घोराही, २६ चैत । नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चूडामणि शर्मा कट्टेलले निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग गरेका छन् । नेपाल निवृत्त शिक्षक समाज दाङको घोराहीमा आयोजित १५औं जिल्ला परिषद् तथा हाम्रो चिनारी स्मारिका विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कट्टेलले जंगी, निजामती जस्तै शिक्षकहरुका लागि पनि अस्पतालको माग गरे ।
उनले सके निजामती अस्पतालबाटै समाहित गरेर सेवा दिनुपर्ने नभए छुट्टै अस्पताल निर्माणका लागि सरकारलाई आग्रह गरे । जीवनका सबै उर्जा समाजका लागि खर्चिएका शिक्षकहरुले निवृत्त अवस्थामा उपचार सेवा र कम्तीमा ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गर्न माग गरे ।
उक्त अवसरमा केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर सिंह ओली, महासचिव ईश्वरबहादुर श्रेष्ठले निवृत्त शिक्षकहरुका माग सम्बोधन गर्न निरन्तर लागि परेको जानकारी दिए । समाजका जिल्ला अध्यक्ष लालमणि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले निवृत्त शिक्षकहरुको माग पूरा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै गिरिराज शर्मा, पुरुषोत्तम खनाल, यज्ञबहादुर सिंह ओली, नवराज रजौरे, लालमणि न्यौपाने, मालिका पन्त, राजेन्द्रप्रसाद चौधरी, डिल्लीराज खनाल, दुर्गाप्रसाद अधिकारी, भगिरथ उपाध्याय, धनेश्वर गौतम, गणेश रेग्मी, खेमराज अधिकारी, केशरीप्रसाद अधिकारी, भुपेन्द्र पौडेल र कृष्ण डाँगीलाई सम्मान गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यतासमेत वितरण गरिएको थियो भने समाजले मुखपत्रका रुपमा प्रकाशन गरेको हाम्रो चिनारीको विमोचन गरिएको थियो ।