नेपाललाई रिजन क्रिकेटको उपाधि

खेलकुद मुख्य खबर

दाङ, २४ असार । हङकङमाथि ६ विकेटको जित निकाल्दै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । सागर ढकाल र पवन सराफको उत्कृष्ट प्रदर्शनमा हङकङविरुद्ध सहज जित निकाल्दै नेपालले उपाधि जितेको हो । इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
९६ रनको सामान्य लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाउन नेपालका पवन सराफले सर्वाधिक ३९ रन बनाए । ३६ बलको सामना गरेका पवनले मोहम्मद हसनको बलमा एलबिडब्लु शिकार हुनुअघि ५ चौका र १ छक्का प्रहार गरेका थिए ।
रित गौतम १३ रनमा पवेलियन फर्किंदा खड्कबहादुर बोहराले ८ रन बनाए । १४ बल खेलेका रितले २ चौका प्रहार गरेका थिए । रित मोहम्मह हसन खानको बलमा बोल्ड हुँदा खडक रौनक कपुरको बलमा नसरुल्ला रानामार्फत क्याच भए ।
कप्तान रोहित कुमार पौडेलले १२ रन बनाए । १० बल खेलेका उनी रौनक कपुरको बलमा नसरुल्ला रानामार्फत नै क्याच भए । भीम सार्की ७ रनमा अविजित रहे । हङकङका रौनक कपुरले २ विकेट लिदा मोहम्मद हसन खान र मोहम्मद हसनले १–१ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको थियो । नेपालका सागर ढकाल र कमलसिंह ऐरीको उत्कृष्ट बलिङमा ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
अदित गोरवाराले २४ रन बनाउँदा कलहन मार्क चल्लुले १९ रन जोडेका थिए । रौनक कपुरले १२ रन बनाउँदा ओपनर नसरुल्ला राना खाता नै नखोली पवेलियन फर्किए । राहुल शर्मा र आरुष भगवत पनि शून्य रनमा नै आउट भए ।
मोहम्मद हसन खानले ३ रन बनाउँदा मेहरनले ४ रन बनाएका थिए । यस्तै मोहम्मद हसनले ९ रन जोड्दा अब्दुलले ७ रन बनाए । विकास शर्मा विना रन नै पवेलियन फर्किएका थिए ।
नेपालका सागर ढकालले सर्वाधिक ५ विकेट लिदा कमलसिंह ऐरीको नाममा ३ विकेट तथा तिलकराज भण्डारीले १ विकेट लिएका थिए । नेपाल आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले सिंगापुरलाई पराजित गरेको थियो ।
उपाधिसँगै यू–१९ एसिया कपमा छनोट नेपालले अब टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कप २८ अगस्टबाट श्रीलंकामा सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *