नगरस्तरीय परीक्षाको तयारी पूरा

मुख्य खबर समाज

तुलसीपुर, २८ फागुन । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ८ को नगरस्तरीय परीक्षाको तयारी पूरा भएको छ । शिक्षा महाशाखा तुलसीपुरले कार्यक्रमको आयोजना गरेर परीक्षाको तयारी पूरा भएको जानकारी गराएको हो ।
शिक्षा महाशाखा तुलसीपुरले गराएको जानकारी अनुसार यस क्षेत्रका १६ वटा विद्यालयमा केन्द्र रहेका छन् । ‘परीक्षा हुने केन्द्रहरु सबै सामुदायिक विद्यालय मै रहेको छ’ शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले बताए ।
उनले यो वर्षबाट होम सेन्टर हटाएको पनि जानकारी दिए । चैत्र १ गतेबाट हुने परीक्षामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८५ विद्यालयका ३ हजार ९ सय ९२ विद्यार्थीहरु सहभागी हुने परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले जानकारी दिए । उनले विद्यार्थीलाई पायक पर्ने गरी केन्द्र निर्धारण गरिएको समेत बताए ।
यसैबीच शिक्षा महाशाखाले नगरस्तरीय परीक्षाको सन्दर्भ पारेर केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परिवेक्षक, जनप्रतिनिधि कार्यपालिका सदस्यका बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमको अध्यक्षता एवं प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा परीक्षालाई मर्यादित र अनुशासित बनाउनका लागि सबैले भूमिका खेल्नुपर्ने कुराका बारेमा प्रमुख अतिथि सारुले जोड दिए ।
‘विद्यार्थीमा पढेपछि मात्रै पास हुन सकिन्छ भन्ने धारणाको विकास गराउने गरी परीक्षालाई मर्यादित बनाउनुपर्दछ’ सारुले बताए । त्यस्तै नगर प्रवक्ता सूर्यबहादुर डाँगीले विद्यार्थीहरुलाई भयरहित वातावरणमा परीक्षा गर्न सक्ने वातावरण तय गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यसैगरी शिक्षा समिति संयोजक देवराज विकले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै होम सेन्टरको अवधारणालाई यस पटकबाट अन्त्य गरिएको बताए । कार्यक्रमको सहजीकरण परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *