न्युजिल्यान्ड विश्वकपको फाइनलमा

खेलकुद मुख्य खबर

दाङ, २५ असार । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । विश्वकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।
न्युजिल्यान्डले दिएको दुई सय ४० रनको लक्ष्य पछ्याएको भारतले आफ्नो खेलमा सुधार गर्न नसके पछि १८ रनले पराजित भएको हो । खराव सुरुवात गरेको भारत ४९.३ ओभरमा दुई सय २१ रनमा अलआउट भयो । भारतले पाँच रनमा तीन विकेट गुमाएको थियो ।
प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली व्यक्तिगत एक÷एक रनमा पेभेलियन फर्किएका थिए । त्यसपछि दिनेश कार्तिक पनि व्यक्तिगत ६ रनमा आउट भएपछि भारत पूर्ण दबाबमा परेको थियो ।
रिषभ पन्त र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै टोलीलाई केही आस दिलाए पनि जित असम्भव भयो । पन्त २४औं ओभरमा ३२ रन बनाउँदै पेभेलियन फर्किए । पाण्ड्या पनि ३२ रनमै आउट भए ।
त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले एक सय १६ रनको साझेदारी गरेका थिए । जडेजाले ७७ रनको अर्धशतकीय पाली खेले । उनले ५९ बलमा चार छक्का र चार चौका हाले । धोनीले पनि ७२ बलमा ५० रन बनाए । ४८.३ ओभरमा धोनी रन आउट भएपछि भारतको सम्भावना गुमेको थियो ।
खेलमा न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए । यसैगरी मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले दुई÷दुई तथा लुकी फर्गुसन र जेम्स निसामले एक÷एक विकेट लिएका थिए । न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन् । मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए ।
यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पाली अगाडि बढाए । उनीहरुले ६५ रनको साझेदारी गरेका थिए । विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले । उनले ९५ बलमा ६ चौका हानेका थिए ।
न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेट गुमाएर दुई सय ११ रन बनाएको अवस्थामा पानी पर्न थालेपछि खेल रोकिएको थियो । खेल रोकिदा रस टेलर ६७ रनमा अविजित थिए ।
सोही अवस्थाबाट बुधबार खेल सुरु हुँदा न्युजिल्यान्डले बाँकी २३ बलमा २८ रन बनाउँदै तीन विकेट गुमाएको थियो । न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल बनाएको थियो ।
अघिल्लो दिन ६७ रनमा अविजित रहेका टेलर ७४ रनमा पेभेलियन फर्किए । उनी रवीन्द्र जडेजाबाट रनआउट भएका थिए । न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोमले १६, जेम्स निसामले १२ र टम लाथमले १० रन बनाए ।
भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए । यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एक÷एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *