दंगीशरण, १३ फागुन । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले खेलकुदलाई स्वास्थ्य र अनुशासनसँग जोड्न सकिने बताएका छन् ।
खेलको विकासका लागि दंगीशरण गाउँपालिकामा सोमबारदेखि शुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् ।
‘खेलमा जुनखालको जति सम्भावना छ, त्यसलाई हामी निकाल्न सकेका छैनौँ, त्यसैले अहिले नेपाल सरकारले प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न खेल ग्राउन्ड बनाउने छ’
उनले भने–‘प्रत्येक वडाहरूमा खेल मैदान सरकारको लक्ष्य छ, अबका दिनमा दंगीशरणका खेलाडीहरूलाई सशक्त रूपमा अगाडि बढाउनका लागि, उर्जा र शक्ति प्रदान गर्नका लागि कोष खडा गरेर अगाडि बढाउने ब्यवस्था गर्न सकिनेछ ।’
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको अध्यक्षता एवं संघीय सांसद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद धमकली चौधरीले दंगीशरणलाई शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नका लागि प्रदेश सरकारको तर्फबाट आफूले सहयोग गरिरहेको बताइन् ।
यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको आयोजना गरिएको बताए ।
विद्यार्थीहरूको रूचि र चाहनालाई मध्यनजर गर्दै बालबालिकाहरूलाई हरेक क्षेत्रमा अगाडि बढाउन सकिने र उनीहरूको सम्भावनालाई स्थान दिनका लागि शिक्षाको क्षेत्रलाई हरेक तहबाट फराकिलो बनाउनतर्फ आफू लागेको बताए ।
उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरण हरेक क्षेत्रमा अगाडि रहेको भन्दै खेलाडी बालबालिकाहरूको स्तर अझ माथि उठाउन दंगीशरण गाउँपालिकाले सदैव साथ र सहयोग गर्ने बताईन् ।
युवा परिषद दाङका अध्यक्ष सुरेश रावतले स्वास्थ्य र राष्ट्र दुबैका लागि खेलकुद महत्वपूर्ण विषय भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तब्यबाट शुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा निजी तथा सामुदायीक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर समूहका छात्रछात्राले भाग लिएका छन् । सोमबार पहिलो दिन तीन खेल सम्पन्न भएका छन् ।
जसमा एथलेटिक्सतर्फ १ सय मिटर छात्रछात्रा दौड, १५ सय मिटर छात्रछात्रा दौड र सटपुट छात्रछात्रातर्फको खेल सम्पन्न भएको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिए ।
