नेकपाको जिल्ला कमिटी सार्वजनिक

मुख्य खबर

घोराही, १० बैशाख । नेपाल कम्युनिस्ट पार्टी दाङको अध्यक्षमा टीकाराम खड्का चयन भएका छन् । पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीको पार्टी एकीकरणको लामो विवादपछि दाङमा खड्कालाई अध्यक्षमा चयन गरिएको हो ।
खड्का पूर्व एमालेको जिल्ला अध्यक्षको रुपमा जिम्मेवारी समालेका थिए । पार्टीको शीर्ष नेतृङ्खवले नै पूर्व एमालेका जिल्ला अध्यक्षलाई नेकपाको अध्यक्षको जिम्मेवारी दिने र पूर्व नेकपा माओवादीलाई सचिवमा जिम्मेवारी दिने निर्णय गरेपछि पार्टीभित्रको विवाद पनि अन्त्य भएको छ ।
यसअघि नेकपा प्रदेश नम्बर ५ ले पूर्व एमालेका जिल्ला अध्यक्ष खड्काको नाम नै सिफारिस गरेको थिएन । त्यसकारण पनि पार्टीभित्र झनै विवाद चुलिएको थियो । दाङमा पूर्व एमालेलाई अध्यक्ष दिने सहमति पार्टी एकीकरणको समयमा भएको थियो ।
त्यस्तै नेकपाको जिल्ला सचिवमा पूर्व माओवादीका सुवास पुन चयन भएका छन् । पुन पूर्व नेकपा माओवादीका जिल्ला अध्यक्ष थिए । यसअघि जिल्लाका कमिटीका अन्य सदस्यहरु साविक एमाले र माओवादी मिलाएर यसअघि नै गठन भइसकेको थियो ।
पूर्व एमालेबाट ८५ जना र पूर्व माओवादीबाट ६६ जना गरी १५१ सदस्य जिल्ला कमिटी यसअघि नै चयन गरिएको थियो । अध्यक्ष र सचिवको समेत टुङ्गो लागेपछि नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी दाङको सदस्य संख्या १५३ पुगेको छ ।
नेकपाका जिल्ला अध्यक्षमा चुनिएका खड्काले पार्टीको विधि र पद्धतिको जित भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो निर्णयले पार्टी एकतालाई तल्लो तहबाटै मजबुत बनाउने भूमिका खेल्ने उनको भनाइ छ । अध्यक्ष खड्काले पूर्व माओवादी र एमालेलाई मिलाएर अगाडि बढ्न चुनौति पूर्ण रहेपनि आफू सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *