नयाँ बजेट

सम्पादकीय

सरकारले आउँदो वर्षको लागि बजेट सार्जजनिक गरेको छ । राज्यले जेठ १५ गते नयाँ बजेट ल्याउने नीति अनुसार बुधबार आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्वजनिक गरेपछि नयाँ बजेटले नयाँ तरङ्ग ल्याएको छ ।
दुई तिहाई बहुमतको सरकारले ल्याएको यस वर्षको बजेट अरु वर्षको भन्दा लोकप्रिय देखिएको छ । महत्वाकांक्षी योजनादेखि कर्मचारीको तलब र बृद्धबृद्धाको भत्ता बृद्धिले निर्वाचनको प्रतिवद्धता केही हदसम्म पूरा भएको देखाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले गत चालु वर्षको बजेट सार्वजनिक हुँदा केही आलोचना खेपेका थिए । तर आउँदो वर्षको बजेटले थोरै आलोचना भए भनि धेरै प्रशंसा बटुलेको छ ।
चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रूपैयाँको बजेट प्रस्तुत भएको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रूपैयाँ अर्थात् ११ प्रतिशत बजेट विनियोजन हुँदा अहिलेसम्मकै उच्च बजेट देखिएको छ ।
बजेटले धेरै महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । प्रदेशमा दुईवटा जलविद्युत आयोजनादेखि सबै नागरिकको स्वास्थ्य विमा र बैंक खाता सञ्चालन गर्ने र आयस्तर बढाउनेसम्मका योजनाले यस वर्षको बजेटले राम्रा र सकारात्मकता सिर्जना गरेको छ ।
विशेषगरेर कर्मचारीलाई बजेटले बढी आकर्षण गराएको छ । लोकप्रिय बजेट र बजेटमा देखिएका लोकप्रिय नारा र विषयलाई कार्यान्वयन गर्नसके मात्रै बजेटले सार्थकता पाउने छ । यसतर्फ सरकार क्रियाशील नै हुनेछ ।
चालु आर्थिक वर्षमा ४४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । त्यो अवस्था आउँदो वर्ष आउन दिनुहुँदैन । कम्तिमा पूर्णरूपमा बजेट कार्यान्वयन गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्ने योजनाले दाङलाई केही उत्साह थपेको छ । भर्खरै मात्र सञ्चालनमा आएको एयरपोर्टलाई विस्तार गर्ने र स्तरोन्नती गर्ने योजना स्वागतयोग्य छ ।
दाङमा सिंचाई सुविधाको लागि रोल्पाको माडीको पानी ल्याउन सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गर्नु जिल्लाको लागि राम्रो हो । दुई वर्षभित्रै विस्तृत अध्ययन सकेर काम गर्ने गरी डाइभर्सनको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन भएको छ ।
ढिलै भए पनि दाङका बाढीपीडितको घर पुनर्निर्माणमा समेत बजेटको व्यवस्थापन भएको देखिदा पीडितहरुलाई समेत राहतको महसुस भएको पक्कै छ । यस अर्थमा पनि नयाँ बजेट खास र महत्वपूर्ण भएको मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *