नगरपालिकाको सेवा वडाबाट

फिचर मुख्य खबर समाज

देउखुरी, १५ माघ । नगरपालिकाभित्रका साना ठूला गरेर चार सय ४९ विकासे योजनाबाहेक हालसम्म ६५ वटा मात्र योजना सम्झौता भएको लमही नगरपालिकाले जनाएको छ । जसमध्ये १५ वटा योजानाको काम सम्पन्न भएर पनि रकम भुक्तानी भैसकेको नगरपालिकाले बताएको छ । विकासका योजनाहरु पुस महिनाभित्र सम्झौता गरिसक्नु पर्ने भए पनि निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु आउन नसकेका कारण ढिलाइ भएको योजना शाखाकी निर्मला श्रेष्ठले बताइन् । सम्झौता गर्न ढिलाइ गरेका समितिहरुलाई पटक–पटक सूचना गरे पनि उनीहरु नआएकोले ढिलाइ भएको हो । सम्झौता गर्नुपर्ने समयमा नगरेर असारको महिना लागेपछि आउने गरेकोले कार्य सम्पादनमा समस्या हुने गर्दछ श्रेष्ठले भनिन् । यसैबीच लमही नगरपालिकाले सोमबार वडा नम्बर ९ मै पुगेर योजनाहरुको सम्झौता गरेको छ । दूरीका हिसाबले नगरपालिकाभन्दा पनि टाढा रहेकोले र योजनामा बसेका समितिहरुलाई अनावश्यक दुःख नहोस् भनेर हामीले वडाबाटै यो सेवा दिएका हौँ, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले भने ।
वडाबाटै योजनाको सम्झौता हुने भएपछि सोमबार वडा कार्यालयमा भिडभाड भएको थियो । सोमबार मात्र वडा नम्बर ९ बाट २४ वटा योजना सम्झौता भएका छन् । वडा मै सम्झौता गर्न नगरपालिकाको टोली पुगेपछि समयको पनि बचत हुने, गाडी भाडा पनि थोरै लाग्ने भएपछि वडामा सम्झौता गर्न पुगेका धेरैजसो उपभोक्ता समितिका मानिसहरु खुशी भएका थिए । स्थानीय सरकार सञ्चालन ऐनमा वडाबाट यस्ता प्रकारका सेवा दिनुपर्ने उल्लेख गरे पनि सम्बन्धित फाँटमा काम गर्ने कर्मचारी नभएकोले नगरपालिकामा धाउनुपर्ने बाध्यता भएको अधिकृत डाँगीले बताए । एक लाखको बजेट परेको छ, बाटोको लागि जेहोस् नगरपालिका धाउनु परेन खुशी लागेको छ वडा नम्बर ९ हर्दवाका नेक बहादुर चौधरीले भने । त्यस्तै वडाबाट एक लाखको बाटो निर्माण भनेर बजेट विनियोजन भएको थियो, सम्झौता नगरेरै मंसिरमा कम सम्पन्न भइसेको छ सोमबार सम्झौता गर्न आएका उपभोक्ता समितिका अध्यक्ष हरिराम चौधरीले भने । वडा नम्बर ९ मा चालु आर्थिक बर्षमा लक्षित वर्ग र नेपाल सरकारअन्तर्गत आन्तरिक स्रोतबाहेक ४८ योजना छनौटमा परेका छन् । वडाबाट छनौट भएका योजनामध्ये हालसम्म ३३ वटा विकासका योजना सम्झौता भै सकेको वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *