार्मिक क्षेत्रमा जोडिएका छन ।
पर्यटकहरुलाई थप रोमाञ्च र समय बिताउन त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुमा फन पार्कको आवश्यकता हुन्छ । रिहार धाममा पनि अब फन पार्कको अवधारणा ल्याउन पर्दछ । रिहार धाममा प्रशस्त जमिन छ । अर्कोतर्फ रिहार धाम पूर्व–पश्चिम राजमार्गमा जोडिएको छ ।
दैनिक हजारौ मानिसहरु यात्रा गर्दछन् । यात्राको क्रममा रिहार धाम पस्ने, धामको तीर्थाटन गर्ने, फन पार्क घुम्नको लागि आकर्षक स्थल बन्दछ । फन पार्कमा ठूलो तलाउ निर्माण गर्नुपर्दछ ।
जसले गर्दा फन पार्कमा पुग्ने पर्यटक अथवा अन्य मानिसहरुले पनि बोटिङको सुविधा लिन सकोस् । फन पार्कको प्रमुख विशेषता सुन्दर तलाउ बन्न सकोस् । फन पार्कमा स्लाइड, स्विमिङ, वाटर फललगायतका गतिविधि पनि देख्न सकून् ।
अर्कोतर्फ पार्कमा चिडिया घर पनि निर्माण गरियोस् । रेन्जर परम्परागत रोटे पिङजस्तै खेल फ्रिज वे घुमाउरो पिङ, कोलम्बस अर्थात् चाका–चुली खेलले बालबालिका रमाउन सकून् । फन पार्कमा स्विमिङ पुलको पनि व्यवस्था होस् । पार्कभित्रै थ्रीडी थिएटर र रेस्टुरेन्ट पनि राखियोस् । जुन कारणले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पार्कले आकर्षण गर्न सकोस् ।
पर्यटनको विकास गर्न रिहार धाम वरपरका गाउँमा होमस्टे पनि सञ्चालन गर्न पर्दछ । यादव र थारु जातीहरुको इतिहास जोडिएको धाम भएको हुँदा होमस्टे पनि यीनै समुदायबाट सञ्चालन गर्न सके राम्रो हुन्छ । अहिले पर्यटक होमस्टे सुविधा भएका गाउँ भ्रमण गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि मान्दछन् । होमस्टे साँस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो ।
जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घर–घरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ । होमस्टेले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने गर्दछ । गाउँमा स्वरोजगारका अवसरले आम्दानीका अवसरहरु वृद्धि हँुदै जान्छ ।
ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न आजभोलि पदमार्गले पनि गाउँको विकास हुने गरेको छ । रिहार धामदेखि ग्रामीण क्षेत्रमा पर्यटकहरुलाई पदमार्गमा भ्रमण गराउन सकिन्छ । त्यसको लागि कुन–कुन गाउँमा पर्यटकहरुलाई भ्रमण गराउने हो ?
पर्यटकहरुका लागि बाटो बनाइदिनु पर्दछ । पदमार्गमा विश्रामस्थल चिया नास्ताका होटल भने बन्नुपर्दछ । पदमार्गको पूर्वाधार भयो भने शहर बजारका पर्यटकहरु गाउँघरको वातावरणमा पदयात्रामा जान रुचाउँछन् ।
पदमार्ग भएका गाउँको वातावरण परिवर्तन हुँदै जान्छ । गाउँमा रहने मानिसहरुले पर्यटकहरुबाट धेरै कुरा सिक्न सक्दछन् । अबको रिहार धामको पर्यटन विकासमा पदमार्ग निर्माण गर्नुपर्दछ ।
रिहार धामामा पुग्ने तीर्थाटनका पर्यटकहरुले केहि न केही रिहार धामको चिनो स्वरुप बस्तुहरु घर लैजान चाहन्छन् । रिहार धाम क्षेत्रलाई तीर्थाटन अथवा अन्य पर्यटनको विकास गर्नको लागि स्थानीय बासिन्दाहरुमा कला र सिपको विकास हुन जरुरी छ ।
जुन सिपले आयआर्जन गर्न सकोस्, उत्पादन भएका बस्तुले रिहार धामलाई चिनाउन सकोस् । उनीहरुले उत्पादन गरेका वस्तुहरु रिहार धाममा पुग्ने तीर्थाटन पर्यटकहरुले किन्न सकून् । अनिमात्र हुन्छ रिहार धाम र गाउँमा पर्यटनको विकास । यसतर्फको सोंच पनि स्थानीय तहले बनाउन जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here