तुलसीपुर ५ मा सार्वजनिक सुनुवाई

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, २२ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । वडाले गरेका कार्य सम्पादनको बारेमा आम नागरिकलाई जानकारी गराउने र सार्वजनिक गर्ने तथा जनताका गुनासालाई तत्काल सम्बोधन गर्ने योजनाका साथ सार्वजनिक सुनुवाई गरिएको वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले बताए ।
सार्वजनिक सुनुवाईमा वडाका विविध विषयका समस्याहरुको बारेमा जिज्ञासा आएका थिए । प्रेमप्रकाश गिरीले तुलसीपुर–बासीहरु खानेपानीको समस्याले आक्रान्त भएको भन्दै समाधानको योजनाको बारेमा वडासँग सोधेका थिए । जिज्ञासा मेटाउँदै वडा अध्यक्ष शाहले खानेपानीलाई बृहत् ‘तुलसीपुरमा टोल–टोलहरु मिलेर अब पानीको समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।’ वडा अध्यक्ष शाहले भने, त्यसको उपायको खोजीमा हामी
लागेका छौँ ।
तुलसीपुर उपमहानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा ५ नम्वरका वडाबासीहरुले आफ्ना जनप्रतिनिधिहरुलाई खुलेर प्रश्न राखेका थिए । उनीहरुले राम्रा कामको प्रशंसा र केही नराम्रा कामहरु सुधारिनु पर्ने बताए । न्युरोड टोल विकास संस्थाका श्रीराम केसी, नामीनगर टोल विकास संस्थाका निर्मल आचार्यले बजारमा पार्किङ अव्यवस्थित भएको बताउँदै व्यवस्थित पार्किङका लागि वडाले पहल गर्नुपर्ने बताए । फुटबल संघ दाङका अध्यक्ष सुशिल श्रेष्ठले खेल मैदान व्यवस्थित नहुँदा गौचरण भएको बताए । उनले तुलसीपुरको नमुनाका रुपमा रहेको खेलमैदानको व्यवस्थापनका लागि वडाले पहल गर्न आग्रह गरे ।
वडाबासी हरि श्रेष्ठले वीरेन्द्र चौकको गल्लीभित्र रहेका मन्दिरहरुको पुजारी व्यवस्था गर्नुपर्ने बताए । तुलसीपुर उप–महानगरपालिकाका शाखा अधिकृत टंक गौतमले कार्यक्रममा प्रशासनिक विषयमा विभिन्न पक्षका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण वसन्त विवश आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *