निर्णय कार्यान्वयनमा सकस

फिचर मुख्य खबर

तुलसीपुर, २१ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को जहदागाउँ ग्वारखोला पुलको उत्तर–दक्षिणमा अतिक्रमित सरकारी जग्गा फिर्ता गराउन सकस देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक ग्राम घोषणा गरेको करिब २ सय बिगाह क्षेत्रफलको जग्गामा धमाधम घर टहरा निर्माण हुन थालेपनि जग्गा फिर्ता गराउन कुनै पहल नदेखिएको हो ।
सुकुम्बासीका नाममा खाली जग्गामा घर टहरा निर्माण हुने क्रम बढेपनि स्थानीय सरकार जग्गा फिर्ता गराउन मौन बसेको छ । ग्वारखोलाको नवनिर्मित पुलको पूर्व छेउमा रहेको सरकारी जग्गा अतिक्रमण हुन थालेपनि जनप्रतिनिधि मौन रहेको स्थानीयले आरोप लगाएका छन् ।
उपमहानगरपालिकाले औद्योगिक क्षेत्र घोषण गरिसकेको करिब २ सय बिगाह क्षेत्रफल जग्गा अतिक्रमण गरेर ६/७ वटा टहरा निर्माण भइसकेको स्थानीय मुक्तबहादुर बिसीले बताए । ‘सरकारी जग्गामा धमाधम घर टहरा निर्माण भइरहेको छ, तर जनप्रतिनिधि अहिलेसम्म बेखबर बनेका छन्’ उनले भने– ‘भोट गुमाउने डरले पनि होला सायद, जनप्रतिनिधिले जग्गा फिर्ताका लागि कुनै पहल गरेका छैनन् ।’
बैशाख १९ गते कार्यपालिकाको बैठकबाट उक्त क्षेत्रलाई तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक ग्राम बनाउने निर्णय भएको थियो । औद्योगिक क्षेत्र बनाउनका लागि उपमहानगरपालिकाले अतिक्रमित जग्गा फिर्ता गर्ने घोषणा गरेसँगै झनै जग्गा अतिक्रमण हुन थालेको स्थानीयको भनाइ छ । सरकारी जग्गामा घर टहरा निर्माण हुने क्रम बढेपनि अतिक्रमित जग्गा फिर्ता गराउन जनप्रतिनिधिहरू मौन बसेको स्थानीयले आरोप लगाएका छन् ।
उनीहरूले तुलसीपुर उपमहानगरपालिकाले अतिक्रमित जग्गा फिर्ता गराउन थालेको पहल अहिलेसम्म शून्य रहेको बताएका छन् । ‘जग्गा अतिक्रमण भए नभएको बारेमा जनप्रतिनिधिहरूले यसअघि आउनुभएको थियो, तर अहिलेसम्म कुनै पहल भएको छैन्’ एक स्थानीय बलबहादुर बिसीले भने–‘खै किन हो स्थानीय सरकारले अतिक्रमित जग्गा फिर्ता गराउन कुनै पहल नै थालेको छैन् ।’
जनप्रतिनिधिहरू भोट गुमाउने डरमा अतिक्रमित सरकारी जग्गा फिर्ता गराउन असफल देखिएको उनले बताए । ‘सरकारी जग्गामा घरजग्गा बनाउँदै किनबेच पनि भइरहेको छ’ उनले भने–‘जनप्रतिनिधिहरूको कुनै ठोस कदम हुन सकेको छैन् ।’
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष भूपबहादुर केसीले उपमहानरपालिकाको करिब २ सय विगाह क्षेत्रमा घर टहरा निर्माण हुने क्रममा रहेको स्विकार गरे । ‘हामीले पनि घर टहरा निर्माण भइरहेको देखिरहेका छौँ, सुकुम्बासीका नाममा घर टहरा निर्माण हुने क्रम बढेको छ’ उनले भने– ‘जग्गा फिर्ता गराउन छलफलमै छौँ, हामी जग्गा फिर्ता गराएरै छोड्छौँ ।’
अतिक्रमित सरकारी जग्गा फिर्ता गराउन कुनै पहल नै भएको छैन् त भन्न नमिल्ने उनको प्रतिक्रिया छ । ‘घरजग्गा नभएको भन्नेहरूले जग्गा अतिक्रमण गरेका छन्, जग्गाका दलालहरूले अतिक्रमण गरेका हुन्, छानबिनकै क्रममा छौँ’ उनले भने– ‘सरकारी सम्पत्तिमाथि भएको दुरूपयोग हामी रोक्ने नै छौँ ।’
तुलसीपुर उपमहानगरपालिका प्रवक्ता सूर्यबहादुर डाँगी ‘श्याम’ले उपमहानगरपालिकाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित वडाका वडा अध्यक्षसँग छलफल गरिरहेको बताए । ‘जग्गा अतिक्रमण हुन दिन्नौँ वडा अध्यक्ष ज्यूसँग पनि छलफल गरिरहेका छौँ’ उनले भने–‘सुकुम्बासी हुन कि हुकुमबासी हुन पहिचान गर्ने नै छौँ ।’
उनले उपमहानगरपालिकाभित्र सरकारी जग्गा अतिक्रमण गरेर बनाएका सम्पूर्ण घर टहरा हटाउने समेत दाबी गरे । ‘उपमहानगरको सरकारी जग्गा अतिक्रमण गरेर कसैले पनि घर टहरा निर्माण गर्ने छैन’ उनले भने–‘सकुम्बासी भएपनि जो भएपनि औद्योगिक क्षेत्रमा भएको अतिक्रमण तत्काल फिर्ता गराउन हाम्रो पहल जारी नै छ ।’
नगरप्रमुख घनश्याम पाण्डेले शुक्रबार वडा अध्यक्ष र सम्बन्धित व्यक्तिसँग छलफल भएको बताए । ‘अतिक्रमित जग्गाको बारेमा हामी गम्भीर छौँ, सकेसम्म बल प्रयोग गर्न नपरोस् भन्ने हाम्रो चाहना हो, त्यसकै लागि अतिक्रमण गर्ने व्यक्तिलाई सम्झाएका छौँ’ उनले भने– ‘यदि कुनै कारणवस उहाँहरूले मान्नुभएन भनेपनि हामी बल प्रयोग गरेर भएपनि जग्गा फिर्ता नै गर्छौँ ।’
उपमहानगरपालिकाले यसअघि बनेका घर टहरा हटाउन कार्तिक २१ गतेसम्मको म्याद दिएको थियो तर मंसिर महिना सकिनै लाग्दा पनि कुनै पहल नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । स्थानीयको गौचरणको रूपमा रहेको जग्गा दिनदिनै अतिक्रमण हुन थालेपछि स्थानीयले तत्काल अतिक्रमित जग्गा फिर्ताका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
उनीहरूले अझै पनि स्थानीय सरकार मौन रहे आफूहरू प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । भोट गुमाउने डरले पनि स्थानीय नेतृत्वले कडा कदम चाल्न नसकेको उनीहरूको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *