तुलसीपुर, १८ साउन । शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका कमला विकले गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारका लागि घण्टौँ हिडेर चिराघाट आउनु पर्ने बाध्यता थियो । कमलालाई गाउँमा त्यो सुविधा नहुँदा उपचारका लागि घण्टौँ हिडेर जानुपथ्र्यो । प्राथमिक उपचारको समेत गाउँमा व्यवस्था थिएन ।
कमलालाई स्थानीय सरकार आएपछि स्वास्थ्यमा राहत भयो । गाउँ सरकारले स्थापना गरेको वडा स्वास्थ्य केन्द्र अहिले स्वास्थ्यका लागि बरदान सावित भएको छ ।
उपचारका लागि चिराघाट–तुलसीपुर पुग्दा सामान्य उपचारका लागि पनि हुने यो सास्ती र बाध्यता कहिले अन्त्य होला भन्ने प्रश्न कमला खड्कीरहन्थ्यो ।
‘गाउँमा पुरुषभन्दा पनि हामी महिलाहरु बढी छौँ, हामीहरुलाई घरकै काम चलाउन निकै हम्मे–हम्मे पर्छ, अनि सामान्य उपचार लिनपनि दिनैभरी लाग्दा निकै हैरानी खेपेका थियौँ’ उनले भनिन्– ‘अहिले सामान्य उपचार गाउँमै पाएपछि धेरै सहज भएको छ, सञ्चो हुनेमात्र नभई समय र पैसाको समेत बचत भएको छ ।’
बस्तीखोलाका टुलबहादुर पुनलाई पनि यसअघि सिटामोलकै लागि घण्टौँ हिड्नुपथ्र्यो, कि भने प्राथमिक उपचारको उपाय घरमै अपनाउनुपथ्र्यो । ‘हामी त बिरामी भएपछि सकेसम्म घरमै जडिबुटी गर्ने गर्दथ्यौँ बाबु,
अब अस्पताल जान खोज्यो भने तुलसीपुर नै जानुपथ्र्यो, अब त्यहाँ गयो भने सानो पैसाले पनि नहुने’ उनले भने । सिटामोलकै लागि पनि तुलसीपुर आउनुपर्ने बाध्यता कमला र टुलबहादुरमात्रै हैन् बस्तीखोलाका स्थानीय सबैलाई थियो ।
अहिले गाउँमा वडा स्वास्थ्य केन्द्र स्थापना भएपछि सिटामोल खानकै लागि घण्टौँ हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ । गाउँमा वडा स्वास्थ्य केन्द्र स्थापना भएपछि टु्लबहादुरजस्तै धैरै नागरिकले सिटामोलका लागि घण्टौँ टाढा जानुपर्ने बाध्यताको अन्त्य हुन थालेको छ ।
संघीय व्यवस्थासँगै गाउँ–गाउँमा स्थानीय सरकार आएसँगै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । दाङको शान्तिनगर गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको सहज पहुँचका लागि शान्तिनगर गाउँपालिकामा तीनवटा वडा स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।
स्वास्थ्य केन्द्रमा अझै पनि सेवा विस्तार गर्नुपर्छ, किनकी विकट बस्तीका नागरिकले अहिले पनि सामान्य उपचार मात्रै पाएको अवस्था छ , यसलाई थप परिमार्जित बनाएर लैजानुपर्छ ।
गाउँमै आधारभूत सामान्य किसिमका उपचार पाउन थालेपछि निकै सहज भएको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाका कल्पना विकले बताईन् ।
‘प्राथमिक उपचार लिनका लागि पनि कि त बाघमारे जानुपथ्र्यो, कि त तुलसीपुरमा नै जानुपथ्र्यो तर अहिले गाउँमै सामान्य किसिमको स्वास्थ्य सेवा पाएका छौँ, उनले भनिन् ‘पहिलेको तुलनामा निकै सहज भएको छ तर अझै पनि हामीलाई त एक घण्टा टाढा नै छ,
सकेसम्म अझै नजिक भइदिए राम्रो हुन्थ्यो ।’ गाउँमा स्थापना भएका स्वास्थ्य केन्द्रले सामान्य बिरामीलाई सेवा दिने गरेका छन् । नागरिकले पनि स्वास्थ्य र सरसफाईका बारेमा जानकारीलगायत सामान्य रोगको सेवा पाउँदा खुशी भएका छन् ।
शान्तिनगर गाउँपालिका–३ बस्तीखोलामा स्थापना भएको वडा स्वास्थ्य केन्द्रका प्रमुख शंकरराज विष्टले मासिक एक सयभन्दा बढीले सेवा लिने गरेको बताए ।
‘गाउँमा वडा स्वास्थ्य केन्द्र स्थापना भएपछि नागरिकहरु सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ नै, अब स्वास्थ्य र सरसफाईमा पनि सचेतना पुग्न थालेको छ’ उनले भने ‘स्वास्थ्य केन्द्रमा अझै पनि सेवा विस्तार गर्नुपर्छ, किनकी विकट बस्तीका नागरिकले अहिले पनि सामान्य उपचार मात्रै पाएको अवस्था छ , यसलाई थप परिमार्जित बनाएर लैजानुपर्छ ।’
स्थानीय सरकारले गाउँमा स्वास्थ्य संस्था स्थापना गरेपछि नागरिकले केही सहज महशुस गरेका छन् भने ग्रामीणस्तरका नागरिकलाई स्वास्थ्य सचेतनासमेत बढ्न थालेको छ भने रोग लुकाएर बस्नुहुन्न भन्ने शिक्षाको विकाससमेत हुन थालेको छ ।
शान्तिनगर–१ पेदीखोलामा वडा स्वास्थ्य केन्द्रमा पनि विस्तारै सेवा लिनेको संख्या बढ्दै गएको छ । केन्द्र प्रमुख डिल्लीराज गिरीका अनुसार विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिक सेवाका लागि आउने गरेका छन् ।
‘सिटामोल खानका लागि पनि घण्टौँ टाढा जानुपर्ने बाध्यताको अन्त्य वडा स्वास्थ्य केन्द्रले गरेको छ’ उनले भने ‘दिनप्रतिदिन सेवा लिने बिरामीको संख्या बढ्दै गएको छ, सेवामा गुणस्तर ल्याउनका लागि भवनदेखि लिएर विभिन्न भौतिक संरचना पनि निर्माणको क्रममै छन् ।’
भौगोलिक हिसावले विकट मानिएको पेदीखोलामा स्थानीय सरकारले वडा स्वास्थ्य केन्द्र स्थापना गरेपछि नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर पुनले दुर्गम क्षेत्रको स्वास्थ्य सेवाका लागि वडा स्वास्थ्य केन्द्रहरु स्थापना गरिएको बताए ।