धुलो नियन्त्रण गर्न छलफल

मुख्य खबर राजनीति समाज

घोराही, १४ जेठ ।
घोराही मुर्कुटी सडक खण्डको धुलो नियन्त्रणका विषयमा सोमबार बंगलाचुली गाउँपालिकामा सर्वपक्षीय छलफल भएको छ । घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ओसार्न चल्ने टिप्परले सडक खण्डमा अत्याधिक धुलो उत्पन्न गरेको भन्दै बंगलाचुली गाउँपालिकाले यसको समाधानका लागि सर्वपक्षीय छलफलको आयोजना गरेको हो । छलफलले घोराही सिमेन्ट उद्योगको कच्चा पदार्थ ओसारपसारका क्रममा उत्पन्न धुलो प्रदूषण नियन्त्रणका लागि घोराही तापा सडकमा तत्काल लोडर ग्रेडर प्रयोग गरी ग्राभेल गर्ने, धुलो प्रभावित बस्तीहरुमा पानी चार्ने काम यथावत राख्ने निणर्य गरेको छ ।
यसैबीच छलफलले उद्योग स्थापनाका क्रममा प्रभावित क्षेत्रका स्थानीय र उद्योगबीच भएका सहमतिहरु कार्यान्वयन गर्नका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष नारायण डाँगी, घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डे, वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर सार्की, घोराही सिमेन्ट उद्योगका प्रतिनिधि, टिप्पर व्यबसायी समितिका तर्फबाट बसन्त अधिकारी, धुलो प्रभावितका तर्फबाट टेकबहादुुर थापा र सदस्य सचिवमा पत्रकार एवं बंगलाचुली गाउँपालिकाका प्रेस संयोजक जीवन नेपाली रहेका छन् ।
धुलो प्रभावित क्षेत्रका स्थानीयहरुले धुलोका कारण आफूहरुको स्वाथ्यमा गम्भीर असर पर्ने भन्दै यसको समाधानका लागि विभिन्न चरणमा आन्दोलन हुँदै आएको थियो । जसको दीर्घकालिन समाधानका लागि सोमबार छलफल भएको हो । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *