पत्रकार महासंघ दाङ शाखाको २६औँ स्थापना दिवस

विचार

पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघ दाङ शाखाले २६औँ स्थापना दिवस मनाउन थालेको छ । दाङ जिल्लामा २०३३ सालदेखि युगबोध पत्रिका प्रकाशनमा आए पनि त्यसबेला जिल्लामा अहिले जस्तो पत्रिकाको संख्या र रेडियो थिएन । तर पनि काठमाडौँबाट प्रकाशन हुने पत्रिकाहरुमा दाङका पत्रकारहरुले काम गर्न थालेका थिए । २०४६ सालपछि मुलुकमा पत्रकारिताको क्षेत्रमा विकास हुन थाल्यो । पत्रकारहरुको संख्या बढ्दै जाँदा २०४९ पौष १ गते जिल्लामा पत्रकारहरुको भेला भयो । त्यही भेलाबाट पौष ४ गते विधिवत रुपमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गठन भएको हो ।
शाखा गठन हुनुभन्दा पहिले पञ्चायती कालमा २०३५ मा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको अधिवेशनमा दाङबाट नारायणप्रसाद शर्मा, सुशील गौतम, शिवकुमार गौतम, श्रीधर मजगैयाँ, र लेखनाथ आचार्य सहभागी हुनुभएको थियो । त्यसपछि २०३९ र २०४३ को अधिवेशनमा पनि दाङबाट नारायणप्रसाद शर्मा र टीकाराम रेग्मी सहभागी हुनुभएको थियो भने २०४५ को अधिवेशनमा टीकाराम रेग्मीले मात्र दाङ जिल्लाबाट पत्रकार महासंघको केन्द्रीय अधिवेशनमा सहभागी हुनुभएको थियो । यसरी दाङ जिल्लामा नेपाल पत्रकार महासंघको शाखा स्थापना नहँुदा पनि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पत्रकारहरुको प्रतिनिधित्व हुँदै आएको थियो ।
नेपाल पत्रकार महासंघको वर्तमान कार्यसमिति दशौँ समिति हो । शाखा स्थापनाको संस्थापक सभापति २०४९ पौष ४ गते नारायणप्रसाद शर्मा हुनुभएको थियो । दोस्रो अधिवेशन २०५१ मा पनि नारायणप्रसाद शर्मा नै सभापति हुनुभयो । तेस्रो अधिवेशन २०५३ मा कर्णप्रखर धिताल हुनुभएको थियो भने चौथो अधिवेशन २०५६ र पाँचौ अधिवेशन २०५८ मा सुशील गौतम शाखाको सभापति हुनुभयो । छैठौ अधिवेशन २०६१ ले के.बि.मसाललाई सभापति निर्वाचित गरेको थियो । सातांै अधिवेशनदेखि शाखामा सभापतिको स्थानमा अध्यक्षको पद सिर्जना भएको हो । २०६४ सालमा भएको सातांै अधिवेशनमा प्रताप रेग्मी शाखा अध्यक्षमा निर्वाचित हुनुभयो । आठौँ अधिवेशन २०६७ मा केएल पीडित शाखा अध्यक्ष हुनुभयो भने नवांै कार्यसमितिमा २०७० को अधिवेशनबाट सुदीप गौतम शाखा अध्यक्ष हुनुभएको थियो । अहिलेको कार्यसमिति दशौँ हो । अहिले सविन प्रियासन शाखा अध्यक्ष हुनुभएको छ । महासघंको विगतलाई हेर्दा सञ्चार संस्था र पत्रकारहरुले दुःख पाएको समय पनि छ । २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश भएपछि ज्ञानेन्द्र शाहको शासन कालमा भने नेपाल पत्रकार महासंघ दाङले पनि विभिन्न दुःख खेप्नु प¥यो । तर पनि पत्रकारहरुको मनोवल घटेन झनै पत्रकारिताप्रतिको रुचि बढ्दै महासंघको परिवारको संख्या पनि बढ्दै आयो । द्वन्द्वको समयमा पत्रकारिताप्रति अझ बढी रुचि बढ्न थाल्यो । जसले गर्दा महासंघको सदस्यता क्रमशः बृद्वि हुँदै गयो । अहिले पत्रकार महासंघ दाङ शाखाको सदस्यताको संख्या दुईसय ६१ छ । जसमा महिला पत्रकारहरुको संख्या ५९ जना रहेको छ ।
दाङ शाखाको इतिहासमा सर्वप्रथम चौथो कार्यसमितिको पालामा महिला पत्रकारहरुले सदस्यता पाउनुभएको थियो । त्यसबेला सदस्यता पाउनु हुने महिला पत्रकारहरुमा लिला शाह, रेखा कुसुम र शारदा शर्मा हुनुहुन्छ । शारदा शर्मा दाङ शाखाबाट पार्षद भएर केन्द्रीय अधिवेशनमा जाने पहिलो महिला पत्रकार हुनुहुन्छ । सातांै कार्यसमितिबाट महिला सदस्य समेत कार्यसमितिमा रहनुपर्ने नेपाल पत्रकार महासघंको विधान अनुसार दाङ शाखाको इतिहासमा नै पहिलो महिला सदस्य सुशीला आचार्य हुनुभयो । त्यसपछिका समयमा शाखाको गतिविधिमा महिला पत्रकारहरुको गतिविधि सक्रिय हुन थाल्यो । आठौँ कार्यसमितिमा बसुन्धरा गौतम कोषाध्यक्ष र नवौँ कार्यसमितिमा आएर उपाध्यक्ष पदमा लक्ष्मी आचार्य हुनुभयो भने दशौँ अधिवेशनबाट लिला शाह उपाध्यक्ष हुनुभएको छ । पछिल्लो समयमा महासंघमा महिला विभागको गठनसमेत भएको छ । महासंघ दाङको २६ वर्षलाई फर्केर हेर्दा यसले विभिन्न कठिनाइ भोग्दै आएको छ । आफ्नो भवन नहँुदा भाडामा लिएको कोठाका कार्यालय सञ्चालनदेखि औपचारिक कार्यक्रम सञ्चालन गरेका दिनहरु सम्झिदा अहिले अत्यास लाग्ने गर्दछ । पाँचौ कार्यसमितिमा भवन बनाउने कुरा छलफलमा आउँदा कतिपय समितिभित्रकै साथीहरुले भवन बन्ने कुरामा समेत विश्वास नगरेको तीतो अनुभव पनि महासंघसँग छ । छैठौ कार्यसमितिको समयमा जिल्ला हुलाक दाङसँग जमिन उपलब्ध गराएर भवन निर्माणको शुरुवात गरी अहिलेको भवन साताँै कार्यसमितिले सम्पन्न गरेको हो । नवौं कार्यसमितिले पुनः हुलाकसँग समन्वय गरी कम्पाउण्ड लगाउने काम सम्पन्न गरेको छ । यो पुराना कुराको सम्झनाले भवन निर्माण कार्यमा जो जसले सहयोग गर्नुभएको छ सबै धन्यवादका पात्र बन्नुभएको छ । आफ्नो भवन भएपछि अहिले महासंघलाई धेरै सजिलो भएको छ ।

पत्रकारहरुको छाता संगठन हुँदाहुँदै विचारको आधारमा अर्को संगठनमा आवद्व हुनुको कारणले पनि यो भागबण्डाको सुरुवात भएको मानिन्छ । महासंघको चौथो कार्यसमितिबाट सुरुवात गरिएको चौथो अंग प्रकाशन, दशैँ मिलन कार्यक्रम नियमित हुन सकेको छैन । यसतर्फ यो कार्यसमितिले सोच्नुपर्ने भएको छ । महासंघ दाङको परिवारमा अहिले कलम चलाउनेभन्दा नचलाउनेको संख्या बढेको छ भन्दा पनि हुन्छ । केही सदस्यहरु निस्कृय भएर बस्न थाल्नुभएको छ । आफ्नो सदस्यता नवीकरण गर्न पनि कर लगाउनु पर्ने यो नमिठो प्रचलन सुरु भएको छ ।


पत्रकार महासंघमा अहिले दर्जनांै संख्यामा पुरस्कारहरु स्थापना भएका छन् । पत्रकारहरुको छाता संगठनमा पछिल्ला दिनहरुमा सदस्यता अर्थात परिवारको संख्या धेरै बढेको छ । यसभित्र केही कमी कमजोरी पनि देखिन थालेको छ । पुरस्कार प्रदान गर्दा भागबण्डाको प्रथा बढेको छ । यसलाई सुधार गर्नुपर्ने देखिन्छ । पत्रकारहरुको छाता संगठन हँुदाहँुदै विचारको आधारमा अर्को संगठनमा आवद्व हुनुको कारणले पनि यो भागबण्डाको सुरुवात भएको मानिन्छ । महासंघको चौथो कार्यसमितिबाट सुरुवात गरिएको चौथो अंग प्रकाशन, दशैँ मिलन कार्यक्रम नियमित हुन सकेको छैन । यसतर्फ यो कार्यसमितिले सोच्नुपर्ने भएको छ । महासंघ दाङको परिवारमा अहिले कलम चलाउनेभन्दा नचलाउनेको संख्या बढेको छ भन्दा पनि हुन्छ । केही सदस्यहरु निष्कृय भएर बस्न थाल्नुभएको छ । आफ्नो सदस्यता नवीकरण गर्न पनि कर लगाउनु पर्ने यो नमिठो प्रचलन सुरु भएको छ ।

२०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछि नेपालमा पत्रपत्रिका प्रकाशनमा सजिलो हुँदै आयो । जसका कारणले गर्दा दाङमा सञ्चार गृहको संख्या बढ्न थाल्यो । अहिले दाङमा १५ वटा एफएम रेडियो प्रसारणमा छन् । छवटा दैनिक पत्रिका र चारवटा साप्ताहिक पत्रिकाहरु नियमित प्रकाशन हुँदै आएका छन् । सञ्चार संस्था बढ्दै गए पनि पत्रकारितामा पेशामा लाग्नेहरु आफ्नो श्रमको आधारमा बाँच्ने अवस्था छैन भन्दा पनि हुन्छ । पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको बारेमा समय–समयमा आवाज उठाउँदै पनि आएको छ । तर पनि श्रमजीवी पत्रकारहरको समस्या यथावत नै छ ।
०६२ र ०६३ को आन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एफएम रेडियो र पत्रिका प्रकाशनमा बाढी नै आए पनि थुप्रै पत्रिकाहरु प्रकाशन हुने र बन्द हुने क्रम पनि बढ्दो छ । खोजी पत्रकारिताको कमी भएको छ । जिल्लाभित्रका खोजी समाचार सञ्चार माध्यममा आउन सकेका छैनन् । एफएम रेडियो र अनलाइन समाचारलाई आधार बनाएर तयार पारिएका कतिपय समाचारले पत्रिकाहरु भरिएका हुन्छन् । पत्रिका व्यावसायिक हुन नसक्नु नै यसको मुख्य कारण हो । दक्ष जनशक्तिको अभाव, स्रोत साधनको कमी, आधुुनिक प्रविधि तथा पत्रकारिताको मान्यतालाई आत्मसात गर्न नसक्नु, पुरानै ढंगबाट काम गर्ने प्रविधिजस्ता कुराले वर्तमान अवस्थाको समस्या खेप्नु परेको हो ।
पछिल्लो समय सञ्चार संस्थाहरु राजनीतिबाट अछुतो रहन नसक्नु र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघमा पनि राजनीतिक भागबण्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन सकेको छैन । तर पनि सञ्चार संस्थाका केही कमीकमजोरीका बाबजुद नेपाल पत्रकार महासंघले सधै प्रेस र अभिब्यक्ति स्वतन्त्रता पेशागत हकहितका सवालमा नेपाली सञ्चारकर्मीहरुको साझा सर्वोच्च छाता संगठनको रुपमा काम गर्दै आएको छ । देशको आर्थिक उन्नतिमा सञ्चार संस्था एक उद्योगको हैसियतले गरेको योगदानको मूल्याङ्कन भने भइसकेको छैन । तर पनि सामाजिक, साँस्कृतिक र राजनीतिक जीवनमा भने सञ्चारको प्रभाव स्थापित भइसकेको छ । अझैसम्म पनि ग्रामीण पत्रकारितामा सञ्चार संस्थाहरुले उचित स्थान दिन सकिरहेको देखिदैन । त्यसैले गर्दा अबको पत्रकारिताले ग्रामीण पत्रकारिताको क्षेत्रमा चासो दिन जरुरी देखिन्छ ।  राजनीतिक परिवर्तनले अहिले नेपालमा युद्ध र संकटकाल पनि छैन । हिजोको अवस्थामा युद्धमा लागेका दलहरुले पनि बहुदलियता र प्रेस स्वतन्त्रतालाई स्वीकार गरिसकेको अवस्था छ । ती दलहरु समेत सरकारमा पुगेका छन् । वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको विरोधी भनेको अधिनायकवादी, अपराधी र आतंकवादी मात्र रहेका छन् । पत्रकारहरुको हकहितका लागि आवाज तथा प्रेस स्वतन्त्रताको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको सुनिश्चितताका लागि दवाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रेस सबैको लागि आवश्यक पर्दछ । विना प्रेसको मुलुक कल्पना पनि गर्न सकिन्न । राज्यका तीन अंगहरु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई झन प्रेस नभै नहुने माध्यम हो । आवाजविहीनको आवाज मात्र होइन राजनीतिक दलहरुको आवाज पनि जनता र सरकार समक्ष पु¥याउने काम पनि प्रेसको नै हो । तर प्रेसको आवाज भने राज्य सञ्चालन गर्ने दलहरुले सुन्ने परिपाटीको विकास अझै पनि नेपालमा हुन सकेन । प्रेस स्वतन्त्रताको लागि लामो यात्रामा लागेका सञ्चारकर्मीहरुको आवाज सुन्ने र उनीहरुको मागप्रति संवेदनशील हुनुको सट्टा दलहरुको संरक्षणमा गुण्डागर्दी प्रवृत्तिलाई प्रयोगमा ल्याएर हुने गरेको प्रेसप्रतिको दमन अबका दिनमा सञ्चारकर्मीहरुले सहन सक्ने छैनन् । स्वदेशी उत्पादनको कमीले अहिले देशमा महंगीले सबैलाई आतंकित बनाएको छ । महंगीको चपेटामा सबै सञ्चारकर्मीहरुलाई पनि छोएको छ । कतिपय पत्रकारहरु अहिले पनि श्रमको मूल्य पाउन सकेका छैनन् । मासिक तलब पाउने पत्रकारहरुले पनि उसँग आश्रित परिवारको लालनपालन गर्नलाई पुग्ने अवस्था छैन । कतिपय पत्रकारहरुको श्रमको मूल्य मात्र होइन कामको पनि कुनै ग्यारेन्टी छैन । विना नियुक्ति काममा लगाइएको छ । काम छाडेको दिन उसको दिनचर्चा सडकमा हुन्छ । दाङमा व्यावसायिक पत्रकारिताको सुरुवात भएदेखि नै श्रमजीवि पत्रकारहरु संलग्न हुँदै आएका छन् । पत्रकारिताको विकाससँगै यस पेशामा संलग्न भएर बाच्ने श्रमजीवि पत्रकारहरुको संख्या पनि बढेको छ । श्रमजीवि पत्रकारसम्बन्धी कानुन बनेपछि कतिपय सञ्चार संस्थाहरुले न्यूनतम पारिश्रमिक एवं सेवा सुविधा दिन थालेको पाइन्छ । तर अझै पनि अधिकांश श्रमजीवि पत्रकारहरुले आफ्नो श्रमको मूल्य पाउन नसकेको अवस्था छ । सञ्चार संस्थामा काम गर्ने आम श्रमजीवि पत्रकारहरुको अवस्था सन्तोषजनक छैन । अधिकांश श्रमजीवि पत्रकारहरुले अझै पनि नियुक्तिपत्र पाएका छैनन्् । नियुक्तिपत्र पाएका श्रमजीवि पत्रकारहरुमध्ये पनि अधिकांश करारमा नियुक्त छन् । एकपटक करारमा नियुक्ति दिएपछि करार नवीकरण नगराई निरन्तर काम गराइरहेको अवस्था पनि छ । सूचना विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र लिनका लागि नियुक्तिपत्रको व्यवस्था अनिवार्य गरिए पनि श्रमजीवि पत्रकारलाई दिइएको नियुक्तिपत्रको प्रयोजन त्यही प्रमाणपत्र लिनमा मात्र सीमित भएको छ ।
सञ्चार संस्थाहरुले कानुनको प्रयोगमा बेवास्ता गरिएको अवस्थामा श्रमजीवि पत्रकारहरुले पनि सञ्चार संस्थाको सेवाबाट स्वेच्छिक अवकास लिदा तीन महिनाको अग्रीम सूचना दिनुपर्ने कानुनी दायित्व सामान्यतः पालना गरेको पाइदैन । श्रमजीवि पत्रकारहरुले आफ्नो दक्षता र योग्यताका आधारमा कानुनबमोजिमको नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकको दाबी प्रस्तुत गर्न नसकेका कारणले पनि यस्तो अवस्था विकास हुनमा प्रोत्साहन मिलेको देखिन्छ । सञ्चार संस्था दर्ता हुने र केही समयपछि बन्द हुने क्रम पनि कमी छैन । सञ्चालन भइरहेको अवस्थामा पनि तोकिएको न्यूनतम पारिश्रमिकसमेत अधिकांश श्रमजीवी पत्रकारहरुले समयमै पाएका छैनन् भन्दा पनि हुन्छ । यसैको परिणामस्वरुप शैक्षिक योग्यता, व्यावसायिक दक्षता र अनुभव भए पनि अधिकांश श्रमजीवि पत्रकारहरुले जीवनयापनसम्म नहुने गरी अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेका पाइन्छ । श्रमजीवी पत्रकारहरुको काम गर्ने समय र हाजिरी तथा बिदासम्बन्धी व्यवस्था एक दुई बाहेकका सञ्चार संस्थामा लागू भएको छैन । यसले गर्दा पत्रकारिता पेशा अवलम्वन गरे पनि जीवनयापनका लागि वैकल्पिक पेसामा संलग्न हुनुपर्ने बाध्यता छ । सीप विकासका लागि संशोधित कानुनले स्पष्ट व्यवस्था गरे पनि राज्य र सञ्चार संस्था दुबै पक्षले चासो दिएको पाइदैन । ऐनमा भएको परिभाषाले स्पष्ट रुपमा पत्रिकाको व्यवस्थापकीय र प्रकाशकीय अधिकार भएको व्यक्तिलाई श्रमजीवी पत्रकार मानेको छैन । कतिपय सम्पादकहरु प्रकाशन एवं व्यवस्थापनको जिम्मेवारी पनि आफैले लिएर काम गर्नैपर्ने अवस्था छ । तिनै पत्रकारहरु राजधानीबाट प्रकाशित हुने अखबारका संवाददातासमेत भएका छन् । यो स्थापना दिवसले जिल्ला भरका सञ्चारकर्मीहरुलाई एक हुने पाठ सिकाओस् । २६औँ स्थापना दिवसको अवसरमा यही शुभ कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *