देवघाट शिवमूर्ति निर्माणका लागि महायज्ञ

मुख्य खबर

तुलसीपुर, २१ जेठ । देवघाटमा अष्टधातु शिवमूर्ति निर्माण सहयोगार्थ तुलसीपुरमा मंगलबारदेखि महायज्ञ शुरु भएको छ । महायज्ञको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।
उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले धर्म, संस्कृति तथा मठ मन्दिरको नेपालको सम्पत्ति भएकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बताए ।
देवघाटमा निर्माण हुन थालेको शिवमूर्तिले पनि राष्ट्रको परिचय झल्काउनेसमेत बताए । ‘मेरोभन्दा पनि हाम्रो भावनाको विकास हुन जरुरी छ, चितवनको देवघाटमा निर्माण हुने अष्टधातु शिवमूर्ति निर्माणमा सहयोग गर्नु हाम्रो पनि दायित्व हो’ उनले भने ‘स्थानीय सरकारले पनि यस्ता धार्मिकस्थलको संरक्षणमा जोड दिएको छ ।’
उद्घाटन कार्यक्रममा जेष्ठ नागरिक ललितबहादुर वलीले देवघाट सबैको धरोहर भएको भन्दै महायज्ञबाट अपेक्षित रकम संकलन हुने विश्वास व्यक्त गरे । ‘हामी सबैको देवघाट, त्यसैमा निर्माण हुन लागेको अष्टधातु शिवमूर्तिले पहिचान दिनेछ’ उनले भने ।
शिवसेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारी, केन्द्रीय सदस्य मेघराज वली लगायतले महायज्ञमा सहभागी हुन आग्रह गरे । मंगलबारदेखि शुरु भएको श्रीमद् शिवपुराण विराट ज्ञानमहायज्ञ जेठ २९ गतेसम्म सञ्चालन हुने मुल आयोजक समितिले जनाएको छ ।
जेष्ठ नागरिक नगर समिति तुलसीपुर र शिवसेना नेपालको आयोजनामा महायज्ञ शुरु भएको हो । मंगलबार महायज्ञमा कलश यात्रासमेत गरिएको छ ।
तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरबाट शुरु भएको कलशयात्रा मदनआश्रित चोक हुँदै अरनिको मैदानमा पुगेको थियो । अरनिको मैदानमा सञ्चालन भइराखेको महायज्ञमा बेलपत्र, अर्चना, रुद्री, ग्रहशान्ति, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्तिकालगायतका कार्य हुने मुल आयोजकले जनाएको छ ।

महायज्ञमा साढे ४ लाख बढी दान संकलन

प्रदेश टुडे
तुलसीपुर, २१ जेठ । नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा जारी सप्ताह ज्ञानमहायज्ञमा साढे ४ लाख बढी दान संकलन भएको छ ।
महायज्ञमा मंगलबारसम्म नगद र कलशबाट गरी ४ लाख ६६ हजार २ सय ४७ दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिए । महायज्ञमा मंगलबारमात्रै करिब डेढ लाख संकलन भएको उनले बताए ।
शनिबारदेखि शुरु भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका तिलकराम वली र चन्द्रा वलीले १ लाख ११ हजार ११ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै तुलसीपुर–४ मजुवाका मित्रलाल खड्का र हिरादेवी खड्काले ५१ हजार १ सय ११, सोही ठाउँकै विष्णुदेवी शर्मा र चक्रपाणि शर्माले ३० हजार ५५, जगतबहादुर बुढाथोकी र चन्दी बुढाथोकीले २१ हजार ५ दान गरेका छन् ।
महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको संयोजक खड्काले बताए । ‘महायज्ञमा दैनिकजसो दानादाता बढ्दै जान थालेका छन्, मंगलबार पनि राम्रै दान संकलन भएको छ’ उनले भने ।
धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *