तुलसीपुरमा किसान परिचयपत्र

फिचर मुख्य खबर

तुलसीपुर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले टनेलबाट खेती गर्दै आएका छन् । बेमौसमी तरकारी खेतीबाट वार्षिक ७ लाखसम्म उनको आम्दानी हुन्छ ।
व्यावसायिक रुपमा कृषि गर्दै आएका रावतले अहिले साथीहरुसँग मिलेर १८ विगाहमा विभिन्न तरकारी लगाएका छन् । ‘राम्रो होला भन्ने अपेक्षा छ, नतिजा आउन बाँकी छ’ उनले भने ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका–७ का भदे पुनले लामो समयदेखि च्याउँखेती गर्दै आएका छन् । उनले वार्षिक १७ हजार डल्ला च्याउँ उत्पादन गरिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक खेती गर्ने विभिन्न किसानहरुलाई प्रदान गर्ने मेयर उत्कृष्ट पुरस्कारबाट सम्मानित रावत र पुनले सम्मानबाट आफू निकै खुसी भएको बताए ।
‘सम्मानले अझै केही नयाँ गर्ने उत्साह जगाएको छ’ अर्का सम्मानित कृषक जनदिश भण्डारीले भने । उनले बेसार खेती गर्दै आएका छन् । उनी पनि कार्यक्रममा पुरस्कृत भएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई प्रोत्साहित गर्नका लागि नगरभित्रका पाँच उत्कृष्ट कृषकहरुलाई नगद पाँच हजारसहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुने किसानहरुमा तरकारी खेती गर्ने वडा नम्वर ४ का दोलकबहादुर खत्री र वडा नम्वर २ का सुरज चौधरी पनि रहेका छन् ।
यसैबीच उपमहानगरपालिकाले विभिन्न खेती गर्ने १२ किसानहरुलाई कृषक पोशाकसमेत वितरण गरेको छ । सम्मानित हुने कृषकहरुलाई प्रमाणपत्र, कृषि कार्य गर्ने बेलामा लगाउने पोशाक वितरण गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा नरनारायण खत्री, रेशम विष्ट, चन्द्रबहादुर डाँगी, धनबहादुर खत्री, हरिबहादुर रोका, ऋषिराज केसी, ओकी डाँगी, तेजबहादुर केसी, क्षेत्रबहादुर खत्री, अम्मरबहादुर डाँगी, मधुमाया जिसी र मनबहादुर केसी रहेका छन् ।
यसैगरी उपमहानगरपालिकाले व्यावसायिक कृषकहरुको पहिचानका लागि कृषक परिचयपत्रसमेत वितरण गरेको छ । उपमहानगरपालिका भित्रका २२ जना किसानलाई यस्तो परिचयपत्र वितरण गरिएको थियो । सार्वजनिक रुपमा कृषि शाखाले सूचना प्रकाशित गरेर कृषकहरुलाई छनोट गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले उत्कृष्ट कृषकहरुलाई खोजेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए । सम्मानले किसानको स्वाभिमानलाई उच्च बनाएको समेत उनको भनाई थियो ।
‘सुन बेच्ने मान्छे मात्रै सम्मान हुने यो समाजमा हामीले किसानको सम्मानलाई समेत अगाडि बढाएका हौँ’ नगरप्रमुख पाण्डेले भने । व्यावसायिक किसानको परिचय दिनका लागि परिचयपत्र वितरण र सम्मान गरिएको उनको भनाई थियो ।

किसान भनेका उपमहानगरपालिकाको सम्पत्ति भएको भन्दै सम्पत्तिलाई जोगाइ राख्नका लागि यस्ता कार्यक्रम निरन्तर अगाडि बढाइने बताए । तुलसीपुर उपमहानगरपालिकाले कृषिका क्षेत्रमा तीन तरिकाले अगाडि बढेको बताए ।
‘पहिलो भनेको कृषिलाई व्यावसायिक बनाउने र उत्पादन बढाउने, दोस्रो भनेको उत्पादनको बजारीकरण र तेस्रो भनेको प्रविधिको प्रयोग हो’ उनले भने ।
नगरप्रमुख पाण्डेले बाह्रै महिना खेती गर्ने किसानलाई सम्मान र खेती बाँझो राख्नेलाई जरिवाना गर्ने कार्यक्रम अगाडि बढाएको बताए । उनले खडेरीको समयमा विद्युत प्रयोग गरेर खेतीमा सिंचाई गर्ने किसानको विद्युत महसुल तुलसीपुर उपमहानगरपालिकाले तिरिदिनेसमेत बताए ।
यो वर्ष उपमहानगरपालिकाले बैंकसँग समन्वय गरेर पाँचसय किसानहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लागेको कुरामा उनले जोड दिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य शेषुराम भण्डारी, पाँच नम्वर प्रदेश संयोजक बुद्ध बहादुर बस्नेत, नेकपाका नेता शोभाराम बस्नेत, पुरस्कृत किसान जगदिश भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
आर्थिक समिति संयोजक माधव वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पशु शाखा उप–प्रमुख सुवास आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *