तुलसीपुरमा ठेला व्यवस्थापन गरिने

फिचर मुख्य खबर

तुलसीपुर, २३ चैत । तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रभित्र रहेका ठेला व्यवस्थापन गर्ने भएको छ । बजारमा जथाभावी ठेलामा व्यापार गर्दा दुर्घटना हुनुका साथै बजारको सौन्दर्यता हराएको भन्दै उपमहानगरपालिका कार्यपालिकाको ५६औँ बैठकले बजार क्षेत्रभित्र ठेलामा व्यापार गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नगर प्रवक्ता सूर्यबहादुर डाँगीले तुलसीपुर बजार क्षेत्रअन्तर्गत पूर्वमा हात्तिखौवा, पश्चिममा पातुखोला पुल, उत्तरमा शिवनगर र दक्षिणमा गुम्राह चोकभित्र ठेला व्यापार गर्न पाइने छैन । बजार क्षेत्रमा जथाभावी ठेला व्यवसाय बढिरहेको भन्दै त्यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको र केही समयदेखि नै नियमनमा कडाइ बढाइएको भए पनि आधिकारिक रुपमा निर्णय भने कार्यपालिकाले शुक्रबार मात्रै गरेको हो ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले असार मसान्तसम्म निर्माण भएका भवनहरु नक्सापास तथा अभिलेखीकरण नभएमा उपमहानगरपालिकाका तर्फबाट कुनै पनि सिफारिस नगरिने निर्णयसमेत गरिएको छ ।
कार्यपालिकाको बैठकले नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको गुनासो आएकाले त्यसको नियन्त्रणका लागि वडा अध्यक्ष विजय विकको अध्यक्षतामा अनुगमन समिति निर्माण गरेको छ । यसैगरी बैठकले शहरी क्षेत्रभित्र सरसफाईलाई व्यवस्थित गर्नका लागि सरसफाई कार्ड वितरण गरिनेसमेत निर्णय गरेको छ । कार्ड वितरणका लागि सार्वजनिक निजी संस्थासँग साझेदारी गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *