दोस्रो वडा अध्यक्ष कपको समापन

खेलकुद मुख्य खबर समाज

तुलसीपुर, ९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेमा भएको दोस्रो वडा अध्यक्ष कपको बिहीबार समापन भएको छ । स्थानीयस्तरबाटै खेल क्षेत्रको प्रवद्र्धन गर्न तथा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको दोस्रो वडा अध्यक्ष कप बिहीबार समापन भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको दोस्रो वडा अध्यक्ष कपमा पुरूष फुटबल प्रतियोगिता, महिला तथा पुरूष भलिवल प्रतियोगिता, डोरी तान्ने प्रतियोगितामा, कुर्सी दौड र घैँटाफोड प्रतियोगिता सञ्चालन गरिएको हो ।
त्यसैगरी महिला भलिबलतर्फ सुनपुर टोल विकास संस्था प्रथम, मनकामना टोल विकास संस्था द्वितीय र भ्यूडहर सुनपुर वीरेन्द्र मावि तृतीय भएका छन् ।
त्यसैगरी पुरूष भलिबलतर्फ प्रगतिशील टोल विकास संस्था प्रथम, मिलना टोल विकास संस्था द्वितीय र झरना टोल विकास संस्था तृतीय भएका छन् । प्रतियोगितामा महिला र पुरूष दुबैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ८ हजार र ६ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
डोरी तान्ने प्रतियोगिताअन्तर्गत पुरूषतर्फ मिलन टोल विकास संस्था प्रथम, शिवालय टोल विकास संस्था द्वितीय र मनकामना टोल विकास संस्था तृतीय भएका छन् । त्यसैगरी डोरी तान्ने प्रतियोगिता महिलातर्फ रामनगर टोल विकास संस्था प्रथम, शिवालय टोल विकास संस्था द्वितीय र लालीगुँरास टोल विकास संस्था तृतीय भएको आयोजकले जनाएको छ । डोरी तान्ने प्रतियोगितामा महिला र पुरूष दुबैले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ८ हजार र ६ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कुर्सी दौडमा प्रगतिशील टोल विकास संस्था प्रथम, मिलन टोल विकास संस्था द्वितीय र वीरेन्द्र मावि तृतीय भएका छन् । त्यस्तै घैटाफोडतर्फ पशुपति टोल विकास संस्था प्रथम, झरना टोल विकास संस्था द्वितीय र मिलन टोल तृतीय भएका छन् ।
कुर्सी दौड र घैटाफोड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार पाँचसय, एक हजार र ५ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरूष फुटबल प्रतियोगितामा शुक्रबार मात्रै समापन हुने खेलकुद संयोजक तिलकराम हमाल जैशीले जानकारी दिए । कार्यक्रममा पूर्व विभिन्न टोल विकास संस्था, विद्यालय तथा समूहले झाँक्रीसमेत प्रदर्शन गरेका थिए ।
उत्कृष्ट झाँकी प्रदर्शन गर्ने रामनगर टोल प्रथम, मनकामना टोल द्वितीय र मावि भ्यूडहर तृतीय र लालीगुराँस टोल विकास संस्था सान्त्वना भएको मूल्यांकनकर्ता आवासीय विद्यालय छोटेका नारायण भण्डारीले जानकारी दिए ।
यसैबीच दोस्रो वडा अध्यक्ष कपको बिहीबार समापन गरिएको छ । वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष कपको समापन गरिएको हो ।
कार्यक्रमको समापन गर्दै कार्यवाहक नगरप्रमुख आचार्यले स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बताइन् । उनले पछिल्लो समय खेलकुदमा प्रशस्त सम्भावना बढ्दै गएको अवस्थामा वडा अध्यक्ष कपले पनि खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताइन् । समापन कार्यक्रमको सहजीकरण मुक्ति न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *