पर्खाल र गेट निर्माण

मुख्य खबर

घोराही, ५ साउन । वडा प्रहरी कार्यालय घोराहीको सुरक्षाका लागि निर्मित कम्पाउण्ड पर्खाल र गेटको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का स्थानीय तथा शिव मन्दिर टोल विकास संस्थाको लागत सहभागिता तथा सक्रियता एवं घोराही उपमहानगरको आर्थिक सहयोगमा निर्मित पर्खालको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् ।
आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित बजेटबाट पर्खाल निर्माण गरिएको समिति संयोजक तथा शिव मन्दिर टोल विकास संस्थाका अध्यक्ष राजकुमार गुप्ताले बताए । उक्त पर्खाल २०७६ जेठ ९ गते शुरु गरी असार १५ गते सम्पन्न भएकोमा उद्घाटन गरिएको हो ।
उपमहानगरबाट प्राप्त ५ लाख ४२ हजार ७ सय ९६ रुपैयाँ तथा लागत सहभागिताबाट उठेको २८ हजार ५ सय ६८ रुपैयाँ गरी कुल ५ लाख ७१ हजार ३ सय ६४ रुपैयाँबाट उक्त पर्खाल तथा गेटको निर्माण गरिएको हो ।
यसअघि पाँच दशक पुरानो माटो र काँचो इँटाले बनाइएको पर्खाल अत्यन्तै जीर्ण बन्दै गएपछि वडा प्रहरी कार्यालय तथा वडा नम्बर १४ को सक्रिय पहलमा काम सम्पन्न गर्न सम्भव भएको र उक्त कार्यमा सहयोग गर्नुहुने सबैमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक शशी शर्माले धन्यवाद दिएका थिए ।
पर्खाल र गेटको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले नागरिकका सहभागिता र क्रियाशीलताका कारण छोटो समयमा काम सम्पन्न गर्न सफल भएकोमा निर्माण समिति बधाईको पात्र भएको बताए ।
उनले हरेक विकास निर्माणमा यसैगरी उच्च सक्रियता हुनसके उपमहानगरले गर्ने हरेक काम निर्धारित समयमा सम्पन्न गर्न सकिने बताउँदै यसको सिको सबैले गर्नुपर्ने बताए ।
यसैबीच, नगर प्रमुख चौधरीले वडा प्रहरी कार्यालयमा जडान गरिएको सिसि क्यामेराको पनि उद्घाटन गरेका छन् । सिसी क्यामेराको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका चौधरीले सामाजिक सुरक्षा तथा अपराध नियन्त्रणमा जडित प्रविधिले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै उनले यसको प्रभावकारी कार्यान्वयन र दीगोपनाका लागि आवश्यक सहयोग परेमा उपमहानगर सधँै तत्पर रहेको बताए । उक्त सिसि क्यामराको वडा नम्बर १४ बाट निगरानी हुने र कार्यान्वयन वडा प्रहरी कार्यालयले गर्ने वडा अध्यक्ष शक्तिराम डाँगीले बताए ।
बजारमा बढी जोखिम र भीडभाड हुने विभिन्न सात स्थानमा जडान गरिएको सिसि क्यामराबाट निरीक्षण तथा अनुगमनमा सहजता भएको र अपराधी पक्राउमा सहयोगी बनेको प्रहरी निरीक्षक शर्माले बताए ।
वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मगर संघ ५ नम्बर प्रदेश उपाध्यक्ष सितलाल पुन, पर्खाल निर्माण समिति अध्यक्ष राजकुमार गुप्ता, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शशी शर्मालगायतले धारणा राखेका थिए ।
वडा सदस्य गुलाम रसुलले सहजीकरण गरेको कार्यक्रममा मंगलप्रसाद गिरी, ज्ञानशोभा श्रेष्ठ, शशिधर शर्मा, शालिकराम पोख्रेल, लुमाकान्त कँवर मगरलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *