तुलसीपुर, १२ असार । शान्तिनगर गाउँपालिका–६ मा रहेको धनौरी स्वास्थ्य चौकीको बिहीबार सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य चौकीको सेवालाई थप प्रभावकारीरुपमा लैजाने र स्वास्थ्य चौकीको सेवा सुविधाका बारेमा सामाजिक परिक्षण गरिएको हो । कार्यक्रममा सहभागीले धनौरी स्वास्थ्य चौकीको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
धनौरी स्वास्थ्य चौकी वडा नम्बर ५ मा भएपनि अन्य वडा नम्बर ६ र ७ का नागरिकले पनि स्वास्थ्य सेवा लिएको भन्दै सहभागीले स्वास्थ्यको चौकीमा सेवा सुविधालाई थप गुणस्तर बनाउन सबैको साथ अनिवार्य भएको बताए ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष गिरिराज बस्नेतले नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवालाई सहज बनाउनुपर्नेमा जोड दिए । उनले धनौरी स्वास्थ्य चौकीमा सेवा लिने बिरामीको संख्या बढ्दो अवस्थामा रहेको भन्दै स्वास्थ्य चौकीको सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताए ।
‘वडा सरकार धनौरी स्वास्थ्य चौकीको सेवालाई थप गुणस्तर बनाउन बजेट विनियोजन गर्न तयार छ, तपाईहरुले हामीलाई बेला–बेलामा खबरदारी गर्नुस्’ उनले भने ‘धनौरी स्वास्थ्य चौकी स्थापनाका लागि पहिले पनि निकै प्रयास गरियो, अब हामी झन जिम्मेवार निकायमा छौँ ।’ विक्रम सम्वत् २०५१ सालमा स्थापना भएको धनौरी स्वास्थ्य चौकीमा अहिले मासिक करिब साढे सातसय बढीले सेवा लिने गरेको स्वास्थ्य चौकीका प्रमुख हरिस कुमार डीसीले जानकारी दिए ।
उनले स्वास्थ्य चौकीले गर्भवती आमाहरुलाई निशुल्क सेवा प्रदान गर्न थालेपछि अस्पतालमै सुरक्षित बच्चा जन्माउने आमाहरुको संख्या बढ्दै गएको बताए । उनले स्वास्थ्य चौकीले अहिलेसम्म करिब ११ लाख ५० हजार बचत गर्न सफल भएको जानकारी दिए । ‘वडा नम्बर ६ मा स्वास्थ्य चौकी स्थापना गरेपनि अन्य वडाका नागरिकले पनि सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्,
त्यसैले अब स्वास्थ्य चौकीलाई साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्छ’ उनले भने ‘स्वास्थ्य चौकीमा ल्याव सेवा भएपनि विशेषज्ञ नहुँदा समस्या भएको छ, ल्यावका लागि मात्रै शान्तिनगर स्वास्थ्य चौकीमा पुग्नुपर्छ, कि स्वास्थ्य चौकीमा ल्याव सेवाका लागि विषेशज्ञ उपलब्ध गराउनुपर्छ होइन भने ल्याव सेवाका लागि शान्तिनगर स्वास्थ्य चौकीमा पुग्न यातायातको सेवा दिनुपर्छ ।’
कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका मेनका भण्डारीले महिला स्वास्थ्य स्वयम्सेविकाले नागरिकमा स्वास्थ्य सचेतना बढेको बताईन् । ‘महिलाहरु बरु डाक्टरसँग खुलेर त्यत्ति बोल्दैनन् होला, जति हामीसँग खुलेर आफ्ना समस्या राख्ने गर्छन्,
हामीले स्वास्थ्य सचेतना बाँडेका कारण अब धेरै आमाहरु स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने गरेका छन् तर राज्यले हामीहरुको सेवा सुविधामा कन्जुुस्याई गरेको छ, अब वडा तथा पालिका सरकारले हाम्रा समस्यालाई बुुझिदियोस्’ उनले भनिन् ‘हामीलाई कम्तिमा पनि खाजा कार्यक्रमको लागि पनि तत्काल सरकारको ध्यान जावस् ।’
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष रवि बुढाथोकीले स्वास्थ्य चौकीको भवन निर्माणाधिन अवस्थामा रहेको भन्दै अब भवन निर्माण पश्चात् अझै सेवा थप गर्दै लैजाने बताए ।
‘नागरिकलाई सहजरुपमा कसरी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ? भन्ने गम्भिरताका साथ लागिरहेका छौँ, केही नहुनुभन्दा भएको छ तर अझै सोचेजस्तो सफलता प्राप्त गर्न सकेका छैनौँ’ उनले भने ‘स्वास्थ्य चौकीको सेवा सुधारका साथै स्वास्थ्य सेवामा खट्ने तर पारिश्रमिक नपाउने महिला स्वास्थ्य स्वयम्सेविकाका लागि खाजा कार्यक्रम ल्याउने कोशिसमा छौैँ ।’
शान्तिगर गाउँपालिकाको आर्थिक सहयोग, गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजन तथा तुलसीपुर मिडिया प्रालिको सहजीकरण तथा आयोजनामा भएको कार्यक्रममा तुलसीपुर मिडिया प्रालिका प्रवन्धक निर्देशक गोपाल शर्मा भट्टराईले स्वास्थ्य चौकीले सेवालाई गुणस्तरियतामा लगेको तर अझै केही समस्या रहेकाले त्यसको समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा एम्बुलेन्स सञ्चालक समितिका संयोजक धु्रबकुमार डिसी, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्माले स्थानीय सरकारले स्वास्थ्य सेवालाई थप लैजानका लागि ध्यान दिनुपर्ने बताए ।