परम्परागत सोंचका कारण हिंसा

विचार

जिल्लामा यतिबेला लैंगीक हिंसाविरूद्ध १६ दिने अभियान सञ्चालन भईरहेको छ । सामाजिक मूल्य मान्यताका आधारमा हुने विभेदीकरणको अन्त्यका लागि विभिन्न संघसंस्थाका सरोकारवालाहरू यो अभियानमा सक्रिय भएर लागिरहेका छन् । विशेषगरी महिलाका सवालमा काम गर्दै आएका महिला अधिकारकर्मीहरू यो अभियानमा बढी सक्रिय देखिएका छन् । पुरूषको बर्चस्व रहेको समाजले महिलाहरूमाथि विभिन्न हिंसात्मक व्यवहार देखाउँदै आएकाले उनीहरू त्यस्ता गतिविधिविरूद्ध आवाज उठाउँदै आईरहेका छन् । अरूको हक, अधिकार र सम्मानका लागि काम गर्दै आएका कतिपय महिला अधिकारकर्मीहरू स्वयम् आफू पनि हिंसा झेल्दै आएको पाइएको छ । अरूको न्यायका लागि अहोरात्र खटिएर काम गर्ने अभिकारकर्मीहरू नै हिंसामा पर्नुको मुख्य कारण के हो ? किन स्वयम् अधिकारकर्मीहरू हिंसामा पर्ने गरेका छन् ? भनेर विभिन्न क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतसँग आजको प्रदेश टुडेको टुडे राउण्ड टेबलमा कुराकानी गरेका छौं । 


शुष्मा गिरी
निवर्तमान अध्यक्ष
महिला मानवअधिकार रक्षक सञ्जाल, दाङ

हामी हिंसामा पर्नुको मुख्य कारण परम्परागत साेंच नै हो । महिला भएर पुरूषकै जसरी घर बाहिर जान मिल्दैन्, जानु हुँदैन भन्ने मानसिकता अझै पनि समाजबाट हट्न सकेको छैन । समाजको पितृसत्तात्मक सोचले हामी स्वयम् अप्ठ्यारोमा पर्ने गर्दछौँ ।
महिलाको क्षेत्रमा, मानवअधिकारको क्षेत्रमा, शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेर काम गर्नु गलत त होइन । तर समाजलाई हाम्रो काम पच्दैन । किनभने हामी महिलाहरू अरूको हकअधिकारका लागि भएपनि आवाज उठाउँदै विभिन्न संघसंस्था, विभिन्न सरोकारवाला निकायहरू समक्ष पुग्नु पर्छ ।
कहिले रात पर्छ, कहिले काम बन्दैन, कहिले अरूको गालीगलौच सुन्नुपर्छ । यस्ता विभिन्न कारणले घरपरिवारमा समेत प्रश्नहरू उठ्न थाल्छन् । समाजले औँला ठड्याउन खोज्छ । कसका लागि ?
यस्ता काम किन गर्नु ? के पाइन्छ ? को हुन् ? नचिनेकाहरूलाई किन सहयोग गर्नु ? लगायत विभिन्न प्रश्नहरूले हामीलाई दिनरात मानसिक यातना दिने गर्दछ ।
महिला भएर हक, अधिकार र न्याय प्रदान गर्न खोज्नु हाम्रो लागि निकै चुनौतीपूर्ण छ । तर समाजले हामीलाई जस्तो सुकै प्रश्नहरू गरेर यातना दिने, काममा बाधा अड्चन ल्याउन खोजेपनि हामी सबै एकजुट भएर लाग्ने छौँ । लागिरहेका छौँ । समाजलाई अहिले पनि थाहा छैन कि, आफूले पाउनुपर्ने न्याय र अधिकार अरूलाई पनि चाहिन्छ ।
त्यसैले समय–समयमा हामीमाथि विभिन्न हिंसात्मक व्यवहारहरू हुने गर्दछन् । विशेषगरी यो समस्या न्याय र अधिकारका क्षेत्रमा रहेर काम गर्ने नयाँ नयाँ दिदीबहिनीहरूमा देखिने गरेको छ । हामीले त वर्षौँ वर्षदेखि यस्ता समस्या झेल्दै आएको भएर समस्यासँग सामना गर्दै काम गर्ने बानी परिसकेको छ ।
कतिपय अवस्थामा त के हुन्छ भने हामील अन्यायमा परेका दिदीबहिनीहरूलाई यसरी न्याय पाउन सकिन्छ, तपाईहरूका लागि कानुन निर्माण भएको छ, कानुनी प्रक्रियामा गएर आफ्ना समस्या बताउन सक्नुपर्छ, हिंसा भनेको यस्तो हुन्छ भनेर सिकायौँ भने घर बिगारीदिन लागेको भन्दै आरोप लगाउनेहरू पनि छन् ।
न्याय पाउनु सबैको अधिकार हो, अरूको न्याय र अधिकारको संरक्षण गर्नु जिम्मेवारी हो भन्ने सोच्न नसक्दा विभिन्न क्षेत्रमा रहेर काम गर्ने हामी महिला अधिकारकर्मी स्वयम् यातना सहनुपर्ने अवस्था अझै पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *