घोराही, ३१ असार ।
सँगै बाँँच्ने सँगै मर्ने जीवनमा सँगै सहयात्रा गर्नका लागि श्रीमान श्रीमतीको वैवाहिक जीवनको शुरुवात हुन्छ । सुखदुःखमा एकअर्कामा साथ दिदैँ परेका समस्यालाई समाधान गर्नेगरी वैवाहिक जीवनको शुरुवात हुन्छ । यस्तै सँगै जीउने बाचा गरी बाग्लुङको जयमिने नगरपालिका–५ का निरमाया पुन र प्रेमबहादुर पुनबीच करिब दुई दशक अघि वैवाहिक जीवनमा सँगै बाँधिए ।
विवाह बन्धनमा बाँधिएको करिब १० वर्षसम्म निरमाया र प्रेमबीचको सम्बन्ध निकै राम्रो थियो । श्रीमान् प्रेमबहादुर भारतीय प्रहरीमा कार्यरत र श्रीमती निरमायाले घरको धन्दामा व्यस्त रहन यसरी नै वैवाहिक जीवन सुखमय चलिरहेको थियो ।
तर करिब एक दशकपछि निरमायालाई श्रीमानले कमाएको पैसा नदिने र बिरामी पर्दा पनि सहयोग नगर्नेलगायतका हर्कत गर्न थाले । तैपनि निरमायाले हरेस खाएनिन् । आफ्नो दैनिकी जसरी भएपनि चलाउँदै गईन् । यसबीचमा श्रीमानले कान्छी श्रीमती ल्याए । त्यसपछि निरमायाको जीवनमा बज्रपात शुरुभयो ।
श्रीमानले कान्छी श्रीमती विहे गरेपछि बहुविवाह जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता पनि गरिन् । मुद्दाको फैसला पर्खिरहेको समयमा निरमायालाई दाङको जिल्ला अदालतले दाङको साविक हासीपुरको दिपक घर्तीसँग विहे भनेर फैसला गरेको कागज आयो र निरमायालाई झन फेरी बज्रपात शुरु भयो । त्यसपछि अहिले न्यायको माग गर्दै निरमाया दाङ आइपुगेकी छन् ।
अदालतले आफ्नो मानहानी गरेको भन्दै बाग्लुङकी निरमाया पुन दाङ आएकी हुन् । निरमायाले शनिबार घोराहीमा पत्रकार सम्मलेन गरी दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् । पत्रकार सम्मेलनमा बाग्लुङको जयमिने नगरपालिका–५ का निरमायाले दाङ देउखुरी जिल्ला अदालतले गरेको फैसलाले आफ्नो व्यक्तिगत जीवनमा मानहानी गरेको बताइन् ।
श्रीमान प्रेमबहादुर पुनले कान्छी श्रीमती भित्र्याएपछि आफूले बाग्लुङ जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गरेको बताउँदै उनले श्रीमानले थाहै नदिई दाङको साविक हासीपुरको दिपक घर्तीसँग विहे गरेको कागज बनाई दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र न्यायाधिसको मिलेमतोमा फैसला भएको बताइन् ।
दिपकको श्रीमती चेता घर्ती मगरले दर्ता गरेको उक्त मुद्दा दाङ देउखुरी जिल्ला अदालतका तत्कालीन न्यायाधीस चुरामन खड्काको एकल इजलासले आफूलाई दिपकको कान्छी श्रीमती भनेर २०७४ जेठ २९ गते फैसला गरेपछि अन्यायमा परेको उनले बताइन् । एक छोरा र एक छोरीको सन्तानकी आमा निरमायाले आफूले न्याय पाउनुपर्ने माग गर्दै २०७४ साउन १६ गते उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।
दाङ देउखुरी जिल्ला अदालतको फैसलाले आफ्नो व्यक्तिगत जीवनमा मानहानी भएको र गाली बेइजती भएको भन्दै उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेको बताइन् । मुद्दा दर्ता गरेको करिब एक वर्ष पुग्न लाग्दासमेत अझै पनि विचाराधिन अवस्थामै रहेका कारण आफूले न्याय पाउने आशा हराउन थालेको उनले बताइन् । अदालतले गरेको फैसला खारेजी र मानहानीको क्षतिपूर्तिको माग गर्दै महिनौँ बितिसक्दा समेत निरमायाले क्षतिपूर्ति पाउन सकेकी छैनिन् ।