धारामा धमिलो पानी

फिचर मुख्य खबर समाज

शान्तिनगर, २२ जेठ । पश्चिम दाङको शान्तिनगर–१ खिलतपुरकी हिरा वलीले गत आइतबारदेखि धारामा धमिलो र फोहर पानी आउन थालेपछि धाराको पानी प्रयोग गर्न छाडेकी छन् ।
धारामा धमिलो पानी आउन थालेपछि उनीलाई खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता भएको छ । उनीमात्र नभई यहाँका प्रायः महिलाहरु खोलाको पानीलाई पिउने पानीका रुपमा प्रयोग गर्दै आएका छन् ।
यस्तै आफूहरुले नियमित पिउँदै आएको धाराको पानी सफा नभएपछि च्याडि खोलाको पानी प्रयोग गर्दै आएको स्थानीय दुजी घर्तीले बताईन् । उनले दुखेसो पोख्दै भनिन््–धाराको पानी प्रयोग गर्न नमिल्ने गरी धमिलो फोहर आउँछ, खोलाको भए पनि पानी लिन बाध्य छौँ ।
बढ्दो गर्मीसँगै कामको चाप, वेफुर्सदिलो समयमै पानीको समस्या हुँदा लामो दूरीमा रहेको खोलाको पानी पिउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेको धारामा धमिलो फोहर पानी आउन थालेपछि अहिले उपभोक्तालाई पानीको समस्या परेको हो । खानेपानी मुहान नजिक डोजरले बाटो खन्दा अहिले यस्तो समस्या देखापरेको स्थानीयको भनाइ छ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा मात्र नभई बबई गाउँपािलका वडा नं. ६ का स्थानीयले प्रयोग गर्ने धारामा धमिलो फोहर पानी आएपछि उनीहरु खानेपानीको समस्यामा परेका हुन्  ।
खानेपानीको समस्याले उपभोक्ता समस्यामा पर्दा समेत पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सम्बन्धित सरोकारवालाले कुनै चासो नदिएको उपभोक्ताहरू बताउँछन् ।
वर्षेनी यसरी नै खानेपानीको अभावका कारण आफूलाई निकै समस्या पर्ने गरेको स्थानीय ओम प्रकाश डाँगीले बताए । अध्यक्ष र समितिका केही पदाधिकारीले यो पानी प्रयोग नगरेर अन्यत्रको पानी प्रयोग गर्ने भएकाले यसप्रति उनीहरूले चासो नदिएको डाँगीले आरोप लगाए ।
शुद्ध खानेपानी नहुँदा अहिले गाउँपालिकाका विभिन्न वडाका स्थानीयबासीहरु समस्यामा पर्दै आएको उनीहरु बताउँछन् । स्थानीय छवि वलीले भने ‘नजिक खोला भएकाहरू खोला जान्छन्,
खोला नजिक नभएकाहरू धमिलो फोहर पानी भए पनि पिउन बाध्य छन्, यसले गर्दा महामारी झाडापखाला र हैजा फैलने खतरा छ । गत वर्ष वर्षातको समस्या खानेपानीकै कारण गाउँपालिकामा झाडापखालाका फैलिएको स्मरण गर्दै वलीले पानीको समस्याले अहिले पनि यो रोग पुनः लाग्न सक्ने डर नागरिकहरुमा छाईरहेको बताए ।
मोटरबाटो खनेको माटो पानीले बगाएर मुलमा ल्याउँदा यस्तो समस्या आएको शान्तिनगर गाउँपालिका वडा नं १ अध्यक्ष जंगबहादुर पुनले बताए ।
खोनपानीको मुहान संरक्षण भएको छैन, वर्षाैदेखि यस्तै समस्या देखिदै आएको छ, अध्यक्ष पुनले भने ‘संरक्षण गर्ने प्रयासमा छाँै, मुहानदेखि तल पानी शुद्धिकरण गर्ने ट्यांकी निर्माणको काम भइरहेको छ ।
उपभोक्ताले प्रयोग गर्दै आएको धारामा केही दिनसम्म धमिलो पानी धारामा आएको भएपनि मंगलबारदेखि सफा पानी आएको पुनको दावी छ । यस्तै स्थानीयबासीहरूले भने मंगलबार पनि धमिलो फोहर पानी आएको बताउँछन् । स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मोटरबाटो खनेर माटो फालेको उनीहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *