दोषीलाई कारवाहीको माग

मुख्य खबर समाज

घोराही, २० फागुन । तुलसीपुर जीप तथा माइक्रो मिनिबस बस व्यवसायी समिति कर्मचारी गणेश भण्डारीका दोषीमाथि कडा कारवाहीको माग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी भण्डारीले अपरिचित समूहले शुक्रबार साँझ आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै दोषीमाथि कडा कारवाहीको माग गरिएको हो ।
तुलसीपुर जीप तथा माइक्रो मिनिबस बस व्यवसायी समिति कर्मचारी युनियनका सचिव कमल वलीले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै भण्डारीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् । समितिका कर्मचारी हमालमाथि आक्रमण हुुन दुुखद् भएको भन्दै उनले सत्यतथ्य छानबीनको मागसमेत गरेका छन् ।
साथै उनले गम्भीर घाइते हमालका शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । विज्ञप्तिमा सचिव वलीले घाइते हमालको उपचारको सम्पूर्ण जिम्मेवारी घटनाका दोषीले गर्नुपर्ने उल्लेख गरेका छन् । काउण्टरमा काम गरिरहेको अवस्थामा आक्रमण हुनु सिंगो कर्मचारीमाथि प्रहार भएको भन्दै नागरिकको सुरक्षाका लागि कडारुपमा प्रस्तुत हुन सुरक्षा निकायलाई अनुरोधसमेत गरिएको छ ।
आगामी दिनमा पनि यस्ता घटना दोहरिन सक्ने भन्दै सुरक्षाको प्रत्यायभूति दिलाउन प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् । विज्ञप्तिमा प्रहरी प्रशासनले घटना भएको ४५ मिनेटपछि दोषीलाई पक्राउ गर्न सफल भएपनि उनीहरुलाई छुुटाउन विभिन्न प्रयास भएको र यदि दोषीमाथि कडा कारवाही नभए आन्दोलनमा जान बाध्य हुुने उल्लेख गरिएको छ । शुुक्रबार साँझ ४ बजे अपरिचित समूहको आक्रमणबाट टाउको र ढाडमा गम्भीर चोट लागेका घाइते २७ वर्षिय भण्डारीको भारतको लखनऊमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *