नीति तथा कार्यक्रमका लागि सुझाव

मुख्य खबर

तुलसीपुर, २१ जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने विषयका उपमहानगरपालिकालाई प्रतिवेदन पेस गरेको छ । उपमहानगरपालिकाले केही समय अगाडि आयोजना गरेको पूर्व बजेट योजना तथा तर्जुमा गोष्ठीमा उठेका सवालहरु समेटेर तयार पारिएको प्रतिवेदन संयोजक नहकुल केसीले नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक केसीले युवाहरुलाई उद्यमशीलता बढाउने, आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने क्षेत्र, क्रमागत रुपमा रहेका पूर्वाधार विकास तथा अन्य आयोजनाहरु, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने कार्यक्रमहरु समावेश गर्ने सुझाव समेटेको जानकारी दिए ।
उनले जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय जनताको श्रम र सीपका साथै साझेदारीमा सहभागिता जुट्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नसके छिटो विकास र समृद्धिको यात्रा पूरा हुने बताए ।
जनताका बीचमा सुरक्षित आवास, सुत्केरी भत्ता वितरण, ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगायतका कार्यक्रम निकै प्रभावकारी भएकाले त्यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत जानकारी दिए ।
प्रतिवेदन बुझ्दै नगर प्रमुख घनश्याम पाण्डेले प्राप्त सुझावहरुलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गरिने बताए ।
‘जनताका आवश्यकताहरुलाई पहिचान गरेर प्राथमिकतामा राखिने छ’ नगरप्रमुख पाण्डेले आश्वस्त पारे । तुलसीपुरलाई नमुना बनाउनका लागि प्रतिवेदन लेखन समितिमा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्री, महिला मानवअधिकारकर्मी शुष्मा गिरी, कुन्ता भण्डारी र सदस्य सचिवमा प्रेस संयोजक बसन्त आचार्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *