कुखुरापालकको गुनासो …
तुलसीपुर, २ असोज । ब्रोइलर कुखुरापालक किसानहरु मर्कामा परेको गुनासो गरेका छन् । दाना तथा चल्लाको अस्वभाविक मूल्य बढे पनि कुखुराको मुल्य स्थिर भएको भन्दै उनीहरुले दुखेसोसमेत पोखेका छन् ।
चल्ला तथा दानाको मूल्य बढेअनुसार उत्पादित कुखुराको बिक्री मुल्य नबढ्दा किसान बढी मर्कामा परेको उनीहरुको भनाइ छ । ब्रोइलर कुखुरा तथा दाना व्यवसायी (सप्लायर्स)ले चल्ला तथा दानामा अत्याधिक मूल्य बढाए पनि मासु तथा अण्डाको मूल्यमा समायोजन नगरेपछि आफूहरु मारमा परेको किसानहरुले बताएका छन् ।
दाना र चल्लाको मूल्य महिनैपिच्छे वृद्धि हुने तर मासु तथा अण्डाको मूल्य वृद्धि नहुँदा आफूहरु मारमा परेको ब्रोइलरपालक किसान संगठन किसान सरोकार मञ्च दाङका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।
‘सप्लायर्सको मनोमानीका कारण हामी किसानहरु मारमा परेका छौँ, चल्लाको मूल्य बढ्यो, दानाको मूल्य बढ्यो तर कुखुरा बिक्री मूल्य पुरानै कायम हुँदा किसानहरु समस्यामा परेका छन्’
उनले भने ‘बिचौलियका कारण किसान मारमा परेका छौँ, हामी अब पनि मूल्य समायोजन नभए कडा आन्दोलनमा जानेछौँ, सबै किसान संगठित भएका छौँ, सप्लायर्सहरु एकैपटक धेरै खाने खेल बन्द गरियोस् ।’
दानाको मूल्य २ हजार ६ सयदेखि २ हजार ७ सय प्रतिबोरा हुँदा ब्रोइलरको थोक मूल्य १ सय ९० रुपैयाँ प्रतिकेजी हुने गरेको तर अहिले दानाको मूल्य प्रतिबोरा ३ हजार ५ सय हुँदा पनि सोहि मूल्यमा बेच्न बाध्य भएको न्यौपानेले दुखेसो छ ।
उनका अनुसार ब्रोइलर कुखुराको मासुको थोक मूल्य २ सय ३० सम्म पुगेपनि पछिल्लो फेरि पुरानै अवस्थामा आउँदा किसानहरु समस्यामा परेका छन् ।
दाना र चल्लाको मूल्यमा कमि नआएको तर मासु तथा अण्डाको मूल्यमा पछिल्लो समय घट्दै २ सयमा पुगेपछि किसानहरु समस्यामा परेको अध्यक्ष न्यौपानेले बताए ।
ब्रोइलर चल्ला पनि २६ रुपैयाँबाट ९० रुपैयाँसम्म पुग्दा पनि आफूहरुले उत्पादित कुखुरा तथा अण्डाको मूल्य समायोजन नहुँदा किसानहरु समस्यामा रहेको बताए । ‘यहाँ किसान दुब्लाउँदै जाने बिचौलिया मोटाउँदै जाने अवस्था आएको छ,
यहि अवस्था भए हामीहरु आफै किसानहरु संगठित भएर आफै मासु र अण्डाको बजारीकरणसमेत गर्न बाध्य हुने छौँ’ मञ्चका कोषाध्यक्ष कुमार भण्डारीले बताए । ‘प्लेट दानाको मूल्य प्रतिबोरा २ हजार ६ सय हुँदा पनि हामीले त्यहि मूल्यमा बेच्ने गरेका थियौँ, अहिले ३ हजार ५ सय हुँदा पनि सोहि मूल्यमा बेच्न बाध्य छौँ’ अर्का कुखुरापालक किसान दानबहादुर बस्नतेले बताए ।
ब्रोइलरपालक किसानले मासु तथा अण्डाको मूल्य समायोजन गर्न आग्रहसमेत गरेका छन् । ब्रोइलरपालक किसान संगठन किसान सरोकार मञ्च दाङले विज्ञप्ति निकालेर ब्रोइलर तथा अण्डाको मूल्य तत्काल समायोजन गर्न आग्रह गरेको छ ।
‘बजार व्यवस्थापनको कुनै ख्याल नै नगरी बच्चा तथा दानाबाट कमिसन खाने लोभमा बजारले थेग्नै नसक्ने गरी हचुवाका भरमा बच्चा तथा दाना वितरण गर्नु र बच्चाबाट उत्पादित मासुलाई बजार व्यवस्थापन गर्न नसकी सम्पूर्ण भार किसानहरुमा नै थोपार्ने प्रवृतिप्रति बढेको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको जानकारी दिइएको छ ।
उद्योगमा २६ सयमा पाइने दाना ब्रोइलर कुखुरा तथा दाना व्यवसायी (सप्लायर्स)ले ३ हजार ५ सयमा बिक्री गर्ने गरेका छन् भने चल्ला पनि ६० देखि ७० रुपैयाँसम्म ह्याचरीमा पर्ने गरेपनि सप्लायर्सले ९० रुपैयाँमा बिक्री गर्ने गरेको सचिव दानबहादुर बस्नेतले बताए ।