दूधको गुणस्तर कायम गर्न प्रतिवद्धता

फिचर मुख्य खबर

दाङ, ६ असार । दूध तथा दूग्धजन्य पदार्थमा गुणस्तरीयताका कायम गर्न दाङ देउखुरीका दूध ब्यवसायी र सरोकारवालाहरुले प्रतिबद्ध भएका छन् । जिल्लाको सबैभन्दा बढी दूध उत्पादन हुने देउखुरी क्षेत्रको गढवा,
राजपुरलगायतको क्षेत्र भएको र त्यहिको शुद्धता र गुणस्तरमा ध्यान दिनसके आधाभन्दा बढी समस्या समाधान हुने भन्दै सरोकारवालाले दूधमा गुणस्तर सुधार गर्ने र उपभोक्तालाई मिसावटरहित दूध खुवाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रत्यक्ष रुपमा उपभोक्तासँग जोडिएको व्यवसाय दूध भएकाले यसको गुणस्तर सुधार अपरिहार्य भएको सरोकारवालाहरुले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले खाद्य स्वच्छता सम्बन्धी गरेको भेलाका सहभागी सरोकारवालाहरुले दूधको स्वच्छता तथा गुणस्तरमा प्रतिवद्ध हुने भन्दै विगतमा भएका कमजोरीहरुलाई सच्चाएर लैजाने बताए छन् ।
दाङको गढवा र राजपुर गाउँपालिकामा दूध उत्पादक किसानहरु धेरै रहेका छन् । कति किसानहरु व्यवसायीक रुपमा रहेका छन् भने कति पारिवारिक तथा परम्परागत रुपमा रहेर परम्परागत उत्पादन गरिरहेका छन् ।
दाङ डेरी व्यवसायी संघका अध्यक्ष ईश्वरी घिमिरेले दूध र दूग्धजन्य पदार्थमा शुद्धता अनिवार्य भएको बताए । उनले किसान र व्यवसायीहरुबाट हुने बदमासीले उपभोक्ताहरु गुणस्तरहीन दूध प्रयोग गर्नुपर्ने अवस्था रहेको भन्दै अब गुणस्तर उत्पादनका लागि सबै प्रतिवद्ध रहनुपर्ने बताए ।
उनले पैसा कमाउने मात्रै भन्दा पनि इज्जत र इमानदारीको महत्व दूधमा बढिरहने भन्दै सबै दूधसँग जोडिएकाहरुले यो कुरामा ध्यान दिनुपर्ने बताए ।
गढवा गाउँपालिकाका किसान तिलक परियारले गुणस्तरीय दूध दिइरहेको भन्दै एक दुईजनाले बदमासीका कारण सबैलाई पिरोलेको बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले उपभोक्ता ठगी गर्ने र गुणस्तरहीन दूध उपलब्ध गराउनेलाई नियमन गर्ने बताए ।

प्रत्यक्ष रुपमा उपभोक्तासँग जोडिएको व्यवसाय दूध भएकाले यसको गुणस्तर सुधार अपरिहार्य भएको सरोकारवालाहरुले बताएका छन् ।

उनले यस विषयमा कार्यविधिसमेत निर्माण गर्ने बताए । नारायण पण्डितले उपभोक्ताहरु दूधबाट ठगिइरहेको भन्दै उपभोग गर्ने व्यक्तिले गुणस्तरीय बस्तु पाउनु पर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख विवेक बञ्जाराले दूधप्रति सबै सजक र सचेत हुनुपर्ने बताए । उनले दूध तथा दूग्धजन्य पदार्थको स्वच्छताका लागि कार्यालयले अभियान नै सञ्चालन गरेको भन्दै सरोकारवालाहरु निर्देशिका अनुसार सञ्चालित हुनुपर्ने बताए । उनले दूधको स्वच्छता भएमा मात्रै गुणस्तर कायम हुने भएकाले उत्पादन,
वितरण र उपभोक्ताहरुले गुणस्तर परीक्षण ध्यान दिनुपर्ने बताए । उनले जिल्लाका पटकेदेखि ठूला दूध व्यापारीलाई अनुमति पत्रको ब्यवस्था गर्ने योजना गराएको बताए ।
स्थानीय सरकारले उपलब्ध गराउने गरी दूध बेच्ने पटके ब्यवसायीलाई पनि अनुमति पत्र ब्यवस्था गरिने बताए । उनले अनुमति पत्रको ब्यवस्था भएमा व्यवसायीहरुको यथार्थ विवरण आउने र बदमासी गर्ने नियमन गर्नसमेत सहज हुने बताए ।
दूध तथा दूग्ध पदार्थ स्वच्छता एवं गुणस्तर निर्देशिकाले समेत यस्तो ब्यवस्था गरेकाले यो कार्यान्वयन गरिने उनको भनाई छ ।
यो नियम २०२३ सालमै आएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको थिएन । योसँगै अब प्लाष्टिकका भाडामा दूध बेच्ने कार्यसमेत बन्द गरिने भएको छ । प्लाष्टिकका भाडामा बोक्ने दूधले स्वास्थ्यमा हानी पु¥याउने प्रमुख बन्जाराले बताए ।
सबैभन्दा बढी हानीकारक प्लाष्टिकका भाडा नै रहेको भन्दै दाङमा धेरै दूध व्यवसायीहरुले प्लाष्टिकका भाडा प्रयोग गर्ने गरेको बताए । व्यवसायीहरुले तत्काल प्लाष्टिकका भाडा प्रयोगमा रोक लगाउनुपर्ने बताए ।
उपभोक्ता भेला डिभिजन प्रमुख बञ्जाराका अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकुरी हमाल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, उपभोक्ता सञ्जलाका गढवा अध्यक्ष उमाकान्त पन्त लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा नयाँ निर्देशिकाका बारेमा समेत जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *