देशभर बाढीको वितण्डा

फिचर मुख्य खबर

देउखुरी जलमग्न

देउखुरी, २८ असार । लगातारको वर्षाका कारण राप्ती नदी तथा आसपासमा खोलाहरुमा बाढी आउँदा दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । बाढीका कारण धेरै गाउँहरु डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीले लमही–कोइलाबास सडकखण्ड अवरुद्ध भएको छ । सडकमा नदी बगेपछि आवतजावतमा समस्या भएको छ ।
राप्ती नदी गाउँतिर पसेपछि गढवा गाउँपालिका वडा नम्बर ५ र ६ का गाउँहरु डुबानमा परेका छन् । बाढीले गढवा–५ बोधीपुरका ५० बढी घरहरू डुबानमा परेको ईलाका प्रहरी गढवाले जानकारी दिएको छ ।
बोधीपुरका जगतराम चौधरीको घर डुबानमा परेर जोखिम भएपछि उनको १२ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक गिरिराज भण्डारीले जानकारी दिए । बोधीपुरका साथै धर्मपुर, मोतिपुर, तकियापुर, सेमरी, झारबैरा गाउँ बाढीको उच्च जोखिममा रहेका छन् ।
लगातारको बर्षातबाट आएको राप्ती नदीको बाढीले लमही नगरपालिकाको वडा नम्बर १ डोरही, सिंगही, सोनपुर गाउँ डुबानमा परेको छ । त्यस्तै देउखुरीको सिसहनिया र गढवा गाउँपालिकाका धेरैजसो बस्तीहरु जलमग्न भएको छ । दोलही खोलामा तथा सिंगही खोलामा आएको बाढीले सिंगही पहरुवा, लठ्ठहवालगायतका आधा दर्जन गाउँ डुबानमा परेका छन् ।
राप्ती नदीको बाढी बस्तीमा पस्दा गढवाका बोधीपुर, कान्छीगाउँ, धर्मपुर, तकियापुर, सेमरी, मोतिपुर, मानपुर र झारबैरालगायतका गाउँहरु डुबानमा परेका छन् । बाढीले हालसम्म मानवीय क्षति भने नभएको दाङ प्रहरीले जनाएको छ । बाढीका कारण लमही कोइलाबास सडक भने ठाउँ–ठाउँमा क्षतविक्षत भएको छ ।

बाढीका कारण धेरै गाउँहरु डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीले लमही–कोइलाबास सडकखण्ड अवरुद्ध भएको छ । सडकमा नदी बगेपछि आवतजावतमा समस्या भएको छ ।

सडकमा हालेको ग्राभेल तथा कतिपय ठाउँमा कालोपत्रेलाई समेत असर गरेको स्थानीयहरुको भनाइ छ । सिसहनिया क्षेत्र डुबानमा परेको छ । बर्षाका कारण दोलही खोलामा पानीको बहाव बढेपछि राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा, पहरुवा, कालापानी गाउँको बस्तीलगायतका विभिन्न गाउँ डुबानमा परेका छन् । बाढीका कारण लगाएको धानबाली भने डुबानमा परिसकेको छ ।
पानी सतह बढी रहेकाले स्थानीयहरु त्रसित हुन थालेका छन् । कतिपय घरबाट निस्केर छिमेकीको घरमा बसेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ आँपखोली टोलमा रूख ढल्दा एउटा पक्की घर नै भत्किएको छ ।
रुख ढल्दा इश्मा केसीको पक्की घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । पक्की घर भत्किदा करिब दश लाख बराबरको क्षति भएको छ । यस्तै बाढीले राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैतेका स्थानीय नेत्र खनालको पोल्ट्री फर्मलाई गनाहा खोलाले बगाउँदा पाँच सय चल्ला र पाँच सय बोइलर कुखुरा र दाना गरी करिब चार लाख ५० हजार बराबरको क्षति भएको पीडित खनालले जानकारी दिए ।
साथै खनालको तरकारी बालीमा समेत बाढीले क्षति पु¥याएको छ । यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा पनि वर्षाका कारण एउटा भत्किएको छ ।
यसैगरी खोलामा बाढी आउँदा लमही–घोराही–तुलसीपुर सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । शनिबार बिहानैदेखि बबई, कटुवा, गुज्रे र ग्वारखोलामा पानीको सतह बढेपछि साना सवारी साधन आवागमन समस्या देखिएको थियो ।

केही ठूला गाडीहरु मात्रै सञ्चालन भएका छन् । लगातार पानी परिरहेकाले खोला वारपार गर्न समस्या भएको छ । हरेक खोलामा प्रहरी तैनाथ गरिएको र खोलामा सावधानी अपनाइएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
अन्य बाढीको जोखिम रहेका क्षेत्रमा पनि प्रहरीको उच्च सतर्कता रहेको उनले बताए । बाढीले लमही नगरपालिका–५ की रीमा नेपालीको घर भत्किएको छ । उनको परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । घोराही–तुलसीपुर सडकखण्डको ग्वारखोलाले शुक्रबार बेलुका ना ७ ख ३५६५ नम्बरको गाडी बगाएको छ ।

दाङमा एकजनाको मृत्यु

दाङ, २८ असार । दाङमा अविरल वर्षापछि आएको खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । खोलामा आएको बाढीले बगाउँदा बंगलाचुली गाउँपालिका–८ कैनपानीका ९ वर्षिय भक्तसिंह वैजालीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
तिलकराम बैजालीका ९ वार्षिय छोरा भक्तसिंहको मामाघरबाट घर जाँदै गर्दा स्थानीय खहरे खोलाको बाढीले बगाएको थियो । मामा घर गएका बालक शनिबार घर फर्कने क्रममा खहरेखोलाले बगाएको वडा अध्यक्ष गिरराज बाँठाले जानकारी दिए । बालक मावि मुलावारी भेडाबारीमा कक्षा ३ मा अध्ययनरत हुन् ।
यसैबीच अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशैभर ३३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको मुख्यालयले जारी गरेको सूचना अनुसार १७ बेपत्ता र १२ जना घाइते भएका छन् ।
दाङमा ५० जना, काठमाडौंमा १०८, उदयपुरमा १०, ललितपुरमा ८, सिन्धुलीमा दुई, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ८३१ जनाको उद्धार भएको छ । घाइते खोटाङ, सुनसरी, रामेछाप, धादिङ, चितवन, दोलखामा एकएकजना घाइते छन् भने काभ्रेमा दुई र मकवानपुरमा चार गरी १२ जना घाइते छन् ।
सिन्धुलीमा चार, भोजपुरमा तीन, सुनसरी दुई तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक जना गरी १७ जना बेपत्ता भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *