- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरदसैँ पर्व २०७६ को शुभकामना

दसैँ पर्व २०७६ को शुभकामना

- Advertisement -spot_img

दसैँ सांस्कृतिक पर्व हो । प्रत्येक बर्ष आउने दसैँलाई ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भन्ने गरिन्छ । दसैँको लागि आवश्यक सरसामान किनमेल गर्नेहरूको बजारमा भीड देखिन थालेको छ । खसी र बोका हाँस, कुखुरा र राँगोको मूल्य आकाशिएको छ । कमाइ गर्न देश, विदेश गएका युवायुवतीहरू दसैँ पर्वको लागि भनेर घर फर्किने क्रम बढ्दै छ ।
कतिपय घर परिवारले गएको सालको दसैँको ऋण तिर्न नसकेर घरखेत बेच्ने तर्खरमा लागेका छन् । यस्तो अवस्थामा आएको यो सालको दसैँ पर्व मनाउन हामी सबै लागेका छौँ । दसैँ पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडकका साथ मनाउनुभन्दा पनि यसको संस्कृतिको बारेमा हामीलाई थाहा हुन जरूरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनुपर्दछ । तर यसलाई पर्वको रूपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ नभए र दशाको रूपमा परिणत गरिदिन्छ ।
आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । यसदिन बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्च माटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौं छरिन्छ । भाषा बोल्ने क्रममा यमङकुर–जवङकुर–जम्कुर–जवर हँुदै जमरा भएको हो ।
भाषा परिस्कृत हँुदै जमरा शब्द बन्नको लागि करिव आठसय वर्ष लागेको अनुमान छ । त्यसैले जमराको महत्व भाषिक रूपले पनि पौराणिक मानिन्छ । जांैलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रूपमा मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको बेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जांै पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपकी महाकाली महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।
हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहीत छन् भन्ने कुरामा विश्वास गरिन्छ । जुनकुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख गरिएको छ । यसका अतिरिक्त घट कलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । त्यसैदिन अर्थात् घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदीनाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गर्ने हाम्रो संस्कृति रहेको छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घर–घरमा र देवीका मन्दिरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि पाठ पनि गरिन्छ ।
घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पीठहरूमा दुर्गा सप्तशति, चण्डी र भगवतीको स्त्रोत्र पाठ गरी विशेषगरी दुर्गा भवानीको आराधना गरिन्छ । परम्परागत दसैँ पर्वमा खड््ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्रयानको प्रादूर्भाव भएदेखि नै भएको हो भन्ने तर्क एकथरि विद्वान्हरूको छ । तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत् ४४४ अर्थात् आजभन्दा छसय ९३ वर्ष पहिले तुलजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दसँैको पर्व सुरू भएको भन्ने पनि छ । देवी पुराण धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्ययुगमा देवासुर संग्राम भएदेखि नै दसैँ पर्व मनाउन थालिएको कुरा धार्मिक विद्वान्हरू बताउँछन् । चाहे जे जसरी पर्वको सुरूवात भए पनि परम्परागतरूपमा मनाउँदै आएको दसँै पर्व आज पनि हिन्दु समाजमा उत्तिकै लोकप्र्रिय चाडका रूपमा मनाउँदै आइएको छ ।
दसैँलाई बडादसैँ, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यो नेपालीहरूको प्रमुख पर्व पनि हो । शास्त्रमा उल्लेख भए अनुसार भगवान रामले यसै दिन रावणको बध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रूपपमा हिन्दुहरूले विजयादशमीको पर्व मनाउने प्रचलन रहँदै आएको छ । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे भन्ने भनाइ रहेको छ । यस दिन ठाउँ–ठाउँमा मेलाहरू लाग्ने गर्दछन् । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ । विजयदशमी भगवान रामको विजयको रूपमा मनाइने पर्व हो । दसैँ पर्वले दश प्रकारका पापहरू काम, क्रोध, लोभ, मोह मद, मत्सर्य, अहङ्कार, आलष्य र हिंसाको अन्त्य गर्नु पनि हो ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाउन सुरू गरिएको दसैँ केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरू घोडा चढे भनेर आफू धुरी चढ््ने प्रवृत्तिले गर्दा उल्लास र उमङ्गको चाड हुन सकेको छैन । जसले गर्दा दसैँ दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा साँस्कृतिक महत्वको चाडका रूपमा स्वीकार गरी दसैँको गरिमा बृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रूपमा ‘घाटी हेरी हाड निल्नु’ भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस् अनि मात्रै दसैँ साच्चिकै दसैँ बन्न सक्छ । अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरूमा छाएको महङ्गी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरूले अभावका बाबजुद पनि दसैँलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले सोच्नुपर्दछ ।
आफन्तबाट टाढा–टाढा रहेका परिवारका सदस्यहरू पनि यो पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराको साथ आशीर्वाद लिने परम्परा रहेको यो पर्वले ऐतिहासिक महत्व बोकेको छ । त्यसैले आर्थिक मन्दीले सबैलाई सताइरहेको अवस्थामा आएको विजयादशमीलाई ऋण सापट गरेरै भए पनि धुमधामका साथ मनाउने तयारीमा आम नेपालीहरू जुटिरहेको अवस्था छ । विगत वर्षको तुलनामा झण्डै ५० प्रतिशत बृद्धि भएको महङ्गीको मारमा मनाउन लागिएको यो वर्षको दसँैले झन सबैलाई कष्टकर बनाउन थालेको छ । घटस्थापनादेखि शुरू हुने यो पर्व विभिन्न शक्तिपीठहरूमा बली दिएर देवीदेवताको प्रसादको रूपमा मासु खाने चाडको रूपमा मनाइने दसैँ पर्वमा विशेषगरी नवदुर्गाको पूजा आराधना गरेर मनाउने हाम्रो प्रचलन छ ।
विजयादशमी पर्वको अष्टमी, नवमी हुँदै दशमीको दिन नजिकिदै छ । विजयादशमीको सधैजसो शुभकामना लिने र दिनेक्रम बढ््दो छ । लाखांै पशुपंक्षीहरूलाई बली दिइदै छ । दसैँ विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कुशासनमाथि सुशासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असशरी शक्तिमाथि दैवी शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, ब्रत, उत्सव आदि गरेर मनाइने चाड भएकाले यसलाई दसैँ पनि भनिएको हो ।
पूजा गरिसकिएपछि प्रत्येक दिन बली अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बली शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु । राँगोरूपी–क्रोध, भेडारूपी–मोह बोकारूपी–कामबासना अर्थात् काम, क्रोध र बासनालाई अर्पण गर्नु, चढाउनुपर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरूले बली भनेपछि पशुहरूलाई काटेर बली दिने गरिन्छ । यसको बारेमा दसैँ पर्व मनाउनेहरूले सोच्न जरूरी छ । असत्यमाथि सत्यको विजयउत्सव मानि सुरू भएको दसैँ पर्व पछिल्ला दिनमा देवीलाई बली दिनुपर्दछ भन्ने मान्यता लिई दसैँ पर्वमा लाखांै पशुपंक्षीहरूलाई शक्तिपीठ मानिएका देवीदेवताको मन्दिर र दसँै घरमा समेत बली दिने गरिन्छ । धार्मिक, संस्कृतिसँग जोडेर देवीलाई बली दिने प्रचलन बढ्न थालेको छ ।
पासविकताको ताण्डव नृत्य मञ्चन हुने बली प्रथाको समाजलाई अन्धविश्वासमा दोहो¥याइएको छ । मुगु जिल्लाको गमगडीमा दसैँको अवसरमा दिइने बलीमा प्रथाले अचम्मको दृश्य देख्न सकिन्छ । बलीका लागि ल्याइएका बोका मन्दिर परिसरमा पुगेपछि खुर्सानीलाई पिधेर बनाइएको लेप बोकाको संवेदनशील स्थानमा लगायत शरीरको सबै भागमा लगाइन्छ । खुर्सानीको पिरोको जलनले बोका उफ्रिन थाल्दछ, बोका कराउँछ, चित्कार छोड््छ । तर, त्यहाँ कसले सुन्ने ? त्यसरी कराएर छट्पटाएको बोकालाई मन्दिरको परिसरका युवाहरूले पेटमा आफ्नो दाँतले टोक्न थाल्दछन् । कसको टोकाइबाट बोकाको भँुडी छेड्न सकिन्छ भन्ने होडबाजी चल्छ मन्दिरमा । जसले बोकाको भुँडी छेड्छ अनि वीरताको कर्तलध्वनि बज्न थाल्छ ।
केही वर्ष यता आएर अन्धविश्वासका शैलीबाट पशुको बली दिनेका विरूद्ध अहिंसावादीहरूले विरोध जनाउन थालेका छन् । देवीदेवताका लागि सबै जीव समान हुने हँुदा, पशुबली दिएर देवीदेवता खुशी नहुने कुरा अहिंसावादीहरूले बताउँदै बली प्रथा नै रोक्नुपर्ने धारणा राख्न लागेका छन् । विश्वकै सबैभन्दा धेरै बली चढाइने भारतको कोलकातास्थित मन्दिरमा अंग्रेजहरूको शासनकाल सन् १९४७ मा बली दिने प्रथा रोकिएपछि अहिले एशियाकै सबैभन्दा बली चढाइने मन्दिर बारा जिल्लाको गढीमाईको मन्दिर भएको छ । गढीमाईको मन्दिरमा बोका, राँगा, भेंडा, सँुगुर, कुखुरा मात्र होइन मुसाको समेत बली दिने परम्परा छ ।
बली प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरे टाकुरे शासकहरूकै पालामा लडाई लड््दा होस् वा विजय प्राप्त गर्दा होस् देवीकै शक्तिले जीत भएको मानेर कोट, मौला, हतियार र देवीको मूर्तिमा बली चढाउने परम्पराको थालनी भएको थियो । अहिले समाजमा अहिंसावादीहरूले पशुबलीको विरोध गर्दै आए पनि राज्यले समेत यो बली प्रथालाई रोक्नेतर्फ लागेको छैन । दसैँ पर्वमा बली प्रथा रोक्नको सट्टा झन मौलाउँदै गएको कुरा बली प्रथा विरोधीहरू बताउँछन् । धर्मको नाममा बली दिनेहरूलाई चेतना दिनेहरूको संख्या र संघसंस्था बढ्न थालेको छ । हालसम्म औपचारिकरूपले पशुबली निषेध अभियान नेपाल, कृष्ण प्रणामी युवा परिषद्, एनिमल वेलफेयर सोसाईटीलगायतका पशु अधिकारकर्मीका संस्थाहरू बली प्रथाको विरोधमा लागेका छन् ।
खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋण, धन जुटाएर यस्ता साँस्कृितक पर्वहरू मनाउँदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरूमा देखासिकी र आडम्बरयुक्त दसैँ मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरूलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न वर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ । यो २०७६ सालको विजयादशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै दसँै पर्व मनाउन सिकाओस् यही हार्दिक मगंलमय शुभकामना छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here