दूधको मूल्य बढ्यो

मुख्य खबर समाज

तुलसीपुर, २१ भदौ । दाङमा दूधको मूल्य फेरी बृद्धि भएको छ । गत बैशाख १ गते बढेको दूध तथा दूग्धजन्य वस्तुको मुल्य शनिबार (आज)देखि लागू हुने गरी फेरी बढेको हो ।
नयाँ बढेको मूल्य अनुसार दूधको प्रतिलिटर ८० रुपैयाँ पुगेको छ । त्यस्तै दहि प्रतिकेजी १ सय, पनिर प्रतिकेजी ८ सय र घ्यूको प्रतिकेजी १ हजार २ सय पुगेको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपाल तुलसीपुर नगर समितिले जनाएको छ ।
समितिका अनुसार नयाँ कायम गरिएको मूल्यमा दूधमा प्रतिलिटर १० रुपैयाँ, दहीमा प्रतिलिटर १५ देखि २० रुपैँया , पनिरमा प्रतिकेजी १ सय रुपैया र घ्युमा प्रतिकेजी १ सय रुपैँया बढेको हो ।
पशुपालनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य अस्वभाविक मूल्य वृद्धि भएपछि आफूहरु मूल्य बढाउन बाध्य भएको राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपाल दाङका अध्यक्ष शशिराम बुढाथोकीले बताए ।
‘विगतका वषौँ वर्षपछि दूध तथा दूग्धजन्य वस्तुको मूल्य वृद्धि हुने गरेको थियो तर यसवर्ष हामीले ४/५ महिनाको अवधिमै मूल्य वृद्धि गर्न बाध्य भएका छौँ’ उनले भने ‘घोराहीमा यसअघि केहीदिन पहिले नै मूल्य वृद्धि भइसकेको छ भने तुलसीपुरमा शनिबारदेखि लागू हुने गरी मूल्य बढाएका छौँ ।’
चालु आर्थिक वर्षमा पशुलाई खुवाउने दाना तथा घाँसको मूल्य अस्वभाविक बढेकोले दूग्ध उत्पादक किसानले पनि दूध तथा दूग्धजन्य वस्तुको मूल्य बढाएको समितिका तुलसीपुर अध्यक्ष लोकराज केसीले जानकारी दिए ।
राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपालले शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी दूधको बढेको मूल्य किसानले शनिबार (आज) देखि पाउने जनाएको छ ।
पत्रकार सम्मेलनमा समाजका जिल्ला अध्यक्ष शशिराम बुढाथोकीले सरकारले लामो समयपछि दूधको मूल्य बढाए पनि किसानले सोचेअनुसारको मूल्य पाउन नसकेको बताए ।
‘किसान वर्षौदेखि न्यूनतम मूल्यमा दूध बेच्न बाध्य छन्, अहिले समायोजन गरिएको मूल्यमा पनि किसान सन्तुष्ट हुने अवस्था छैन्’ उनले भने ‘पेट्रोलियम पदार्थमा वृद्धि भएको अस्वभाविक मूल्यका कारण गाई, भैसीलाई खुवाउने दाना÷/च्चा पदार्थको लागत मूल्यमा वृद्धि भएको छ, अनि किसानले दूधको मूल्य बढाउन पाउने कि नपाउने ?’
नयाँ मूल्य निर्धारण गरिएको मूल्यबारे आफूलाई जानकारी नभएको तुलसीपुर उपमहानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समिति संयोजक माया आचार्यले बताईन् ।
‘दूधको नयाँ मूल्य निर्धारण भएको कुरा मलाई कसैले केहि भनेको छैन् फेरी म एक्लैले निर्णय गर्ने कुरा पनि भएन्’ उनले भनिन्– ‘नयाँ निर्धारण गर्ने भएपछि छलफलपछि मात्रै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *