धान खेतीमा रोगको प्रकोप

मुख्य खबर समाज

घोराही, २० भदौ । दाङमा एक हजार ९५ हेक्टर धान खेती हुने योग्य जमिन बाझो रहेको छ । दाङमा धान खेती हुने खेतीयोग्य जमिनमध्ये एक हजार ९८ हेक्टर खेतीयोग्य जमिन बाझो रहेको घोराही उपमहानगरपालिका कृषि शाखाले जनाएको छ । दाङमा कुल ६९ हजार ९ सय ५० हेक्टर खेतमा धान खेतीका लागि योग्य मानिन्छ । त्यसमा एक हजार भन्दा बढी खेत जिल्लामा बाझो छ । जिल्लाका स्थानीय तहहरुमा बुझ्दा दाङमा यो वर्ष पाँच प्रतिशत बाँझो खेत रहेको घोरहीका कृषि शाखाका प्रमुख भरत पोख्रेलले जानकारी दिए । समयमा पानी नपर्नु, बढ्दो वैदेशिक रोजगारका कारण युवा जनशक्ति विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाझो रहेको उनले बताए । त्यस्तै खेतीयोग्यमा जमिनमा प्लटिङ गर्ने र बढ्दो सहरीकरणको कारण पनि पछिल्लो समयमा खेतीयोग्य जमिन घट्दै गईरहेको छ । जनशक्ति अभाव, परम्परागत खेती र बढ्दो मंहगीले खेतीयोग्य जमिन विस्तारै घरघडेरीमा प्लटिङ बन्दै गएको छ । कुल धान खेती हुने क्षेत्रफलको पाँच प्रतिशत मात्रै यस वर्ष खेत बाझो देखिएको उनले बताए । उनका अनुसार गत वर्ष तीन प्रतिशत धान खेती हुने योग्य खेत बाझो थियो । यो वर्ष दुई प्रतिशतले बाझोखेत बढेको उनले बताए । कृषिमा राज्यले प्रभावकारी लगानी गर्न नसक्दा वर्षेनी खेतीयोग्य जमिन बाझो बन्दै र उत्पादन घट्दै जान थालेको छ । ‘बर्षेनी खेतमा बाझो दर बढ्दै छ, उत्पादन पनि घट्दै छ’ उनले भने ‘जमिनको क्षेत्रफल घटेपनि उत्पादकत्व बढेकाले खाद्यान्न अभाव हुँदैन् ।’ ढिला वर्षातका कारण पनि खेत बाझो रहने मुख्य समस्या देखिएको उनले बताए । ‘समयमै पानी पर्दैन्, अव्यवस्थित जग्गा प्लटिङका कारण पानीको श्रोत घट्दै गएको छ’ उनले भने यो पनि एउटा समस्या हो । धान बालीमा जिल्लामा विभिन्न रोग देखापर्न थालेको छ । ढिलो समयमा धानको बिऊ रोपिएको खेतमा प्रकोप देखिन थालेको हो । रोपाई सकिएसँगै धानहरुमा विभिन्न प्रकृतिका रोग किराको समस्या देखापरेको घोराही उपमहानगरपालिका–१३ का कृषक हरिलाल चौधरीले बताए । ढिलो वर्षाका कारण छिपिएको धानको बिऊ खेतमा रोप्दा प्रकोप देखिन थालेको उनले बताए । धानको बिऊमा पहेंलो हुँदै गएको, छिर्केबिर्के जस्तो देखिदै गएको उनले बताए । ‘धानको बिऊमा रोग देखिन् थालेको छ’ उनले भने ‘त्यसको लागि कृषि कार्यालयमा बुझन् आएको हुँ ।’ हिजो आज घोराही उपमहानगरपालिकामा रहेको कृषि शाखामा धान खेतमा रोग देखिन् थालेको भन्दै गुनासो लिएर कृषकहरु आउने थालेका छन् । ‘धान खेतीमा प्रकोपको महामारी नभएपनि फाटफुट रुपमा कृषकहरु समस्या लिएर आउने गरेको कृषि शाखा प्रमुख पोख्रेलले बताए । ‘धानको पातमा खैरा, पात डरुवा र बोरल नामक रोग किराको प्रकोप देखिन्छ’ उनले भने’ उनले भने त्यो धानको पात जाँच गरेपछि मात्रै रोग पत्ता लाग्छ । शुरुमा धान पातहरु मर्ने, धान डर्ने, गुवी कुहिने र किराले पातहरु खाने समस्या विगतको वर्षहरुमा पनि देखिएको थियो । जिङ्क तत्व र वातावरण असरका धानमा यस्तो प्रकोप देखापरेको उनले बताए ।
धानको पातमा कुनै पनि समस्या देखिए शुरुमा नै प्रकोप नियन्त्रण लिनुपर्ने उनले बताए । धानमा कुनै पनि समस्या देखापरे स्थानीय तहको कृषि शाखा जानकारी गराउन वा प्राविधिकहरुलाई चेकजाँच गराई समस्याको समाधान गर्न सकिने उनले बताए । जिल्लाका पूर्वी क्षेत्र देउखुरी, धर्ना, डुरुवा, विजौरी, मानपुर, टरिगाउँ, हेकुली, श्रीगाउँ, पंचकुलेलगायतका क्षेत्रका धान बालीहरुमा यस्तो समस्या बढी देखापरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *