तुलसीपुर, २७ साउन । दाङ सर्पदंशको जोखिममा देखिएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार विपद्को उच्च जोखिममा रहेको दाङ सर्पदंशमा पनि जोखिम रहेको देखिएको छ ।
दाङका तीन स्थानीय तह सर्पदंशको उच्च जोखिममा देखिएका छन् । केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालका अनुसार दाङको राजपुर गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिका सर्पदंशको उच्च जोखिममा छन् ।
सर्पदंशका कारण जिल्ला तीन वर्षको अवधिमा १५ जनाको मृत्यु भइसकेको छ । आर्थिक वर्ष ०७३/०७४ मा ३ जना, ०७४/०७५ मा ४ जना, ०७ ५/७६ मा ५ जना र चालु आर्थिक वर्षको हालसम्म वर्षमा तीन जनाको मृत्यु भएको छ ।
दाङका दुई स्थानीय तह सर्पदंशको मध्यम जोखिममा रहेका छन् । जिल्लाको राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको मध्यम जोखिममा रहेका छन । दाहालले खासगरी झाडी क्षेत्र, नदी आसपासका क्षेत्रमा सर्पदंशको जोखिम हुने गरेको छ ।
सर्पदंशको दाङमा ठूला भनिएका अस्पतालमा अहिले पनि सर्पदंशको उपचार नहुँदा जिल्लाका नागरिकले सर्पदंशको उपचार लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
गर्मीसँगै वर्षायाममा सर्पको बढी बिगिबिगी हुने हुँदा जोखिम तथा सबै क्षेत्रका नागरिकलाई विषेश सतर्कता अपनाउन उनले आग्रह गरे । पछिल्लो समय सर्पदंशको बिगबिगी बढ्दै गएको भन्दै घर आसपासको झाडी भए उक्त क्षेत्र खुल्ला राख्नुपर्ने, झ्याल, ढोका बन्द गरेर सुत्नुपर्ने, सम्भव भए कोठामा मट्टीतेल राख्नुपर्ने, बाहिर रातिमा हिड्दा उज्यालोबिना हिड्न नहुने उनको भनाइ छ ।
जिल्लामै छैन् सर्पदंशको उपचार
केहिदिन अघिमात्रै राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकै परिवारका २ बालिकाको निधन भएको थियो । राजपुर गाउँपालिका–७ भौवानाका शेरबहादुर सार्कीका १३ वर्षिय करिश्मा सार्की र ११ वर्षिय सुजु सार्कीलाई बिहीबार राति सर्पले टोकेपछि उपचारका लागि भारतमा लैजाँदै गर्दा बाटोमा निधन भएको छ । यसले पनि दाङ सर्पदंशको जोखिम भए पनि उपचारमा समस्या भएको देखिन्छ ।
सर्पदंशको उच्च जोखिममा रहेको दाङमा उपचार केन्द्र नहुँदा सर्पदंशका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । जिल्लाका ठूला भनिएका राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार हुने गरेपनि प्रभावकारी उपचार हुँदैनन ।
सर्पले टोकेको सामान्य उपचार हुने गरेपनि जनशक्ति अभाव र आवश्यक पूर्वाधार नहुँदा उपचार हुन नसकेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डट डाक्टर सर्वेश शर्माले बताए ।
‘हाम्रो जनशक्तिले सकेजति उपचार हुने गरेको छ, नसक्ने जिल्ला बाहिर रिफर हुने गरेको छ’ उनले भने ‘सर्पदंशको बिगबिगी बढ्दै छ, बिरामी आउने क्रम बढ्न थालेको छ’ उनले भने, ‘तर हामीकहाँ आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको छ ।’
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सर्पदंशको प्रभावकारी उपचार हुन सकेको छैन् । जसका कारण सर्पदंशका बिरामी जिल्ला बाहिर जान बाध्य छन् ।
सर्पदंशको दाङमा ठूला भनिएका अस्पतालमा अहिले पनि सर्पदंशको उपचार नहुँदा जिल्लाका नागरिकले सर्पदंशको उपचार लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
सर्पदंशको उपचार जिल्लामै नहुने भएपछि सर्पदंशका कारण अकालमै ज्यान गुमाउनुपरेको छ । ‘दाङमा सर्पको बिगबिगी बढ्न थालेको छ । तर जिल्लामा सर्पदंशको उपचार नहुँदा नागरिकले अकालमै मृत्युवरण गर्नुपर्ने बाध्यता छ’ गढवा गाउँपालिकाका–३ का रामशरण चौधरीले भने ‘दाङमा ठूला अस्पताल भन्ने मात्रै छन्, सर्पले टोक्यो भने जिल्ला बाहिर जानुपर्ने अवस्था छ ।