दुई स्थानमा मतगणना हुने

मुख्य खबर समाज

घोराही, १४ मंसिर । दाङमा दुई पदका लागि हुने उपनिर्वाचनको मतगणना दुई छुट्टाछुट्टै स्थानमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ प्रदेश सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको मतगणना छुट्टाछुट्टै स्थानमा हुने भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने भएको छ भने प्रदेशसभा सदस्यको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ । दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजै सुरू हुने जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल गणना सुरू गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरूको सहमतिमा आजै गणना सुरू गर्ने तयारीमा रहेको बताए ।
‘राजनीतिक दलहरूका बीचमा दलीय सहमति भए शनिबार साँझ ६/७ बजेदेखि नै मतगणना सुरू गर्छौं’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘मत गणनाका विषयमा दलहरूका बीचमा कस्तो सहमति हुन्छ ? त्यसमा निर्भर रहन्छ ।’
घोराही उपमहानगरपालिका वडा नं. १६ सदरमुकाम नजिकै भएकाले मतपेटिकाहरू समयमै संकलन हुने हुँदा गणनाको तयारी सम्भव भएको उनले बताए ।
निर्वाचन क्षेत्र नम्बर ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ । उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेकाले मतपत्र ल्याउन समय लाग्ने रिजालले बताए । मतगणना गर्नका लागि प्राविधिक रूपमा सम्पूर्ण तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उनले सम्पूर्ण मतदातालाई ढुक्क भएर आफ्नो स्वतन्त्र र बहुमूल्य मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *