निजी विद्यालयको शिक्षामा लगानी सह्रानीय

फिचर मुख्य खबर

देउखुरी डायरी
देउखुरी, ३ चैत । भारतीय नागरिकलाई तलब दिने ग्यारेन्टी गरेर नेपाल ल्याई अध्यापन र अध्ययन गराएको स्मरण गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य रेवती रमण शर्माले शिक्षा क्षेत्रमा निजी विद्यालयको लगानी सह्रानीय भएको बताएका छन् । शिक्षा, स्वास्थ्य सञ्चारजस्ता कुराहरु जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले यस्ता महङ्खवपूर्ण कुरालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको सभासद शर्माले बताए ।
देशमा डिग्री गरेर बेरोजगार बसेका युवायुवतीलाई रोजगारमुखी बनाएको भन्दै राज्यले निजी विद्यालयहरुलाई पनि समान ब्यवहार गर्नुपर्ने उनको भनाई छ । एनप्याब्सन दाङ देउखुरीले आयोजना गरेको वृहत निजी विद्यालय अभिभावक तालिमको लमहीमा उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका शर्माले शैक्षिक क्षेत्रको विकासमा निजी क्षेत्रको लगानीले ठूलो क्षेत्र ओगटेको भन्दै सरकार र निजी क्षेत्रको बीचमा सहकार्य अनिवार्य हुनुपर्ने बताए । देउखुरी क्षेत्रमा रहेका ११ वटा निजी विद्यालयका करिब १५ अभिभावकलाई तालिम प्रदान गरिएको हो ।
विद्यार्थीको भविष्य सुधार गर्ने दायित्व अभिभावको हातमा रहेको भन्दै अभिभावकलाई जागरुक बनाउन तालिम प्रदान गरिएको छ । नेपाल राष्ट्रिय अभिभावक संघ प्रदेश नम्बर ५ निजी विद्यालय संयोजक तथा एनप्याब्सनका कार्यक्रम संयोजक भूमाण्डव केसीको अध्यक्षता एवं प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मनोविद् रविन कट्वालले प्रशिक्षण दिएका थिए । मुवारक अलिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भानु जोशीले गरेका थिए ।

दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी, ३ चैत । देउखुरीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुईजनाको भएको छ भने दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवामा पश्चिमतर्फ आईरहेको रा ३ प ८४१७ नम्बरको मोटरसाईकलले एकै दिशातर्फ आउँदै गरेको साईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ५ निवासी ४४ बर्षीय पिताम्वर गोराथोकीको उपचारका क्रममा लमहीमा राति ११ बजेतिर मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
मोटरसाईकल चालक लमही ४ निवासी ३० बर्षीय रामअवतार चौधरीको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ । त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ चोकमा शुक्रबार साँझ ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा २ प ६०२६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा घाइते भएका लमही–३ बनगाउँ निवासी ६० बर्षीय जयमंगल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते चौधरीलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको अस्पतालमा चौधरीको शुक्रबार राति पौने १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उक्त दुर्घटनामा चौधरीकी पत्नी ५० बर्षीया छुनिया चौधरी र मोटरसाईकल चालक लमही ५ कोलही निवासी ३२ बर्षीय राजकुमार चौधरी पनि घाइते भएका छन् ।

शिक्षक संगठनको प्रथम नगरपरिषद्

देउखुरी, ३ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन लमही नगरको प्रथम नगरपरिषद् शनिबार लमहीमा सम्पन्न भएको छ । नगर अध्यक्ष शेरबहादुर डाँगीको अध्यक्षता एवं प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा नगरपरिषद् भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य शर्माले शिक्षकले विद्यालय, विद्यार्थी र अभिभावकको विश्वास जितेर पठनपाठन अघि बढाउनुपर्ने बताए । समाज रुपान्तरणमा शिक्षकहरुको भूमिका अतुलनीय रहेको भन्दै सभासद शर्माले शिक्षकहरुमा राजनीतिक चेतना हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत, चुनबहादुर केसी, दिलबहादुर कुमाल, डिल्लीराम चौधरीलगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव रामप्रसाद खनाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष द्रोणप्रसाद पोख्रेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेवा निवृत्त आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शशिधर ज्ञवाली, आधारभूत विद्यालय मजगाउँका पूर्व प्रधानाध्यापक तुल्सीराम अधिकारीलाई सम्मान गरिएको थियो । दिपेन्द्र बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद खनालले गरेका थिए ।

किसानलाई प्लाष्टिक वितरण

देउखुरी, ३ चैत । लमही नगपालिका कृषि शाखा कार्यालयले लमही नगरपालिका क्षेत्रभित्र बेमौसमी तरकारी खेती गर्ने ५० प्रतिशत अनुदानमा २५ जना कृषकहरुलाई प्लाष्टिक वितरण गरेको छ ।
लमही नगरपालिका कृषि विकास उपशाखाको आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बेमौसमी तरकारी खेतीको लागि टनेल निर्माणमा प्लाष्टिक ५० प्रतिशत अनुदान र बगर खेती प्रवद्र्धनका लागि निःशुल्क स्प्रेयर र हजारी कृषकहरुलाई वितरण गरेको हो ।
लमही नगरपालिका क्षेत्रभित्र रहेका २५ जना बेमौसमी तरकारी खेती गर्ने कृषकहरुलाई टनेल निर्माणमा प्लाष्टिक ५० प्रतिशत अनुदान वितरण र लमही नगरपालिका क्षेत्रभित्र रहेका बगर खेती गर्ने ५९ जना कृषकहरुलाई बगर खेती प्रवद्र्धनका लागि दुई लाख बराबरको निःशुल्क स्प्रेयर र हजारी कृषि सामाग्री वितरण गरिएको लमही नगरपालिका कृषि शाखा प्रविधिक गंगा चौधरीले जानकारी दिइन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *