घोराही, २९ मंसिर । सरकारले दूध तथा दूग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘दूध तथा दूग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो । निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।
निर्देशिका अनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फर्मको सरसफाई, दूध दुहुने भाँडा र व्यक्तिगत सरसफाईमा समेत ध्यान दिनुपर्नेछ । दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनु अघि साबुन पानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दूध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको निर्देशिकामा उल्लेख गरिएको छ ।
