दुःखमा राम–राम सुखमा हराम

विचार

भनिन्छ, ‘धीरा भई रहनु, विपत्ती सहनु, कस्तै परोस् तापनि ।’ दुःखमा न आत्तीनु र सुखमा न मात्तीनु मानिसका गुण र विशेषता हुन् । मानिसले कहिले पनि धैर्यता र संयमता टुटाउनु हुँदैन र गुमाउनु हुँदैन । मानिस सदासर्वदा सकारात्मक सोंच, सकारात्मक विचार र सकारात्मक भावनाका साथ अघि बढ्नु पर्दछ । तर यी सबै कुरा सबैका लागि एकैक्षण बहकाउने आदर्श मात्र हुन् ।
मानिस जहिले पनि सुखमा स्वार्थी बनेको नै छ । जब मानिससँग धन, सम्पत्ति, सुख, सुविधा भौतिक सम्पन्नता वैभवता, ऐश्वर्यता र विलासीतापूर्ण छ, उसले आफ्ना नातागोता, ईष्ट, मित्र, साथीभाइ, बन्धु, बान्धब, कुटुम्बलगायत सारा शुभचिन्तकहरुलाई चिन्न जान्न बुझ्न र बुझाउन छोड्छ ।
सबै कुरा आफैमा सम्पन्नता भएपछि किन नै चाहियो र बाहिरी शक्ति र व्यक्ति ? यस्तो सोेच्न थाल्दछ । बाटो–घाटोमा आफ्नो मानिस देख्दा भेट्दासमेत उसका लागि परिचय लिन र दिन आवश्यक ठान्दैन । यति मात्र होइन यदि आफ्नो इष्टमित्र वा नातागोता विपन्नतामा बाँचेको रहेछ भने त उसका लागि मेरो मान्छे भन्न पनि इज्जत र प्रतिष्ठा गुमेजस्तो लाग्दछ ।
आफ्ना समकक्षी र समदर्शीबाहेक अन्य अरु कोही पनि नजिक बन्न र भन्न मिल्दैनन् । आफू समानका सम्पन्नशाली र वैभवशाली मात्र आफ्ना परिचयको कित्तामा पर्ने गर्दछन् । मानिस सम्पन्न हुँदा अन्धो समान बन्दछ । धन र सम्पत्तिलाई निकै ठूलो भाग्यशाली उपहार ठान्ने र मान्नेका लागि वैभवताका अगाडि सारा दुनियाँ छायाँमा पर्दछन् ।
मानिस सोंच्दछ ‘मेरो तुलसीपुरमा घर–घडेरी छ । मेरो घोराहीमा घर–घडेरी छ । मेरो लमहीमा घर–घडेरी छ । मेरो नेपालगंजमा घर–घडेरी छ । मेरो बुटवलमा घर–घडेरी छ । मेरो नारायणगढमा घर–घडेरी छ । मेरो काठमाडौँमा घर–घडेरी छ । एउटा स्थानको मात्र घर–घडेरी बेच्ने हो भने लाखौँ–करोडौँको मूल्य पर्छ । किन चाहियो सारा दुनियाँ ?
जीवन र जगतलाई नबुझ्दासम्म यी सबै भौतिक सुख सुविधा प्राणतुल्य बन्दछन् । जब त्यही सम्पन्न व्यक्ति कुनै दिन रोगले र शोकले ग्रस्त हुन्छ तब सेवा–सुविधा सम्पन्न अस्पतालमा पुग्दछ । विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार पद्धति अपनाइन्छ । सारा वैज्ञानिक र चिकित्सकले सिद्धान्त प्रणाली, प्रविधिले र उपकरणको प्रयोग गरिन्छ ।
तथापि विधिको विधान सबै शत्र–अश्त्र विफल हुन्छ तब चिकित्सकले भन्दछन् । अब घर लैजानोस् ! जे मागेको त्यो खान दिनोस् र आफन्तलाई भेट गर्न दिनोस् । अब कुनै पनि उपचार विधि सम्भव र सफल छैन । यो घडीमा जब मानिस प्रवेश गर्छ अब उसले जप्न थाल्छ भगवान राम ! राम !, कृष्ण ! कृष्ण, विष्णु ! विष्णु, शिव ! शिव ! सबैको याद हुन थाल्दछ ।
हिजो आफूले तिरस्कार गरेका सबै व्यक्ति र शक्ति खोज्ने बेला बल्ल भयो । हिजोसम्म कुनै पनि व्यक्ति र शक्तिको खाँचो र आवश्यकता थिएन । जब आफ्नो शरीर नै जीवनको अन्तिम मोडमा पुग्यो तब मानिसले सबै खोज्न थाल्यो र सोध्न थाल्यो । मेरो साथी खै ? मेरो मित्र खै ? मेरो नातागोता खै ? मेरो शुभचिन्तक खै ? जुन समयमा उचित स्थान दिएर राख्नु थियो त्यो समयमा राख्न सकेको भए पो खोज्दा मिल्ने र पाइने हो ।
मानिस मात्र होइन भगवान पनि सधैं पुकारे यो दुःख पर्दाको क्षणमा शक्तिको स्रोत बन्छन् । अघि–पछि भगवानका काम कुरा गर्दा नास्तीक बन्ने मर्ने बेलामा भगवान सम्झेर आस्तीक बन्न खोजेर हुन्छ ? मानिसका लागि सदासर्वदा चाहिने भनेको नै शक्ति र समाज हो । शक्ति भनेको ईश्वरीय नाम, ईश्वरीय कीर्तन र ईश्वरीय आस्था हो भने समाज भनेको इष्ट–मित्र, नाता–गोता र शुभचिन्तक हुन् ।
आफू सुखमा रहँदा शक्ति पनि चाहिएन, समाज पनि चाहिएन । जब दुःख प¥यो सबै चाहियो । आखिर जस्तो अवस्थामा पनि काम लाग्ने त शक्ति र समाज नै रहेछ नि ? हिजोसम्म सारा धन सम्पत्तिलाई अंगालो हालेर आफूलाई सर्वेसर्वा ठान्दा र मान्दाको अवस्था किन सधैं टिक्न सकेन । हिजोका घर घडेरीले आज आफ्नै ज्यान किन जोगाउन सकेन ?
आफ्नै हातले कमाएको र आर्जेको सारा वैभव आज आफ्नै जीवनमा पनि किन कुकुरका लागि हड्डी सावित बन्यो ? किन त्यो सुख र सुविधा सार्थक हुन सकेन ? प्रकृतिमा सबैकुरा नासवान छन् भन्ने कुरा थाहा थियो नि ? मानिस जन्मिए पछि पनि एकदिन अवश्य मर्दछ भन्ने पनि थाहा थियो नि ? आखिर सबै थाहा हुँदा हुँदै पनि केले अन्धो बनायो, धन किन आफ्नो लागि मित्र बन्न सकेन ?
सम्पत्ति किन आफ्ना लागि शक्ति बन्न सकेन् ? त्यति प्यारो धन, त्यति प्यारो सम्पत्ति, त्यति प्यारो सुख सुविधा कसले निरर्थक बनायो ? कसैले भन्ने गर्थे ‘इष्ट भनेको लाख, धन भनेको खाक ।’ के रहेछ ? यसको अर्थ ? हामी कुन धरातलीय अवस्थामा छौं । यो युगलाई वैज्ञानिक युग भने तापनि, यो युगलाई विकासको युग भौतिकवादको युग भने तापनि, यो युगलाई सुविधा र सम्पन्नताको युग भने तापनि आखिर धन पैसाको युगमा त परिणत भएको छ ।
आखिर सुख, सुविधा भोगीको युग त भएको छ । आखिर विलासिताको युग त बनेको छ । सारा संस्कार र संस्कृतिलाई दाउमा राखेर पैसाको खोजीमा भौतारिता मानिस थप अशान्ति र आक्रान्तमा डुबेको छ र छट्पटिएको छ । धन–पैसाले सबै हुने भएको छ ।

अब मानिस ईश्वरलाई होइन धनीलाई मान्नेछ र पुज्ने छ । जोसँग धन–पैसा छ, त्यहीसँग सबथोक हुनेछ । चाहे राम्रो काम गरोस्, चाहे नराम्रो काम गरोस् । चाहे सदाचारले धन कमावस्, चाहे भ्रष्टाचारले धन कमावस् । धनी र सम्पन्न भयो भने ईश्वरीय अंश भयो । सबैले मान्ने, सबैले जान्ने, सबैले चिन्ने, सबैले चिनाउने, सबैले पुज्ने र सबैले बुझ्ने । धनसँग सबै वाद मिसिएको किन नहोस् तथापि धन सबैका लागि भाग्यशाली उपहार भई सक्यो ।

अब मानिस ईश्वरलाई होइन धनीलाई मान्नेछ र पुज्ने छ । जोसँग धन–पैसा छ, त्यहीसँग सबथोक हुनेछ । चाहे राम्रो काम गरोस्, चाहे नराम्रो काम गरोस् । चाहे सदाचारले धन कमावस्, चाहे भ्रष्टाचारले धन कमावस् । धनी र सम्पन्न भयो भने ईश्वरीय अंश भयो ।
सबैले मान्ने, सबैले जान्ने, सबैले चिन्ने, सबैले चिनाउने, सबैले पुज्ने र सबैले बुझ्ने । धनसँग सबै वाद मिसिएको किन नहोस् तथापि धन सबैका लागि भाग्यशाली उपहार भई सक्यो । अबको समयमा र आजको समयमा धनविनाको मानिस निरिह र निर्जीव समान भइसक्यो । उसलाई मानिसको दर्जामा संकेत नगर्लान् भन्ने डर भइसक्यो । जग्गा, जमिन, घर, घडेरी, गाडी सबै भयो भने ऊ साक्षात विष्णुको अवतार भयो ।
सबै घरमा सोध्न आउँछन्, खोज्न आउँछन् । मान्न आउँछन् र पुज्न आउँछन् । कस्तो गजबको समय जुन धनले आफ्नो ज्यान बचाउन सक्दैन त्यो पनि यति अमूल्य भयो । जुन धन आफ्नो मालिकका लागि मृत्यु पछिको साथी बन्दैन, त्यो पनि यति सम्मानित बन्यो ।
भन्छि नि, ‘धन भनेको कमाउने एउटा समाउने अर्को र रमाउने पनि अर्को । वर्तमान युग धन–पैसाको युग बनिदिदा आज सारा मानिस दुःखमा राम–राम र सुखमा हराम बन्दैछ । मानिसले मानिसलाई बाँचुञ्जेल हेलो हाई, र वास्ता नै राख्दैन । जब दैवसंयोगले मृत्युको मुखमा पुग्दछ, तब राम–राम भन्न थाल्दछ र उसका गुणगान गर्न थाल्दछ ।
बाँच्दासम्म चिरपरिचितलाई समेत वास्ता नगर्नेले मरेपछि साँच्चिकै आफ्नै मुटु, कलेजो टुक्रिएको र छुट्टिएको बहान र नाटकसमेत गर्न भ्याउँछ । चाहे त्यो जीवनमा देख्दै नदेखेको पात्र किन नहोस् । कस्तो अचम्म ! कस्तो अनौठो ! अघिपछि मित्र पनि शत्रु बन्दछ भने मेरपछि शत्रु पनि मित्र बन्दछ । त्यो भन्दा मानिसको हरामीपन अरु के हो ? अरु के हुन सक्दछ ?
जीवन रहदासम्म कु–पात्रको ठाडो, जीवन गुज्रेपछि परम मित्रको भाँडो ? हामीलाई समयले कहिले पनि सचेत बताएन । हामीलाई समयले कहिल्यै पनि सजग बनाएन । हामीले हाम्रा अगाडि बालक, युवा, प्रौढ, बृद्ध, रोगी, जोगी, भोगी, अशक्त र मृत्युलाई दिनहुँ सनुका, देखेका र भोगेका हुन्छौं ।
तथापि राजदरबारको सुख, सयल भोगिरहेका सिद्धार्थ गौतमलाई बुढोपनले, रोगीपनले, अशक्तपनले र मृत्यु शवले पोलेर छट्पटिएर त्यसको मुक्तिका लागि खोजी गर्ने क्रममा आफ्नो दरबार र घरबार त्यागेर सत्यको खोजीमा हिडे र ज्ञान प्राप्त गरी भगवान गौतम बुद्ध बने । तर हामी सर्वहारा वर्गका मानिस दुई–चार पैसाको लोभ र घमण्डमा चुर्लम्म डुबेर आफ्नो वरिपरिको शक्ति र समाजलाई लात हान्दै र तुच्छ ठान्दै हिड्छौं र हिडिरहेका छौं ।
मानिस किन जन्मन्छ ? मानिस कसरी हुर्कन्छ ? कसरी बूढो हुन्छ ? कसरी रोगी र अशक्त हुन्छ ? मानिस कनि र कसरी अन्तिम समयमा मृत्युको मुखमा पुग्दछ ? यी यावत क्रिया–प्रकृया बुझ्ने र जान्ने हामीलाई फुर्सद नै छैन । हामीलाई कुनै ठूलो घटना तथा दुर्घटनाले एकैक्षण भावुक र गम्भीर बनाउँला तर केही समयपछि हाम्रो धन्दा यथावत नै छ ।
हामीले कुनै अमूल्य जीवन व्यर्थैमा गुमेको र गुमाएको प्रसंगले कुनै पनि प्रेरणा प्रदान गर्दैन । हामी जहाँ छौं, त्यही हुन्छौं । मानिसले जीवनमा भोग्नै पर्ने मृत्युलाई समेत थाती राखेर यावत कर्म गर्दा अनौठो लाग्नु पर्ने हो नि ?
तर कत्ति पनि फरक छैन । जीउनका लागि सामान्य कर्म र धर्मको आचरणलाई समाउँदै गर्ने कर्म सुकर्म भए तापनि धर्म विपरीत र आचरण विपरीत कुकर्म नगर्ने हो भने पनि हामी मनुस्यले आफ्नो चोला र आफ्नो खोला सुधार्ने थियौं । आजसम्मको समयमा हामीले न त चोला सुधार्ने प्रयन्त ग¥यौं, न त खोला सुधार्ने प्रयत्न ग¥यौं ? किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *