नेपालका पर्यटकीय स्थल क्यानाडाका सिटी बसमा

फिचर मुख्य खबर

दाङ, २४ भदौ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गर्दै क्यानाडाका सिटी बसमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरु राखी प्रचार–प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा उक्त अभियान थालिएको हो ।
मिसिसागाकाका दशवटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाललगायतका पर्यटकीय गन्तव्यस्थलहरु राखिएका छन् ।
दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटनलगायतका सहरमा यसरी प्रचारप्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताए । शनिबार क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटी बसल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटी बसको प्रचारप्रसारले नेपाल भ्रमण वर्षलाई सघाउ पु¥याउने बताए ।
आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने बताउँदै उनले अरु क्यानाडीयन पर्यटकहरुलाई पनि नेपाल जान आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्च, टिपिएन नेपाल, गोइङ्ग नेपाल, एभिन्यूज खबर सुदूरपश्चिम प्रदेश ब्यूरो कार्यालयको सहकार्यमा यसरी पर्यटन प्रवद्र्धनको प्रचार प्रसार सुरु गरिएको हो ।
क्यानाडाका सार्वजनिक बसमा भिजिट नेपालको लोगोसहित सुन्दर पर्यकीय स्थलहरुको फोटो देख्दा क्यानेडियन नागरिकहरु नेपालका बारेमा सोध्न थालेका छन् ।
क्यानाडामा रहेका गैरआवासीय नेपालीहरुले यो अभियानको प्रशंसा गरेका छन् । विश्वमा नेपाल चिनाउने अभियान्ताका रुपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रुपमा करिव १६ लाख बढी रुपैयाँ खर्चेर यो अभियान थालेका हुन् ।
क्यानाडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सबैलाई अनुरोध गरेका छन् । प्रचारप्रसारका लागि क्यानाडा पुगेका एभिन्यूज खबरका सुदूरपश्चिम प्रदेश प्रमुख हिक्मत रावलले क्यानडामा थालिएको प्रचारले क्यानेडिन तथा अमेरिकी नागरिकलाई नेपाल आउन लोभ्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *