तुलसीपुर, ३० मंसिर । हिंसा पीडितलाई न्यायीक संवेदनशीलतामा जोड दिने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । आइतबार तुलसीपुरमा न्यायीक निकायमा लैंगीक संवेदनशीलता विषयक अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाले हिंसामा परेका पीडितलाई संवेदनशीलतासँगै जतिसक्दो छिटो न्याय प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सहभागीहरूले अहिले पनि पीडितलाई न्याय छिटोछरितो हुन नसकिरहेको भन्दै संवेदनशीलता हेरेर न्याय प्रदान गरिनुपर्ने बताएका छन् । पीडितलाई न्यायमा ढिलाइ हुँदा विभिन्न घटनाहरू हुने गरेको भन्दै सहभागीले पीडितलाई छिटोछरितो न्याय प्रदान गरिनुपर्ने बताएका छन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्बर पालले प्रहरी प्रशासनले हिंसा प्रभावितलाई न्यायका लागि नागरिकको सहयोग आवश्यक रहेको बताए । पीडित अहिले पनि खुलेर प्रहरीमा आउन नसक्ने अवस्था रहेको भन्दै उनले पीडित प्रहरीसम्म आउन सकेमात्रै उसले न्याय पाउने बताए ।
शान्तिनगर गाउँपालिकाका न्यायीक समिति संयोजक मिथिला शाह, दंगीशरण गाउँपालिकाका न्यायीक समिति संयोजक पिमा खड्का, तुलसीपुर उपमहानगरपालिका न्यायीक समिति सदस्य जानका रेग्मी, यमुना परियारलगायतले न्यायीक समितिमा हिंसाका पीडित न्यायका लागि आउने क्रम बढेको भन्दै उनीहरूको संवेदनशीलतामा ख्याल गरी न्याय प्रदान गरिहरेको बताए ।
न्यायीक समितिमा अहिले महिला हिंसाका घटना बढ्दै गएको भन्दै पीडितलाई न्याय दिने सवालमा आफूहरूलाई चुनौति भएपनि छिटोछरितो न्यायका लागि प्रयासरत रहेको उनीहरूको भनाइ थियो ।
सहभागीले समाजमा महिला पुरूषको विभेद कायमै रहेको भन्दै उनीहरूले महिला भएकै नाममा विभिन्न हिंसा भोग्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको बताए । न्यायीक समिति न्याय सम्पादनमा गर्नेक्रममा अधिकांश घरेलु हिंसाका, जबरजस्ती करणी र वदैशिक रोजगारका समस्या न्यायीक समितिसम्म आउने गरेका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको अन्तरक्रियामा ओरेकका जिल्ला संयोजक ईश्वरी थापा, कार्यक्रम अधिकृत दिपा धिताल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका राधा भट्टराईले पीडितले स–सम्मान न्याय पाउने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए ।
महिला मानवअधिकार रक्षक सञ्जालका सचिव पद्मा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य युवा करारा, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ का सल्लाहकार प्रतिमा शर्मा, सेन्टर माविका अध्यक्ष लेखराम पौडेल, सिडका भागिराम चौधरी लगायतले हिंसामुक्त समाज निर्माणका लागि आफू र आफ्नो परिवारबाटै शुरूवात गर्नुपर्नेमा जोड दिइन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल र महिला पुनस्र्थापना केन्द्र ओरेकको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण महिला मानवअधिकारकर्मी शुष्मा गिरीले गरेकी थिइन् ।