प्रदेश टुडे
तुलसीपुर, १३ फागुन । तुलसीपुर उपमहानगरपालिकामा यस वर्षको नारी दिवसमा करिब दुई सय बालबालिकालाई साइकल वितरण गरिने भएको छ । उपमहानगरपालिकामा साईकलको प्रयोग बढाउन यस वर्षको १११औँ अन्तर्राष्ट्रिय नारी दिवसमा करिब दुई सय बालिकालाई साइकल वितरण गर्ने लक्ष्य राखिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
मार्च ८ अर्थात् फागुन २४ गते नारी दिवसको मनाउने विषयमा तुलसीपुर उपमहानगपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले गरेको सरोकारवालासँगको छलफलमा क्रममा नगरप्रमुख पाण्डेले बालिकालाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन उपमहानगरले साइकल वितरण गर्न लागिएको बताए ।
उनले दिवसको अवसरमा कक्षा ८ देखि १२ सम्म पढ्ने बालिकालाई साईकल वितरण गरिने बताए । तुलसीपुरलाई साईकल सहरका रूपमा विकास गर्ने उद्देश्यका साथ साईकलको प्रयोग बढाउन अर्को वर्षदेखि साईकल बढी प्रयोग गर्नेलाई साइकल पुरस्कार वितरण गरिने बताए । उपमहानगरले नारी दिवसमा मोबाईल एप्लिकेसन सार्वजनिक गर्ने र सोही एप्लिकेशनमा कसले बढी साइकल चलाएको हो भन्ने जानकारी राखिने उनले बताए ।
त्यस अवसरमा विभिन्न व्यक्तिले साइकल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । युएसएआइडीको साझेदारी–संघीयता सहयोग कार्यक्रमका तुलसीपुर प्रमुख विश्वमनी खनालले पनि साईकल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साइकल सिटी दाङका उपाध्यक्ष केबि न्यौपानेले दाङमा साईकल लेन र साईकल पार्किङ नहुँदा समस्या रहेको बताए । उनले अबका दिनमा ति संरचना निर्माण गनुपर्ने बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, महिला मानवअधिकार रक्षक सञ्जालका पदमा चौधरी, ओरेकका कल्पना चौधरी, सिडका माधव चौधरी, दिदीघरका स्यानी चौधरीलगायतले साईकल वितरणका साथै अन्य विभिन्न कार्यक्रम गर्नुपर्ने बताए । त्यस अवसरमा दिवसलाई सफल बनाउनका लागि उपमेयर माया आचार्यको संयोजकत्वमा आठ सदस्यीय तयारी समिति गठन गरिएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन ।
गत वर्ष कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय दिवस सोचेअनुरूप नभएको र यस वर्ष भव्य र सभ्यरूपमा सफल बनाउन तयारी गरिएको उनले बताए । दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका महिलालाई सम्मान गरिने उनले जानकारी दिए ।