दाङ–काठमाडौं दैनिक दुई उडान

मुख्य खबर

तुलसीपुर, १५ चैत । दाङको तुलसीपुर–काठमाडौँ हवाई उडान अबदेखि दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक दुईवटा उडान दाङ–काठमाडाँै भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।
दाहालले अहिले दैनिक एक उडान भर्दै आएकोमा चैत १८ गते सोमबारबाट दिनमा दुईपटक हवाई सेवा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । गत असोज २७ गतेबाट दैनिक उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसबाट दैनिक हवाईसेवा सञ्चालन गर्दै आएको थियो ।
लामो समयदेखि बन्द अवस्थामा रहेको विमानसेवा सञ्चालन नियमित भएपछि दैनिक उडान पनि थपेर दुई उडान बनाइएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले एयरलाइन्सको भूमिका यसमा सकारात्मक भएको भन्दै स्थानीयले अब सहजरुपमा हवाईसेवा पाउने बताए ।
विमान सेवा दैनिक दुईपटक सञ्चालन हुने कुराले यहाँका सर्वसाधारण खुसी भएका छन् । एकैदिनमा काठमाडौँको काम सकेर दाङ आउने पाइने भइयो, यसले सबैलाई खुसी बनाएको छ स्थानीय ब्यवसायी तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले भने । उनले व्यापारीहरुलाई यसले निकै फाइदा पुग्ने बताए ।
राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दैनिक दुईपटक हवाई सेवा सञ्चालन हुने कुराले उत्साहित बनाएको बताए । उनले आपतकालिन अवस्थामा जिल्ला बाहिरको हवाइ मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । तुलसीपुर चेम्वर्स अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले व्यवसायीहरुलाई दैनिक दुईपटक हवाई सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको बताए ।
बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै यात्रु प्रतिक्षालय टर्मिनल भवन निर्माण अन्तिम चरणमा रहेको छ । नगरप्रमुख पाण्डेले अन्य निजी विमान कम्पनीले समेत उडानका लागि प्रस्ताव गरेको भन्दै इन्धन डिपो स्थापना भए निजी विमान कम्पनीहरुले उडान भर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *